कोभिड १९ बारे के के नियम परिवर्तन भए आजदेखि इङल्याण्डमा ?

corona

लण्डन । बेलायत सरकारले अन्तिम समयमा पूर्व घोषित योजना परिवर्तन गर्नाले आजदेखि हटाइने भनिएको बेलायतमा कोभिड १९ का कारण लगाइएको सबै किसिमका प्रतिबन्धहरु अझै केही साता जारी नै रहनेछन् । तथापि सरकारले आजबाट केही नियमहरु भने परिवर्तन गरेको छ ।

जसमा विवाह वा वैवाहिक समारोहमा उपस्थित हुनेहरुको संख्या पनि एक हो । आजदेखि इङल्याण्डमा विवाह वा वैवाहिक समारोहमा कति जना उपस्थित हुन सक्ने भन्ने संख्या सरकारले होइन सम्बन्धित हलवालाले तोक्नेछन् । कोभिड १९ बाट सुरक्षित हुने मापदण्ड अपनाउँदा कति जनालाई आफ्नो हलमा अटाउन सकिन्छ त्यसको आधारमा सम्बन्धित हलवालाले त्यस्तो संख्या तय गर्नेछन् । तर घर भित्र भने बढीमा ६ जना वा दुई परिवारका सदस्यहरु मात्र भेट्न पाउने नियम भने जारी नै छ ।

वैवाहिक समारोहमा उपस्थित हुँदा सामाजिक दुरी कायम गर्नुपर्ने, मास्क लगाउनु पर्ने लगायतका नियमहरु भने कायम नै छन् । यस्तै नाच्न र गाउन पनि पाइने छैन ।

घरबाहिर अस्थायी पाल टाँगेर संरचना बनाउँदा आधा जस्तो भाग खुला छोड्न पर्ने नियम छ भने हलबाहिर भने ३० जनासम्म भेटघाट गर्न पाइने छ ।

यस्तै आजदेखि केयर होममा बसोबासरत व्यक्तिहरुले आफूलाई भेट्ने पाँच जनासम्मको नाम टिपाउन पाउनेछन् र उनीहरुमध्ये दुईजनाले हरेक दिन भेट्न पाउने छन् । तर यो नियमहरु स्थानीय काउन्सिलहरुले त्यहाँको कोभिड १९ को संक्रमणलाई नियन्त्रण गर्न अपनाएका नियमहरुका कारण प्रभावित पनि हुन सक्नेछन् ।

बेलायत सरकारले यसअघि जुन २१ बाट कोभिड १९ सम्बन्धी सबै प्रतिबन्धातमक नियमहरु हटाउने घोषणा गरे पनि डेल्टा नामक भेरियन्टको संक्रमण बढेपछि अन्तिम समयमा आएर सो योजनाबाट पछि सरेको थियो ।

अब जुलाई १९ मा सबै नियमहरु हटाउने बेलायत सरकारको योजना छ ।

बेलायतमा अहिले सबै बयस्कहरुलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन थालिएको छ । उमेरअनुसार खोप लगाउन प्राथमिकताक्रम निर्धारण गरिएकोमा अहिले १८ वर्षमाथिका सबैलाई खुला गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री