किरात राई यायोख्या युकेद्वारा साकेला उभौली मनाइयो

लण्डन । बेलायतमा बसोबास गर्ने किरात राई समुदायको साझा प्रतिनिधिमूलक संस्था किरात राई यायोक्खा बेलायत केन्द्रीय कार्यसमितिले, किरात राई जातिको महान चाड साकेला उभौली २०२१ किरात राई जातिको विशिष्टतालाई प्रतिविम्वित गर्ने गरी समग्र किरात राई समुदायको साझा पूर्वज, सम्पूर्ण भाषिक थरीहरु तथा तीनका पुर्खाहरुलाई सम्मान र सम्झना गर्दै ऐतिहासिक साकेला उभौलिको आयोजना गत २९ अगष्ट २०२१ मा सम्पन्न गरेको छ ।

किरात राई यायोक्खा बेलायतले बैशाखे पूर्णिमा तथा बुद्ध जयन्ती पछिको पहिलो शनिवार साकेला उभौली मनाउँदै आएको छ । किरात राई समुदायले भूमिचक्र (ऋतु) अनुसार वैशाखे पूर्णिमामा साकेला उभौली र मंसिरे पूर्णिमामा साकेला उधौली गरी वर्षमा दुईपटक साकेलालाई महान चाडको रुपमा मनाउँदै आएको पाईन्छ । यस चाडलाई बहुभाषिक (बहुथरी) किरात राईहरुले विविध नामबाट जनाउँदै आएको पाईन्छ । जस्तै चासूवा, तोष, भूमे, तोषी, वास, साक्खेवा, साकेवा, साकेन्वा, साकेला आदि । साक्खेवा/साकेलालाई किरात राई समुदायले सर्वशक्तिमान आराध्यदेवताको रुपमा मान्यता दिदै आएको पाइन्छ । साकेला उभौलीमा अन्नबालीको बिउबिजन छर्दा स्वस्थ्य बेर्ना तयार होस्, जसबाट उत्पादनमा वृद्धि होस् साथै मानव जातिको रक्षार्थ पनि साकेला/साकेन्वासित बल माग्न, यसको पूजा गर्ने गरिन्छ । साकेला उधौलीमा लगाएको अन्नबाली उठाई सकेपछि, अन्नबाली र प्राणी जगतलाई रक्षा गर्दै त्यस अवस्थासम्म ल्याई पुर्याउन सक्ने साकेला (शक्ति) को सम्मानमा पूजा गरिने प्रचलन यो जातिमा पाइन्छ ।
साकेलाको पूजा र सिली प्रदर्शनी शुरुदेखि अन्त्य सम्मको अवधिलाई किरात राई जातिले महान चाडको रुपमा मनाउँदै आएको पाइन्छ । साकेला पुज्ने अघिल्लो दिन भूमि (जमिन) लाई खनजोत नगर्ने परम्परा पनि यस समुदायमा रहँदै आएको पाइन्छ । एउटा जातिय पहिचान भएको किरात राई जाति (समुदाय) एउटै भाषा बोल्दैनन् । एउटा जातिय पहिचान र भाषिक विविधतानै यस जातिको विशिष्टता हो । यो समुदायमा अहिले पनि २८ भाषाहरु (थरीहरु) जीवित (बोलचाल) तथा प्रयोगमा रहेका छन् । एउटै अथवा साझा पुर्खा साथै साँस्कृतिक सामिप्यता यो जातिको अर्को विशिष्टता रहेको छ । आफैंमा विविधतायुक्त, आफैंमा इन्द्रेणी समाजयुक्त किरात राई समुदाय भित्रका यिनै २८ भाषिक/थरीहरुको सम्मान र साझा पूर्खाहरुको सम्झना गर्दै, यस वर्षको साकेला उभौली आयोजना स्थल (पूजा थान) सम्पूर्ण २८ भाषिक/थरीहरुको नाम अंकित प्ले–कार्डद्वारा सजाइएको थियो । बेलायतबासी किरात राई जातिको प्रतिनिधिमूलक संस्था, किराया बेलायत भाषिक (थरी) संघात्मक संगठनात्मक संरचनामा रुपान्तरित