काठमाडौँको हकमा भने सेनाले महाँकालस्थित त्रिचन्द्र मिलिटरी अस्पताल वा छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल कुनलाई प्रयोगमा ल्याउने भन्ने विषयमा छलफलमा रहेको प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो । यद्यपि सेनाले त्रिचन्द्र अस्पतालबाट करिब ८० जनालाई कोरोना उपचार सेवा उपलब्ध गराउन सकिने प्रारम्भिक अध्ययन गरिसकेको छ । पछिल्ला दिनमा कोभिड–१९ सङ्क्रमणको अवस्था तीव्र हुँदै गएपछि सरकारले स्वास्थ्य उपचारका क्षेत्रमा क्षमता बढाउने सिलसिलामा अक्सिजनको उपलब्धतासहितका अस्थायी अस्पताल निर्माणलाई उच्च प्राथमिकता दिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रवासीलाई सम्बोधन गर्ने क्रममा सेनालाई प्रदेश तथा राजधानीमा शीघ्र एक हजार शय्याको अस्थायी अस्पताल निर्माण गर्न निर्देशन दिएको बताइसक्नुभएको छ । बहुपयोगी ती भवन निर्माणका लागि आवश्यक जग्गा प्राप्ति तथा बजेट निकासाका लागि सेनाले पत्राचार गरिरहेको जनाएको छ । ती सबै पूर्वाधार निर्माण करिब डेढ महिनाभित्रै तयार हुने अनुमान गरिएको छ ।
सचेत हौँ : सामूहिक दाहसंस्कारको अवस्था आउन नदिऔँ
आम नागरिकबाट तोकिएको स्वास्थ्य मापदण्ड पालना नभएमा र सङ्क्रमण थप फैलन गई मृत्यु हुनेको सङ्ख्या वृद्धि भएमा सामूहिक दाहसंस्कारको परिस्थिति निम्तिन सक्नेतर्फ सबै तह र तप्का सचेत रहनुपर्ने आवश्यकता देखिएको छ । घरभित्रै रही निषेधाज्ञा र स्वास्थ्यका सबै मापदण्डको पालना अर्थात् भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, साबुनपानीले मिचीमिची हात धुने र स्यानिटाइजर गर्ने विषयमा विशेष ध्यान पु¥याएर त्यो अवस्था आउन नदिन सरकारले पटक–पटक आग्रह गर्दै आएको छ । सेनाका प्रवक्ता पौडेल भन्नुहुन्छ, “भविष्यमा आइपर्ने परिस्थितिको समयमै आकलन गरी यस्ता विषयमा पनि हामी सबै खुला हुनुपर्छ । तर त्यो अवस्था आउन नदिआँै, हामी सबै संवेदनशील होऔँ, सङ्क्रमणको ‘चेन ब्रेक’ गर्न स्वास्थ्य मापदण्डका सबै उपाय अपनाऔँ, यसैमा सबैको कल्याण छ ।”
सेनाले सुदूरपश्चिम क्षेत्रमा सोमबार एकैदिन कोभिड–१९ को सङ्क्रमणबाट निधन भएका १३, मध्यपश्चिममा ११ र काठमाडौँ उपत्यकामा ३८ शव सङ्कलन गरी व्यवस्थान ग¥यो । विगतको तुलनामा सङ्क्रमण तीव्र फैलिएको घटनाका रूपमा यो सङ्ख्यालाई लिन सकिन्छ । अघिल्लो सङ्क्रमणका समयमा ज्यान गुमाउनेको सङ्ख्या अहिलेको तुलनामा निकै कम थियो तर अहिले त्यो अवस्था रहेन । यद्यपि हालसम्म सामूहिक दाहसंस्कारको अवस्था बेहोर्नुपरेको छैन । मुलुकका विभिन्न जिल्ला प्रशासन कार्यालयले गरेको निषेधाज्ञा र स्वास्थ्य मापदण्डको पूर्ण पालना नभएका खण्डमा सङ्क्रमण फैलन गई मृत्युदर बढ्ने सम्भावना छिमेकी मुलुककै घटनाले स्पष्ट पारिसकेको छ । मुलुकमा स्वास्थ्य उपकरण, साधन स्रोत र दक्ष जनशक्तिको कमीले आउन सक्ने चुनौतीलाई सामना गर्न कठिनाइ हुनेतर्फ सबै जनता सचेत हुनुपर्ने देखिन्छ ।
शव सङ्कलनका लागि राज्यमा उपलब्ध एम्बुलेन्स, जनशक्ति र सुरक्षितरूपमा अन्त्येष्टि गर्न आवश्यक विद्युतीय शवगृह कमीका कारणले पनि हाम्रा लागि व्यवस्थापनमा चुनौती खडा गर्ने देखिएको छ । सङ्क्रमण फैलन नदिई परिस्थितिलाई सुधार गर्न नसकिएको खण्डमा भविष्यमा आउन सक्ने स्थितिमा सुधार ल्याउन निकै गाह्रो हुनाले सुरक्षाफौजले पनि निषेधाज्ञा र स्वास्थ्य मापदण्डलाई पालना गराउन कडाइका साथ निगरानी गरेको देखिन्छ ।
किन हुन्छ शव व्यवस्थापन ढिलाइ
