कार्यस्थलमा दुर्घटनाको जोखिम र सुरक्षाका उपाय

बेलायत आएपछि नयाँ परिवेशमा धेरै विषयहरू नयाँ लाग्नु स्वाभाविक नै थियो । राति काम सकेर ढोका माथिको हिटर निभाउन पर्यो भनेर यसो हेरेको स्वीच अलि माथि रहेछ । अगाडि लामो डस्ट प्यान भएकोले त्यही प्रयोग गर्न खोजेको साहुजीले ‘ए, पख्नुस् पख्नुस् त्यो त फलाम हो बिजुलीको स्विच नछुनु’ भनेकोले रोकिएँ। अलि रमाइलो गर्न पर्ने खालको साहु थियो । ‘यो कहाँ नेपाल हो र, वकिल साप धेरै कुराको विचार पुर्याउन पर्छ’ भनेर  केही शिक्षा दिन थाले । त्यसपछि मेचमा उक्लेर होशियारीपूर्वक आफूले नभ्याउने स्वीचहरु बन्द गर्न थालें । नेपालमा हुँदा बत्तीको तार दाँतले चिथोरेर स्वीच वा प्लगमा घुसारेको झल्झली याद आयो ।

मोप लगाउँदा सरसफाइ हुँदैछ, भुइँ भिजेको छ भन्ने बोर्ड राख्नपर्ने । अन्यथा कोही चिप्लेर लड्यो भने हामी जवाफदेही हुन पर्ने भन्ने पनि जानकारी भयो । त्यहीताका पत्रपत्रिकामा एकजना ग्राहकलाई कफी शरीरमा पोखिएर पोलेकोले अदालतमा मुद्दा हाल्न पुगेको र अब आइन्दा टेकवे कपमा कफी तातो छ भनेर स्पष्ट लेख्न पर्ने छ भन्ने आदेश आएको खबर पढेको थिएँ  ।

एक साँझ रेस्टुरेन्ट अलि खचाखच नै थियो।  एक्कासी सबैजना हतारहतार उठेर पछाडी पार्किंग एरियामा गएर जम्मा भएँ। म तीन छक्क परेँ । अर्को साथीले ‘बाहिर जाउँ आगो लागेको अलार्म बजेको सुनेन’ भन्न थाल्यो। आवाज त सुनियो तर के को ?  किन ?  के गर्नपर्ने भन्ने त थाहा थिएन । पछि थाहा भयो भान्सामा आएको धेरै धुवाँले डिटेक्टर कराउन थालेको रहेछ । यस्तो आवाज आएपछि सबै जना तोकिएको ठाउँमा जम्मा हुन पर्ने रहेछ । सबै ठीक छ भने पछि मात्रै फेरि सबै जना भित्र पस्न पाउने रहेछ ।

यहाँ आएको छ महिना पछाडीदेखि विभिन्न सार्वजनिक कार्यक्रमहरुमा भाग लिन थालेँ । हलमा मानिसहरु जम्मा भैसकेपछि कार्यक्रम शुरू हुनु भन्दा अगाडी त्यो भवनमा शौचालय कता छ ? कथमकदाचित् आगलागी भएमा कुन कुन ढोकाबाट निस्केर कता जम्मा हुने भन्ने सबै भन्नपर्ने रहेछ । यो त कानुनी बाध्यता रहेछ भन्ने कुरा अलि पछि मात्रै थाहा भयो ।

आफ्नै रेस्टुरेन्ट खोलिसके पछि यी सबै नियम कानुनहरु आफैले बुझ्न पर्ने र सबैलाई जानकारी दिन पर्ने भयो । खाना स्टोर गर्दा,  तयारी गर्दा, पकाउँदा , ग्राहकसम्म पुर्याउँदा, सरसफाईमा  ध्यान दिन पर्ने धेरै विषयहरू जानकारी भएर मात्रै नपुग्ने रहेछ । त्यसको तालिम पास गरेको प्रमाण पत्र नै चाहिने रहेछ । कथमकदाचित् आगलागी भयो भने के गर्ने ? त्यसलाई रोक्न के कस्तो उपायहरु अवलम्बन गर्न पर्ने ? कानुनले निर्दिष्ट गरेका सबै कुराहरू पालना गर्न पर्ने, कसैलाई चोटपटक लागेमा प्राथमिक उपचार गर्न सक्ने तालिम प्राप्त व्यक्ति हुन पर्ने । यी यावत् नियम कानुनहरु पूरा गर्न पर्दा कहिलेकाहीँ त बेकारमा आफ्नो व्यवसाय थालिएछ भनेर दिक्दारी पनि लाग्थ्यो । तर बिस्तारै बानी पर्दै गएपछि यी सबै विषयहरू त होशियारीका साथ काम गर्न पर्छ भन्ने थाहा भएपछि अलि सहज भयो । यसलाई दैनिक रुटिनको रूपमा दस्तावेजीकरण गर्दै जाँदा खासै गाह्रो नहुने रहेछ ।