हुने कार्यसमितिको निर्णय सहित संकल्प गरेपस्चात, त्यसलाई ब्याबहारिक प्रयोगमा ल्याउने सुरुवाती कदम स्वरुपको यस ऐतिहासिक कार्य, साकेला उभौलीका संयोजक उपाध्यक्ष मेजर दिलकुमार राई, उपाध्यक्ष क्याप्टेन सुमनचन्द्र राई, पूर्व महासचिव तथा उपाध्यक्ष जीतेन्द्र साम्पाङ राई, उपाध्यक्ष नीलम राई साथै संस्थाको कार्यवाहक अध्यक्ष चन्द्रबहादुर राईको संयुक्त परिकल्पना रहेको थियो । यसलाई अभियानकै रुपमा, किरात राई इन्द्रेणी समाज (बहुभाषिक तथा मौलिक रुपमै संघात्मक समुदाय) को सबै भाषिक/थरीले उत्तिकै सम्मान, अपनत्व र स्वामित्व महसूष गर्ने गरी, संकल्प प्रस्तावको भावना र मर्म अनुरुप, आगामी दिनहरुमा अझ ब्यापक, रचनात्मक, विशेष र संस्थागत गर्दै लगिने प्रतिवद्धता संस्थाका कार्यवाहक अध्यक्ष चन्द्रबहादुर राईले आफ्नो शुभकामना मन्तब्यमा ब्यक्त गर्नुभएको थियो ।
किरात राई जातिको धर्म, प्रकृति र पितृ पूज्ने मौलिक किरात धर्मको विशिष्ट स्थानमा नाक्छुङको भूमिका सर्वोपरी रहेको हुन्छ । सोहीअनुरुप किरात राई यायोक्खा बेलायत केन्द्रीय कार्यसमितिको विशिष्ट ब्यक्तित्व नाक्छुङ कितावसेर राईबाट विधिवत साकेला उभौली पूजा गरी, साकेला सिली सुरुवात गर्ने र अन्तमा विधिपूर्वक साकेला सिली मार्ने (समापन गर्ने) कार्य सम्पन्न भएको थियो । विधि पूर्वकको उक्त साकेला उभौली पूजा/शुभ कार्यमा नाक्छुङलाई साथ दिनुहुनेमा किरात राई चाम्लिङ खाम्बातिम नेपालका संस्थापक अध्यक्ष समेत रहिसक्नु भएको पुर्खा जगतबहादुर राई रहनु भएको थियो भने सिली माङ्मा संस्थाका सचिव अनिता राई र सिलि माङ्पा राम
राई रहनु भएको थियो । त्यसैगरी विधी पूर्वको उक्त साकेला उभौली पूजा तथा सिलीमा, लक्ष्मी राई, शारदा राई र युद्धराज राईको पनि भूमिका सहितको संलग्नता रहेको थियो भने उपस्थित सबैले साथ दिनुका साथै सहयोग गर्नुभएको थियो ।
महामारी पूर्वको सामान्य अवस्थामा पाँच हजारभन्दा ज्यादा बेलायतबासी किरात राई तथा गैह्र किरात राईहरुको उत्साहजनक सहभागिता हुँदै आएको किरात राई जातिको महान चाड साकेला उभौलीमा, यसवर्ष महामारी रोग कोभिड–१९ सम्बन्धि सरकारी दिशा निर्देशन, जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी प्रतिवन्धहरुका कारण सीमित ब्यक्तिहरु मात्र उपस्थित भई मनाउनु परेको कार्यक्रम संयोजक तथा उपाध्यक्ष मेजर दिलकुमार राईले उपस्थित सबैलाई स्वागत गर्ने, स्वास्थ्य एवं सुरक्षा
सम्बन्धी ब्रिफिङ दिने क्रममा ब्यक्त गर्नु भएको थियो ।
