अब, आफ्नो आँखाको पट्टि खोल गान्धारी
महलको खोपीबाट बाहिर निस्केर हेर
निलो आकाश र खुल्ला धरती
बर्षौ पट्टि बाँधिएका तिम्रा आँखाहरुले जब हेर्नेछौ
आफ्नो छेउछाउ हुँदै विस्तारै पर.. पर..
धेरै पर क्षितिज फूलको रङ,
निलाम्य सागर खुल्ला धरती र निलो आकाश
महसुस गर्ने छौ माटोको सुगन्ध
हावाको शित्तलता, जूनको मोहकता
सुन्नेछौ चराको चिर्बिर, खोलाको सुसाई
तिमीले कल्पना गरेको जस्तै
सुन्दर देख्नेछौ संसार
अनि अझै नियालेर हेर
यो सुन्दर संसारभित्र निर्मित समाजका कुरुप अनुहार
हेर, कलियुगिन संसारको महाभारत
म दुस्साहसपूर्ण अनुरोध गरिरहेछु
अब आफ्नो आँखाको पट्टि खोल गान्धारी !
तिम्रा स्वतन्त्र आँखाहरुले यहाँ देख्नेछौ
छाउपडी कु-प्रथामा अल्झिएको नारीको पीडायुक्त वेदना,
वादी बस्तीमा पेटको ज्वाला शान्त पार्न
आफ्नै शरीर जलाइरहेका थुप्रै सामलीहरुको नियती,
सुन्नेछौ आफ्नैको घातमा परेर
यौन पिपासुहरुको कामुक भोक मेटाउन
बेचिएकी आक्रान्त चरिमायाहरुको गुन्जिरहेका आत्माको मौन आर्तनाद,
महसुस गर्नेछौ बलात्कृत चेलीको न्यायको दुहाईमा
पलपल बर्षिएको पीडित परिवारको निराशाब्याप्त आँखाहरु भित्र लुकेको
पिडायुक्त वेदनाका व्याकुल मनोस्थिति !
देख्नेछौ रातको अधेरोमा लुक्दै, छिप्दै सुरा र सुन्दरीहरुको खोजीमा भटकिरहेका साधु बिरालोहरु,
जब बुझ्नेछौ तिमीलाई सुनाइएका कथित दिव्य कथाका झुट्टो र निसार मर्म,
देख्नेछौ प्रत्येक पल बदलिरहेको मान्छेहरुका विकृत सोच
र नक्कली मखुण्डोमा लुकेको दानविय प्रवृति शक्ति
र सत्ताको होडमा बिक्री हुँदै गरेको कानुन
कथित समाजसेवीहरुको भ्रामक गतिबिधी
अर्काको काँधमा उक्लिरहेका महत्वाकांक्षीहरु
अनि शायद तिमी आफ्नो आँखामा फेरी पट्टि बाँध्न थाल्नेछौ
नदेख्नुको बहानामा छातीभित्र दबाउन खोज्नेछौ
उन्मुक्ति केवल कथाको पात्रा बनेर
पुस्तकका पानाहरुमा गान्धारी बनेर बाँच्ने चेष्टा गर्नेछौ
या त तिमीलाई उभ्याईनेछ न्यायालयको एउटा कुनामा
आँखामा पट्टि र हातमा तराजु लिएर
तर आँखा छोपेर नहेर्दैमा सत्य झुटमा बदलिने छैन
तेसैले अब आफ्नो आँखाको पट्टि खोल गान्धारी
महलको खोपीबाट बाहिर निस्केर हेर
निलो आकाश र खुल्ला धरती !