अहिले एउटा ठूलो प्राइभेट स्कुलमा काम गरेपछि थप अर्को एउटा अनुभव प्राप्त गर्न पाएँ  । मैले काम थालेको करिब दुई महिना पछाडी होला भोलि लकडाउन छ भनेर सल्लाह हुँदै थियो । मैले सोचेँ ‘भोलि स्कूल बन्द हुने होला आउन नपर्ने पो हो कि ?’ पछि कुरा बुझ्दा कथमकदाचित विद्यालयमा कुनै आतङ्ककारी हमला भयो भने के कस्ता उपायहरू अवलम्बन गर्न पर्छ भन्ने छुट्टै कानुनी व्यवस्था रहेछ । यो प्रक्रियामा विद्यालयमा उपस्थित सबैको आ-आफ्नो जिम्मेदारी तोकिएको हुँदोरहेछ । लकडाउनको साइरन बजेपछि आफू रहेको कोठाको सबै झ्याल बन्द र ढोकामा साँचो लगाउने, झ्यालको  पर्दा ( ब्लाइन्ड) लगाउने, सबै जना भुइँमा सकेसम्म छेकिने ठाउँ मेच टेबलमुनी सुतेर नबोलीकन लुक्ने, मोबाइल फोन बन्द गर्ने । यस्तो अभ्यास वर्षमा एकपटक गर्न पर्ने रहेछ ।

लेखक सुरेन्द्र श्रेष्ठ

भवनमा जडान गरिएका अलार्मका डिटेक्टरहरु काम गर्छ कि गर्दैन भनेर नियमित जाँच त गर्न पर्ने नै भयो तर धेरै मानिसहरु भएका अफिस वा विद्यालयहरूमा बेलाबखत थाहानदिईकनै अलार्म बजाई दिने र त्यो साँचो आगलागी भएजस्तै सबै प्रक्रियाहरू पूरा गर्न पर्ने हुन्छ । जसलाई फायर ड्रिल भन्ने गर्दोरहेछ ।

ठूला साना भवन निर्माण गर्ने ठाउँमा देखिएको एउटा दृश्यले मलाई सधैं कौतुहल लागिरहन्थ्यो।  निर्माण हुँदै गरेका फलामका डन्डीहरुको टुप्पामा टाढैबाट देखिने प्लास्टिकका विर्कोहरु किन लगाइएको होला भन्ठान्थे। पछि थाहा भयो त्यहाँ काम गर्ने कोही कसैलाई झुक्किएर तीखो फलामले नघोचोस् भनेर बचाउन खोजेको रहेछ । त्यतिबेला म झल्झली सम्झिन्छु बाँसको खट लगाएर घर ढलान गर्नेहरु चप्पल लगाएर प्लास्टिकलाई हातमा पञ्जा बनाएर काम गरी रहेकाहरु, जुत्ता बिना पिग साबेल चलाउनेहरु यो संसारमा अझ कति होलान्  ?

आइएलओ को तथ्याङ्कअनुसार संसारमा प्रत्येक वर्ष २३ लाखभन्दा बढी मानिसहरू कामसंग सम्बन्धित घटना वा रोगका कारण ज्यान गुमाउँछन् भने त्यसको झण्डै डेढ सय गुणा मानिसहरू दुघर्टनामा परेर घाइते वा अंगभंग हुन्छन् । यो संख्या  सवारी दुर्घटना, युद्ध, हिंसा, एड्स वा अन्य रोगका कारण मृत्यु हुने संख्याभन्दा बढी हुन आउँछ।

आईएलओले प्रत्येक वर्ष अप्रिल २८ तारिखमा  “Safety and Health at Work Day ” मनाउने गरेको छ । संयुक्त राष्ट्र संघले महत्वपूर्ण राजनीतिक, सामाजिक, सांस्कृतिक, कानुनी, मानवीय  वा मानव अधिकारसम्बन्धी मुद्दाहरुको बारेमा जागरूकता, जनचेतना वा सम्झनाको लागि अन्तर्राष्ट्रिय दिवसहरु घोषणा गर्दै मनाउँदै आएको छ । यहीमार्फत संसारभरका मानिसहरुलाई विभिन्न विषयमा संलग्न गराउने, राजनीतिक इच्छा शक्ति र श्रोतहरू परिचालन गर्ने वातावरण तयार पारी समस्याहरू कमी तथा समाधान गराउने प्रयास गर्दै आएको छ । मानव इतिहासको विकास क्रममा विभिन्न समयमा भएका महत्वपूर्ण कामहरूका साथसाथै व्यहोर्न परेका कष्ट र समस्याहरूको पनि सम्झना गर्ने चलन छ ।