नेपाली सेनाले कोभिड–१९ सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन एउटा मात्रै नभई विविध कारणबाट ढिलाइ भएको स्पष्ट गरेको छ । शव व्यवस्थापन गर्नुअघि मृतकका आफन्त र अस्पतालले पूरा गर्नुपर्ने विभिन्न प्रक्रिया समयमै नभएका कारण समयमै व्यवस्थापनमा चुनौती खडा भइरहेको सैनिक प्रवक्ता पौडेलले बताउनुभयो । अस्पतालमा शवगृहको अभावमा मृतकलाई लामो समयसम्म शय्यामै राख्नुपर्ने अवस्था, मृतकका घरपरिवार र आफन्तबाट शव बुझ्न हुने ढिलाइले पनि समयमै शव व्यवस्थापनमा अप्ठेरो खडा भएको देखिएको छ ।
कतिपयका त आफन्त मुलुकबाहिर भएका कारण अस्पताल प्रशासनले उनीहरुको आग्रह पर्खनुपर्ने बाध्यता तथा निजी अस्पतालले उपचार खर्च भुक्तानी नपाएसम्म शव हस्तान्तरण नगर्ने एवं प्रमाणपत्र नदिने परिस्थितिले पनि शवको समयमै सद्गत गर्न कठिनाइ परेको सेनाको भनाइ छ । व्यक्तिको निधन हुनासाथ निसङ्क्रमण गरी शवदाहगृहमा राख्नुपर्नेमा त्यो नगरी कतिपय अस्पतालले शय्यामै छाडेका कारण पनि नकारात्मक चर्चा गर्नेका लागि थप मलजल पुगेको छ । सरकारले कोभिड–१९ सङ्क्रमणबाट मृत्यु भएकाको अन्त्येष्टि व्यवस्थापनको जिम्मा सेनालाई दिएको छ ।
सेनाको पनि सीमित साधन, स्रोत र जनशक्तिका कारण जिल्लास्थित ब्यारेकबाट विभिन्न अस्पताल पुगी एउटै टोलीले शव सङ्कलन गरी दाहसंस्कार गर्न तोकिएको निश्चित स्थानमा पुगेर समयमै व्यवस्थापन गर्ने कार्य पनि उत्तिकै चुनौतीपूर्ण छ । कतिपय जिल्लामा त शवबाहनको कमीले पनि समयमै व्यवस्थापन धौधौ बनाएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सिसीएमसी)सँग प्रत्यक्ष सम्पर्क र समन्वयमा रहेर सेनाले शव व्यवस्थापन गर्दै आएको छ । एकै जिल्ला भए पनि फरक–फरक स्थान र लामो दूरी वरपरबाट एउटै शवबाहनमा तीन–चार वटासम्म शव सङ्कलन गर्नुपर्ने भएकाले पनि समयमै व्यवस्थापन गर्न कठिनाइ भइरहेको देखिएको छ ।
सैनिक ब्यारेकमा पिपिई सेट लगाएर २४सै घण्टा बसिरहनेभन्दा पनि खबर आएपछि पिपिई लगाएर निसङ्क्रमित भई स्वास्थ्यको मापदण्ड पालना गरेर निस्कनुपर्ने अवस्थाले पनि केही हदसम्म शव व्यवस्थापन ढिलाइ हुने गरेको सेनाले स्वीकार गरेको छ । काठमाडौँ उपत्यकाको हकमा भने पशुपतिनाथ मन्दिरमा रहेका तीन शवदाह मेसिनमध्ये एक बिग्रिएको अवस्थामा छ भने हाल दुई सञ्चालनमा छन् । कोभिड–१९ बाट मृत्यु हुनेको हालको चापलाई दुईवटा मेसिनले मात्र धान्न नसक्ने अवस्था छ । त्यसमा पनि २४सै घण्टा चलाउँदा थप बिग्रन सक्ने सम्भावनाई ध्यानमा राखी समय–समयमा रोकेर चलाउनुपर्ने अवस्था छ । सोही कारण काठमाडौँ उपत्यका विभिन्न अस्पतालबाट सोमबार दाहसंस्कारका लागि सङ्कलन गरिएको ३८ मध्ये ३६ शव मात्र व्यवस्थापन सम्भव भएको सेनाले जानकारी दिएको छ ।
बाँकी दुई शव मङ्गलबार बिहान अन्त्येष्टि गरिएको थियो । सङ्क्रमण फैलिएर दिनानुदिन मृतकको सङ्ख्या बढ्दै गएमा स्थान र दाउराको अभाव तथा मेसिनको क्षमता अपुग हुने एवं सङक्रमणको जोखिमका कारण पर्खेर बस्न नमिल्ने हुनाले सामूहिकरूपमा दाहसंस्कार गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना हुनसक्ने बताइएको छ ।
सेनाका तीनको मृत्यु
नेपाली सेनाका तीन जनशक्तिको कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु भएको छ । सैनिक प्रवक्ता पौडेलका अनुसार हालसम्म सेनामा पाँच हजार ३१८ सङ्क्रमित भएकामा तीन जनाको ज्यान गएको छ । निको हुनेको सङ्ख्या पाँच हजार २०१ रहेको छ । सेनामा हाल कोरोना सङ्क्रमणबाट सक्रिय सङ्क्रमितको सङ्ख्या ११४ रहेको छ । नेपालमा हालसम्म तीन लाख ५१ हजार पाँच कोभिड–१९ बाट सङ्क्रमित भएकामा दुई लाख ८७ हजार ७९० निको भएको सिसीएमसीबाट थाहा भएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ५९ हजार ७९८ छ भने तीन हजार ४१७ जनाको निधन भइसकेको छ ।
पछिल्लो २४ घण्टामा मात्रै पनि कोरोनाका सात हजार ५८७ नयाँ सङ्क्रमित थपिएको, एक हजार ७७५ निको भएको तथा ५५ जनाको निधन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।