“तिमी आफ्नो आँगन सफा राख, संसार आफैँ सफा हुन्छ ” सुन्नमा हो जस्तो लाग्ने तर व्यवहारमा त्यति सहज नहुने गोथेको यो भनाइ हामी धेरैले सुनेकै हुनपर्छ । आलंकारिक रूपमा यो भनाइ सही नै सुनिन्छ । आफ्नो आँगन बढारेर अर्काको आँगनमा धूलो फाल्नेहरुको जगजगी हुँदा भने यो भनाइ त्यति सम्भव हुँदैन ।
संसारमा कम जनसंख्या हुँदा अनि विकासले त्यति गति नलिँदा फोहोर व्यवस्थापनको खासै समस्या थिएन। गत महिना प्रकाशित एक तथ्याङ्क अनुसार बेलायतमा सन् २०१९ मा प्रति व्यक्ति वार्षिक ३९३ केजी घरेलु फोहोर संकलन गरेको देखिन्छ । सबैभन्दा बढी नर्थ वेस्ट इंग्ल्याण्डमा प्रति व्यक्ति ५८९ केजी फोहोर फ्याँक्ने गरेको देखियो ।
खाना खेर फाल्ने समस्या पनि संसार मै बढ्दै गएको छ । सन् २०१९ मा बेलायतमा मात्र वार्षिक करिब पचास लाख मेट्रिक टन खाना फालेको देखिन्छ जुन प्रतिव्यक्ति झण्डै ७० किलो हुन आउँछ।
विज्ञान र प्रविधिको साथ साथै हामीले प्रयोग गर्ने सामानहरू पनि सीमाहीन रूपमा थपिँदै गयो । जति धेरै सामानहरु प्रयोग गरिन्छ त्यही मात्रामा थप फोहोरमैला व्यवस्थापन गर्नपर्ने हुन्छ । परापूर्व कालमा माया सभ्यता ताका सेन्ट्रल अमेरिकामा महिनाको एकपटक सबैको फोहोर मैला एकै ठाउँमा जम्मा गरेर जलाउने प्रचलन प्रथा कै रूपमा विकसित भएको थियो । त्यसताका मानिसले उत्पादन गर्ने जैविक फोहोर प्रकृतिमा सजिलै विलीन हुन्थ्यो भने बाँकी फोहोर त्यसरी जलाएर धुँवाको रूपमा नष्ट गरिन्थ्यो ।
बेलायतको फोहोर व्यवस्थापनको इतिहास हेर्दा औद्योगिक विकाससंगै मानिसहरू शहर केन्द्रित हुन थाल्यो । धेरै मानिस बसोबास गर्न थालेपछि स्वतः फोहोर मैला पनि बढ्ने नै भयो । फोहोर व्यवस्थापन नहुँदा जताततै फोहोर र दुर्गन्धको कारण मानिसको जीवनमा नै प्रतिकूल असर पर्न थाल्यो । सन् १७५१ मा प्रसाशक तथा लेखक कोर्विन मोरिसले पहिलोपटक सरसफाइको अवधारणा प्रस्तुत गरेको पाइन्छ । उनले एक जना छुट्टै पोशाक सहितको फोहरो व्यवस्थापक हुन पर्ने, फोहोर शहरबाट टाढा थेम्स नदीमा फाल्ने र सम्भव भएसम्म जमीनको उर्वरा शक्ति बढाउन प्रयोग गर्ने प्रस्ताव अगाडि सारेका थिए । सन् १७५३ मा साउथ ह्याम्पटन कमन काउन्सिलले वार्षिक शुल्क लिने गरी स्थानीय फोहोर संकलन गर्न थालेको देखिन्छ। ३० सेप्टेम्बर १७६९ देखि एक व्यक्तिलाई फोहोर व्यवस्थापकको रूपमा नियुक्ति नै गर्यो । जथाभावी फोहोर मैला फ्याँक्न नपाइने र त्यसो गरेमा पहिलोपटक पाँच सिलिङ जरिवाना गर्ने व्यवस्था गरियो । हप्ताको दुई दिन बाटो सफा गर्ने चलन चलायो ।
अठारौं शताब्दीतिर नै संगठित रूपमा फोहोर संकलन गर्ने र त्यसको प्रयोग गर्ने काम शुरू भयो । त्यतिबेला सबैभन्दा बढी फोहोर कोइला पोलेर निस्कने खरानी हुन्थ्यो । त्यसलाई माटो मलिलो गर्न र इँटा बनाउन प्रयोग गर्थे । तर सन् १८५० तिरबाट यसको मूल्यमा भारी गिरावट आएपछि भने यो प्रविधिबाट इँटा बनाउने काम रोकियो ।