साकेला उभौलीकै अवसरमा आयोजित शुभकामना आदानप्रदानको छोटो औपचारिक कार्यक्रमको प्रमुख अतिथि ८२ वर्षीय पूर्खा लवजित राई रहनु भएको थियो । शुभकामना आदानप्रदानको क्रममा गैरआवासीय नेपाली संघ बेलायतको वर्तमान उपाध्यक्ष तथा आसन्न निर्वाचन २०२१ को अध्यक्षको प्रत्यासी रोजिना (प्रधान) राईले सबैलाई साकेला उभौलीको शुभकामना ब्यक्त गर्दै, गैर आवासीय नेपाली संघ बेलायतको खास एजेण्डा नेपाली नागरिकताको निरन्तरता र गोर्खाहरुको समान
सेवा सुविधाको माग रहेको उल्लेख गर्दै, नेतृत्वमा आफ्नो सुयोग्यता र दावीको कारण खुलाउँदै समग्र किरात राई तथा गैर किरात राई ब्यक्ति तथा समुदायले पहिले झैं सहयोग गर्ने विश्वास ब्यक्त गर्दै पुनः सहयोगको लागि आव्हान गर्नुभएको थियो ।
चियापान तथा शुभकामना आदान प्रदानकै क्रममा संस्थाका पूर्व अध्यक्ष तथा प्रमुख सल्लाहकार पदम राई बीइएमले संस्था भित्रको वर्तमान मतभिन्नतालाई इंगित गर्दै समुदायलाई भावनात्मक रुपले जोड्न नसकेकोमा दुःख ब्यक्त गर्दै किरात राई जाति तथा समुदायको साझा प्रतिनिधिमूलक संस्थाले लिनुपर्ने सही मार्ग अहिले संस्थाले आत्मसात गरेको, संकल्प गरेको, संगठनात्मक संरचनालाई भाषिक संघात्मक संरचनामा रुपान्तरण गर्नु नै रहेको धारणा ब्यक्त गर्दै यही विचारले मात्र अब हामी विशिष्ट जाति समग्र किरात राईलाई जोड्ने विश्वास ब्यक्त गर्दै रुपान्तरणको लागि सही समय समेत आएको उल्लेख गर्नु भएको थियो । यसै क्रममा सामाजिक अभियन्ता डा. महा राईले यति विशिष्टतायुक्त किरात राई समुदायमा सामाजिक अन्तरद्वन्द्व सिर्जना हुनुमा कसैको दोष नरहेको हामीले आत्मसात गरेको समुदायको प्रतिनिधिमूलक संस्थाको संगठनात्मक संरचना र त्यसले दिने निर्णय/परिणामहरुनै द्वन्द्वको प्रमुख कारण रहेको र खास रोग तथा रोगको कारण पत्ता लागिसकेपछि त्यसको उपचारमा लाग्नु बुद्धिमानी हुने गहिरो मतभिन्नतासहित सामाजिक द्वन्द्व चलिरहँदा समुदायले कुनै प्रकारको सामूहिक/सामाजिक उपलब्धिहरु हासिल गर्न नसक्ने भएकोले यस कठिन बाटो हामीले हिँड्नै पर्ने बाध्यता रहेको र किरात राई समुदायले यसलाई छिट्टै बुझ्ने विचार तथा विश्वास ब्यक्त गर्नु भएको थियो ।
उक्त कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बेलायतको अध्यक्ष प्रमिला लाबुङ राई, किरात राई साँस्कृतिक कलाकार संघ युकेको उपाध्यक्ष विनोद पुमा राई, किरात राई तायामा खियामा महिला समिति युकेका अध्यक्ष रोजी राई, किरात राई यायोक्खा बेलायत प्रारम्भिक कार्यसमिति ग्रेटर रस्मोरका अध्यक्ष ध्रुवसरी राई, बेलायतका चर्चित गायक तथा संगीतकार गंगाराज राई, गैरआवासीय नेपाली संघ बेलायतको पूर्व उपाध्यक्ष हिराधन राई लगायत, कार्यसमिति पदाधिकारी सदस्यहरुको उपस्थिति रहेको थियो । संस्थाका महासचिव चन्द्रवती राईले कार्यक्रम संचालन गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री