इङल्याण्डमा जुलाई १९ देखि कोरोनासम्बन्धी सबै नियम हटाइने

लण्डन । इङल्याण्डमा जुलाई १९ देखि कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि बनाइएको सबै नियम हटाइने भएको छ ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार प्रधानमन्त्री कार्यालयमा आयोजित पत्रकार भेटघाटमा बोल्दै पूर्व निर्धारित कार्यतालिका अनुसार नै जुलाई १९ देखि लकडाउनसम्बन्धी सबै प्रावधान खारेज गर्ने जानकारी दिएका हुन् । तथापि यसको अन्तिम जानकारी भने अर्को सोमबार हुने छ ।

प्रधानमन्त्री जोन्सनका अनुसार जुलाई १९ देखि सबै पसलहरु खुल्ने छन् भने होटल रेष्टुराँहरुमा पनि बारकोड स्क्यान गरी कन्ट्याक्ट ट्रयासिङमा सहभागी हुनपर्ने झण्झट रहने छैन । यस्तै विवाह, अन्त्येष्ठीका साथै ठूला कार्यक्रम गर्नका लागि पनि कुनै हदबन्दी रहने छैन । यस्तै यसअघि घरबाटै काम गर्नु भन्ने नियम पनि हट्ने छ भने घरभित्र ६ जनामात्र वा दुई घरपरिवारका सदस्यहरु मात्र भेट्न पाउने बन्देज पनि रहने छैन । केयर होमहरुमा भेट्न जाने संख्याको कुनै सीमा रहने छैन । यस्तै स्थानीय काउन्सिलहरुले कोरोना संक्रमणको अवस्था हेरी लकडाउन गर्न पाउने अधिकार पनि खारेज हुनेछ ।

प्रधानमन्त्री जोन्सनले बेलायतले कोरोनाविरुद्धको खोप लगाउनमा हासिल गरेको उपलब्धीका कारण जनजीवन सामान्य अवस्थातर्फ फर्कन सम्भव भएको बताए । तथापि कोरोना भाइरससितको लडाइँ सकियो भनेर नठान्न पनि उनले सचेत गराएका छन् । उनले जुलाई १९ सम्ममा बेलायतमा दैनिक संक्रमितको संख्या बढेर ५० हजारसम्म पुग्नसक्ने आँकलन गरेका छन् ।

एकैचोटी सबै प्रतिवन्धात्मक प्रावधानहरु हटाउने सरकारको योजनाको विपक्षी लेबोर पार्टीका नेता सर कियर स्टामरले भने विरोध गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री