त्यतिबेला लन्डनमा कोलेरा संक्रमणले ठूलो समस्या दियो । सर एडविन चाडविकले सन् १८४२ मा तयार पारेको रिपोर्टअनुसार मजदुरहरुको सरसफाइ र जीवनस्तर सारै नै दयनीय भएको तथ्य उजागर भयो । त्यसको मुख्य कारण नै फोहोर मैलाको उचित व्यवस्थापन हुन नसक्नु भन्ने थियो । यही रिपोर्टको आधारमा सन् १८४६ मा फोहोर हटाउने र रोग रोकथाम गर्ने कानुन ( Nuisance Removal and Disease Prevention Act 1846 ) नै बनायो । केही वर्षपछि Public Health Act 1875 निर्माण भयो । जसअनुसार प्रत्येक परिवारले अनिवार्य रुपमा हप्ता भरीको फोहोर उचाल्न मिल्ने भाडामा जम्मा गर्न पर्ने भयो ।यसैलाई व्हिली डस्ट विन को शुरुवात भन्न पनि सकिन्छ ।
फोहोरबाट मोहर अथवा फोहोरलाई विभिन्न प्रकारबाट पुन प्रयोग गर्न सक्ने प्रविधि निर्माण पछि भने यस क्षेत्रमा ठूलो परिवर्तन भयो । सन् १८७४ मा पहिलोपल्ट नटिङघममा अलफ्रेड फ्राएरको डिजायनमा म्यानलभ, इलियट एण्ड कम्पनी लिमिटेडले फोहोर प्रशोधन केन्द्र स्थापना गर्यो ।
बेलायतमा पहिलोपटक फोहोर ओसार्ने व्यवस्थित गन्ध नआउने पूरा फोहोर छोपिने ट्रक सन् १९२० बाट प्रचलनमा ल्याएको थियो । त्यस अगाडि खुला ट्रक कार्ट कुनै इन्जिन र कुनै घोडाहरुले तान्ने गरिन्थ्यो । सन् १९३८ देखि भने हाइड्रोलिक कम्प्याक्टर चलाउन थालियो जसले गर्दा एउटै बाहनले धेरै फोहोर बोक्न सक्ने भयो ।
सन् २०१९/२० मा बेलायतमा स्थानीय काउन्सिलले घरायसी फोहोरमैला संकलन गर्न वार्षिक ८९७ मिलियन पाउण्ड खर्च गरेको थियो । यसबाहेक जथाभावी फालेको फोहर संकलन गर्न पनि ६९४ मिलियन खर्च भयो । विभिन्न काउन्सिलले सरसफाइमा गरेको खर्च लाई हेर्दा सबैभन्दा बढी लन्डनको ह्यारिङ्गेमा सडक सफा गर्न ९.४ मिलियन र नियमित डस्ट विन उठाउन २.१ मिलियन खर्च भएको थियो । प्रति व्यक्तिको हिसाब गर्दा सबैभन्दा बढी वेस्ट मिनिष्टर काउन्सिलले २२.४ मिलियन अर्थात प्रतिव्यक्ति ८५.७४ पाउण्ड भागमा परेको देखिन्छ । सबैभन्दा कम विन्जर र मेडिन्हेड जहाँ प्रति व्यक्ति मात्रै ०.५४ पेन्स अर्थात् जम्मा ८२ हजार पाउण्ड मात्रै खर्च भएको देखिन्छ । देशभरिको हिसाब गर्दा प्रति व्यक्ति १२.३३ पाउण्ड खर्च भएको देखिन्छ ।
फोहोर सरसफाई गर्ने थुप्रै निजी कम्पनीहरु आर्थिक रूपमा धेरै बलियो देखिन्छ । फ्रान्सको अन्तर्राष्ट्रिय कम्पनी भियोलाले सन् २०२० मा मात्रै बेलायतमा १.९ बिलियन पाउण्ड आम्दानी गरेको देखिन्छ। त्यस्तै दोश्रो ठूलोमा बेलायती कम्पनी बिफाले पनि १.१६ बिलियन पाउण्ड आम्दानी गरेको देखिन्छ । यो कम्पनी सन् १९१२ देखि सञ्चालनमा छ ।
अहिले फोहोर जथाभावी फाल्नेहरुलाई काउन्सिलबाट १५० पाउण्डसम्म जरिवाना गर्न सक्छ तर यसलाई बढाएर १ हजार पाउण्ड र १०० घण्टा सार्वजनिक क्षेत्रमा काम गराउन पर्छ भनेर विभिन्न संघ संस्थाले क्याम्पेनिङ गरिरहेको छ ।