यही परिवेशमा  सन् २००३ देखि कामसँग सम्बन्धित स्वास्थ्य र सुरक्षा दिवस मनाउन थालिएको हो । विश्वव्यापी रूपमा व्यावसायिक दुर्घटना र रोगको रोकथाम गर्न यस अभियानमार्फत अन्तर्राष्ट्रिय ध्यान केन्द्रित गर्दै आएको छ । काम गर्ने स्थान सुरक्षित र स्वस्थ्य बनाएर यससँग सम्बन्धित  मृत्युदर र दुर्घटनालाई कम गराउन यो दिनले विशेष भूमिका निर्वाह गर्दै आएको छ । अप्रिल २८ कै दिन संसारभरी मृत्यु भएका र घाइते भएका मजदुरहरुलाई सम्झिने दिनको रूपमा अन्तर्राष्ट्रिय ट्रेड युनियनले सन् १९९६ देखि मनाउन थालेको हो ।

उपचार गराउनुभन्दा रोग लाग्नबाट रोक्नु वा रोकथाममा लाग्नु बेश भनिन्छ । काम गर्ने ठाउँ सुरक्षित राख्न सकियो भने धेरै दुर्घटनाहरु रोक्न सकिन्छ । यो सुरक्षा भौतिक वा शारीरिक रूपमा मात्रै हैन मानसिक रूपमा पनि हुन जरुरी छ । काम गर्ने वातावरण राम्रो  भएन भने कामदारमा आउने नैराश्यता र मानसिक तनावले झन् ठूलो क्षति हुन जान्छ । काम गर्नेहरु मात्रै हैन काम गराउनेहरुले पनि धेरै विषयमा ख्याल राख्नु पर्ने हुन्छ।   कामदार र मालिकहरूले पालन गर्न पर्ने स्वास्थ्य र सुरक्षा सम्बन्धी विषयहरू सरकारले नै कानुन बनाएर लागू गरिएको हुन्छ । त्यसलाई पालना नगर्ने वा उल्लंघन गर्नेहरु सजायको भागीदार हुन्छन् ।

मजदुर आन्दोलनको मागको रूपमा पूरा गरिएका कतिपय व्यवस्थाहरूलाई यो अभियानको अभिन्न अंगको रूपमा लिएको पाइन्छ । काम गर्ने निश्चित समय, बालश्रम बन्देज, महिला पुरुषलाई समान काममा समान तलब, न्यूनतम तलबको व्यवस्था, छुट्टीको व्यवस्था, औषधि उपचार, पेन्सन , बोनस ,जातिवादमा बन्देज, कामको ग्यारेन्टी, सुनवाईको अवसर आदि मानसिक सुरक्षाका विषयहरू हुन् भने काम अनुसारको पोशाक, काम गर्ने ठाउँको भौतिक संरचना, संभावित खतराको पहिचान, भैपरी आउने खतराबाट बच्ने उपाय, प्राथमिक उपचारको व्यवस्था आदि भौतिक विषयहरू हुन् ।

यसवर्ष संसारमा कोभिड १९ को माहामारीको कारण सृजना भएको भयावह परिस्थितिबाट सकेसम्म छिटो छुट्कारा  पाउन ” Anticipate, prepare and respond to crises: Invest now in resilient occupational safety and health systems”  नारासहित यो अभियान अगाडी बढाउने निर्णय गरेको छ। अविकसित तथा विकासोन्मुख देशहरुले पनि यो अभियानलाई कानुनी रुपमा नै लागू गर्दै काम गर्ने स्थानहरु “स्वस्थ्य र सुरक्षित” राखेर मानवीय र आर्थिक क्षति कम गर्दै लान सकियो भने अन्तर्रास्ट्रिय दिवस मनाउनुको खास महत्व प्रमाणित हुनेछ।

सुरेन्द्र नेपाल श्रेष्ठ

बेलायतमा बसोबासरत अधिवक्ता सुरेन्द्र नेपाल श्रेष्ठ विविध विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री