गोर्खा भर्ती तथा गोरखा स्मारकको वार्षिकोत्सवमा ननिटनमा विशेष कार्यक्रम ‌

लण्डन । गोरखाहरुले बेलायतकाे राजमुकुटको सेवा गर्न शुरु गरेको २०६ वर्ष पुगेको अवसरमा ब्रिटिश गोरखा भेट्रान्स एसोसिएसन ननिटनले विशेष कार्यक्रम आयोजना गरेको छ ।

स्थानीय रिभर्सली पार्कमा आयोजित कार्यक्रममा एसोसिएसनका अध्यक्ष ओमबहादुर गुरुङ एमबीईले गोरखा भर्तीका बारेमा जानकारी दिएका थिए ।

विगतमा बेलायतस्थित राजदुतको प्रमुख आतिथ्यमा हुने गरेको सो कार्यक्रम यसपटक कोभिडका कारण सीमित संख्यामा मात्र मनाइएको थियो । स्थानीय अन्य रेजिमेन्टहरुको झण्डासहित प्रतिनिधिहरु र एसोसिएनका पदाधिकारी र सदस्यहरुको उपस्थितिमा यस वर्षको सो कार्यक्रम गरिएको थियो ।

एसोसिएसनले गोरखाहरुले बेलायतको सेवा शुरु गरेको २०० वर्ष पुगेको अवसरमा सो पार्कमा गोरखा स्मारक स्थापना गरेपछि हरेक वर्ष यो कार्यक्रम गर्दै आएको छ । विगतमा बेलायती राजपरिवारका सदस्यहरु, गोरखा न्यायिक अभियानकी कलाकार जोअना लम्ले पनि यस्ता कार्यक्रमहरुमा सरिक भइसकेका छन् भने स्थानीय सांसदहरु, लर्डहरु, लर्ड लेफ्टिनेण्ट, मेयर, काउन्सिलरहरुको उपस्थिति रहने गर्दथ्यो ।

सो कार्यक्रम स्थानीय ननिटन एण्ड वेडवर्थ काउन्सिलको मुख्य कार्यक्रममा परिसकेको छ ।

बेलायती सेनामा गोरखाहरुको पहिलो रेजिमेण्ट खडा भएको अप्रिल महिनामा सो कार्यक्रम गर्ने गरिन्छ ।

एसोसिएसनका महासचिव क्याप्टेन भीम सारुले एसोसिएसनले आगामी दिनमा स्थानीय पार्कमा १३ वटा मेमोरियल बेन्चहरु राख्ने बताए । ती बेन्चहरु तयार भइसकेको र कोभिड सकिनासाथ राखिने उनले जानकारी दिए । यस्तै, १३ गोरखा भिसीहरु, गोरखा रेजिमेन्टबाट भिसी पाएका अरु १३ जना गैरगोरखा भिसीहरु र स्थानीय २ भिसीहरुको अनुहारको स्केच र व्यक्तित्व सहितको पर्खाल पनि गोरखाहरुको स्मारक सँगै राखिने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री