फोहोरमैला सरसफाई गर्न सरकारको मात्रै भर परेको देखिँदैन । व्यक्तिगत वा सामूहिक रूपमा धेरै मानिसहरु यो अभियानमा धेरै अगाडीदेखि सक्रिय हुँदै आएको छ । प्राय जसो स-सानो गाउँमा बुढाबुढीहरु बाहिर निस्कँदा एउटा झोला र फोहोर टिप्ने लौरो बोकेर हिँडेको धेरै ठाउँमा देखिन्छ । उनीहरूले आफ्नो ठाउँ सफा गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दैआएका छन् । सामूहिक रूपमा भने सन् १९५४ मा The National Federation of Woman’s Institute ले” Keep Britain Tidy ” नारासहित सक्रिय भएको देखिन्छ । यसैलाई सन् १९६० मा च्यारिटी कमिशनमा दर्ता गरेर व्यापकता प्रधान गर्यो ।१९६९ देखि बेलायतमा बन्ने प्राय सबै सामानको प्याकेजिङ्ग क्यानमा एक विशेस लोगों Tidyman अंकित हुन थाल्यो । धूलो फ्याँक्ने विनहरुमा पनि सोही लोगो राखियो जुन अहिलेसम्म पनि प्रचलनमा छदैछ । १९७० देखि ख्यातिप्राप्त व्यक्तिहरुलाई संलग्न गराई सरसफाइ सम्बन्धी अभियान शुरू हुन थाल्यो । १९७१ मा जथाभावी फोहोर फाल्नेलाई १० देखि १०० पाउण्डसम्म जरिवाना तोकियो । १९७७ मा Clean For Queen को नारासहित रानीको सिल्भर जुब्ली मनाइयो । १९८७ मा Waste Watch च्यारिटी स्थापना गर्यो ।यसले तीन R को अवधारणा प्रस्तुत गर्यो Reduce, Reuse and Recycle !
त्यही साल समुन्द्र सफा राख्नको लागि Please Keep Britain’s Beaches Beautiful भन्ने नारासहित पहिलो वर्ष १२ वटा समुन्द्री तटको क्षेत्रलाई सफा घोषणा गर्यो । १९८९ मा National Spring Clean घोषणा गरी देशभरि २ लाख मानिसहरूले सरसफाईमा भाग लिएका थिए । १९९० मा Tidy Britain वर्ष घोषणा गरिएको थियो । त्यही वर्ष The Environmental Protection Act लागू गरियो । १९९१ र ९२ मा People and Places र Seaside Award वितरण गर्ने शुरुआत भयो । त्यसैगरी १९९४ र ९६ मा Eco School र Green Flag Award भनेर सफा राम्रो विद्यालय तथा पार्कलाई छानेर प्रमाणपत्र दिने प्रचलन शुरू भयो । सन् २००० मा सरकारले फोहोर कम गर्ने विभिन्न प्रस्तावहरू पारित गर्यो । सन् २००१ देखि आफ्नो आसपासको नदी सफा गर्ने अभियान शुरू भयो भने सन् २००५ बाट चुरोटको ठूटा जथाभावी फ्याँक्नेलाई ७५ पाउण्ड जरिवाना गर्ने कानुन बनायो । कुकुरको दिशा जथाभावी देखिएकोले सन् २०१० मा The Dog Poo Fairy आयोजना गरेर थप जन चेतना जगायो । सन् २०१० मै समुन्द्र तट सफा राख्न विच केयर अभियान शुरू गर्यो । २०१६ मा फेरि रानीको ९० वर्षको जन्मदिनको उपलक्ष्यमा Clean For Queen आयोजना गर्यो। सन् २०१७ मा सरकारले विशेष सरसफाई Litter Strategy for England घोषणा गर्यो । २०१८ मा देशैभरि १३ हजार ५०० कार्यक्रमसहित ३ लाख ७४ हजार मानिसहरू सहभागी भएका थिए । यो रेकर्ड लाई फेरि २०१९ मा पांच लाख साठी हजार स्वयम सेवीहरुले सरसफाइ गरेर तोडेको थियो ।
बेलायतमा लामो समयदेखि सयौँ संस्थाहरु वातावरण सरसफाइमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । सरकारले पनि विविध क्षेत्रको सरसफाइसँग सम्बन्धित थुप्रै ऐन कानुनहरु निर्माण गर्दै गरेका छन् । राजनीतिमा पनि यो विषयलाई अतिनै महत्वका साथ उठाएको पाइन्छ । बेलायतलगायत विश्वका धेरै देशहरूमा ग्रीन पार्टीमार्फत यो विषयलाई उठाई रहेका छन् ।यति धेरै प्रयासका बाबजुद पनि समस्याहरु थपिदै जानु भने ठूलो चिन्ताको विषय हो।