गोरखाहरुको समस्या समाधानका लागि दुताबासमा छलफल, सत्याग्रह अनुपस्थित

लण्डन । गोरखा भूतपूर्व सैनिकहरु समान अधिकारको माग गर्दै बेलायती प्रधानमन्त्रीको कार्यालय नजिकै अनसन बसिरहेको अवस्थामा गोरखाहरुको समस्या समाधानका लागि लण्डनस्थित बेलायती दुताबासमा छलफल गरिएको छ ।
बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मीको पहलमा सोमबार भएको सो छलफलमा गोरखा भूतपूर्व सैनिकसम्वद्ध संस्थाहरुलाई बोलाइएको थियो । छलफलमा गोरखा भूतपूर्व सैनिक संघ (गेसो) र ब्रिटिश गोरखा वेलफेयर सोसाइटी (बिजीडब्ल्यूएस) सहभागी भए पनि अनसनको आयोजक गोरखा सत्याग्रह संयुक्त संघर्ष समिति भने अनुपस्थित रह्यो । सत्याग्रहले अरु गोरखा संस्थासित संयुक्त छलफल गर्न नचाहेको र छुट्टै छलफलका लागि समय माग गरेको छलफलमा सहभागी बिजीडब्ल्यूएसका प्रवक्ता प्रकाश गुरुङले बताए ।
छलफलमा राजदुत रेग्मीले गोरखा सत्याग्रहलाई अनसन नबसीदिन दुताबासले यसअघि पनि अनुरोध गरेको र नेपालको परराष्ट्र मन्त्रालयले वार्ताका लागि बेलायत सरकारलाई पत्र लेखिसकेको जानकारी दिँदै सो पत्र पढेर सुनाएका थिए ।
छलफलमा सहभागी गोरखा संस्थाका प्रतिनिधिहरुले नेपाल सरकारको तर्फबाट वार्ताका लागि अविछिन्न प्रयत्न हुँदै आएको, भविष्यमा पनि यसलाई निरन्तरता दिइने पृष्ठभूमिमा आमरण अनशन कार्यक्रम फिर्ता लिनका लागि दुताबासले निर्देशानुसार अनुरोध गरेको जानकारी दिए ।ब्रिटिश सरकारले पनि वार्ताको विषयमा नेपालका लागि वेलायती राजदूतावासमार्फत परराष्ट्र मन्त्रालयसँग सम्पर्कमा रहेको जानकारी पनि सो अवसरमा दिइयो । दुवै सरकारबीच वार्ताका लागि प्रक्रिया चलिरहेको बेला अनसनले अन्योल छाएको पनि सो क्रममा उल्लेख गरियो ।
राजदुत रेग्मीले दुई देशबीच गोरखा समस्याका बारेमा कुराकानी गराउन सक्दो पहल गरिरहेको जानकारी दिए । नेपालमा भर्खरै मात्र नयाँ सरकार गठन भएको र परराष्ट्र मन्त्रीको नियुक्ति भइनसकेकोले गर्दा सोचे जति चाँडो काम हुनसकेको उनले प्रष्ट पारे । यो बेलामा संयमता अपनाउनु नै  उत्तम हुने र भोक हडताल जस्तो चरम निर्णयले समस्या अझै जटिल हुनसक्ने पनि छलफलमा निस्कर्ष निकालियो ।
बिजिडब्लूएस र गेसोका प्रतिनिधिहरुले भोक हडताल समस्याको समाधान नभएको र दुई देश बीचको कुटनीतिक पहलबाट नै अन्तिम लक्ष्यमा पुग्न सकिनेमा एक मत जनाए ।
छलफलमा बिजिडब्ल्यूएसबाट अध्यक्ष मे. रि. टिकेन्द्र दल देवान जे पी, राष्ट्र राई र प्रकाश गुरुङ यसैगरी गेसाेबाट कार्यबाहक अध्यक्ष धर्मबहादुर तामाङ र कोषाध्यक्ष देवीमाया पुन सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री