नयाँ दिल्ली। कोरोनाभाइरस (कोभिड–१९) महामारीको दोस्रो लहरको सङ्कट व्यहोरिरहेको भारतमा विगत २४ घण्टाको अवधिमा चार लाख नयाँ सङ्क्रमित फेला परेका छन् । भारतमा यो सहित कूल संक्रमितको संख्या दुई करोड १८ लाख ९२ पुगेको छ ।
भारतमा लगातार तेस्रो दिन चार लाखभन्दा बढी व्यक्तिमा संक्रमण देखिएको छ ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा थप चार हजार १८७ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको छ । यो सहित भारतमा कोभिडको संक्रमणबाट मृत्यु हुनेको कूल संख्या दुई लाख ३८ हजार २७० पुगेको हो ।
हाल विश्वमै कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या संयुक्तराज्य अमेरिका र ब्राजिलपछि भारत तेस्रो स्थानमा छ । संयुक्तराज्य अमेरिकामा पाँच लाख ९४ हजार तथा ब्राजिलमा चार लाख १९ हजारको ज्यान गइसकेको छ ।
भारतमा अझै पनि ३७ लाख २३ हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् । मन्त्रालयका अनुसार हालसम्म एक करोड ७९ लाख ३१ हजार व्यक्ति कोभिड–१९ बाट संक्रमणमुक्त भएका छन् ।
भारतमा कोभिड–१९ को दोस्रो लहरका कारण जनजीवन अस्तव्यस्त भए पनि भारत सरकारले देशव्यापी पूर्ण लकडाउन नगर्ने बताएको छ । कतिपय भारतीय राज्यहरुमा रात्रिकालीन निषेधाज्ञा वा आंशिक लकडाउन गरिएको छ । राजधानी नयाँ दिल्लीमा आगामी मे १० सम्मका लागि लकडाउन गरिएको छ ।
गत जनवरीमा देशव्यापी खोप अभियान सञ्चालन गरिएको भारतमा हालसम्म करिब १६ करोड ७४ लाख व्यक्तिलाई कोभिड–१९ को खोप दिइसकिएको छ । अठार वर्षभन्दा माथिका व्यक्तिका लागि गत मे १ तारिखबाट खोप अभियान शुरु भइसकेको छ ।
यसैबीच, बिहीबारसम्म भारतमा कोभिड–१९ को ३० करोड नमुना परीक्षण गरिएको छ । शुक्रबार एकै दिन १८ लाख नमुना परीक्षण गरिएको भारतीय स्वास्थ्य अनुसन्धान परिषदले जनाएको छ ।