अनेसास बेलायत च्याप्टरको आयोजनामा २०८ औं भानुजयन्ती समारोह

लण्डन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायत च्याप्टरले हरेक वर्ष मनाउँदै आएको साहित्यिक कार्यक्रम २०८ औं आदिकवि भानु जयन्ती, युवा कवि मोतीराम भट्ट साथै स्वर्गीय ईश्वर प्रसाद मानन्धरको स्मृति दिवस शनिवार पूर्वी लण्डनमा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदूतावासबाट उपनियोग प्रमुख श्रीमती रोशन खनाल, विशेष अतिथि सविता मानन्धर, साहित्य संगम रेडिङको सँस्थापक विनोद अधिकारी, ईष्ट लण्डन नेपाली महिला कम्युनिटीका अध्यक्ष साङ्गे लामा गुरुङ, ईष्ट लण्डन नेपाली गोर्खा कम्युनिटीका अध्यक्ष दिल ईवाराम लिम्बु र “सुप्रमा-ईप्रमा” पुरस्कार २०२१ की विजेता प्रतिमा केसी हुनुहुन्थ्यो ।
अनेसास बेलायत च्याप्टरको अध्यक्ष श्रीमती लक्ष्मी राईको अध्यक्षता र अनेसासका केन्द्रिय सल्लाहकार सुमलकुमार गुरुङ संयोजक रहेको सो कार्यक्रमको प्रमुख अतिथि श्रीमती रोशन खनाल, अनेसास बेलायत च्याप्टरको अध्यक्ष लक्ष्मी राई, अनेसास केन्द्रीय सल्लाहकार सुमलकुमार गुरुङ, साहित्य संगम रेडिङको सँस्थापक विनोद अधिकारी र विशेष अतिथि सविता मानन्धरद्वारा दीप प्रज्वलन गरी शुरुआत गरिएको थियो ।
महासचिव मञ्जु भण्डारीले सञ्चालन गरेको सो कार्यक्रममा अनेसास बेलायत च्याप्टरको सदस्य सारादेवी गुरुङले स्वागत मन्तव्य र शुभकामना दिएकी थिइन् भने सुप्रमा-ईप्रमा पुरस्कारका प्रायोजक परिवारबाट सविता मानन्धरले सुप्रमा-ईप्रमा पुरस्कार र स्वर्गीय ईश्वरप्रसाद मानन्धरको बारेमा प्रकाश पारेकी थिइन् । पुरस्कृत पुस्तक “ पानीको विद्रोह “ बारेमा साहित्य संगम रेडिङका संस्थापक, मुक्तक प्रतिष्ठान बेलायतका सल्लाहकार विनोद अधिकारीले समीक्षा गरेका थिए र भविष्यमा यसरी नै प्रतिमा केसीको कलमले निरन्तरता पाइरहोस् भनी शुभकामना पनि दिएका थिए ।
यसैगरी अनेसास केन्द्रीय सदस्य माया गुरुङले आदिकवि भानुभक्तका जीवनी र उनको भाषिक योगदान बारेमा प्रकाश पार्दै जुनसुकै परिस्थितिमा पनि हामी सबै नेपालीलाई तुरुन्तै नजिक बनाउने महत्वपूर्ण माध्यम नेपाली भाषा रहेको त्यसैले यसको संरक्षण गर्नु हामी सबैको ज़िम्मेवार भएको बताइन् । अनेसास केन्द्रीय सल्लाहकार, डायमण्ड बुद्धिस्ट सेन्टरका अध्यक्ष सुमलकुमार गुरुङले युवा कवि मोतिराम भट्टको जीवनी बारे प्रकाश पार्दै उनको नेपाली भाषा साहित्यमा के कस्ता योगदानहरू थिए भन्ने कुराहरू प्रष्ट्याए साथै उनले स्वर्गीय ईश्वरप्रसाद मानन्धरको बारेमा उनको सरल र मिलनसार स्वभाव, भाषा साहित्यप्रतिको गहिरो लगाव र उनका प्रकाशित पुस्तकहरू साथै प्रकाशित हुन बाँकी रहेको पुस्तकहरूका बारेमा बताए ।
त्यस्तै ईष्ट लण्डन नेपाली गोर्खाका अध्यक्ष दिल ईवाराम लिम्बुले सो साहित्यिक कार्यक्रमको मुक्त कण्ठले प्रशंसा गर्दै भाषा साहित्यको सफलताको शुभकामना पनि दिए । उक्त कार्यक्रममा प्रमुख अतिथि उपनियोग प्रमुख रोशन खनालले नेपाली भाषा साहित्य, सँस्कृतिको महत्व र यसमा भानुभक्तको योगदान बारे बताउँदै सो कार्यक्रमको आयोजना गर्ने अनेसास बेलायत च्याप्टरलाई सफलताको शुभकामना दिंदै भविष्यमा पनि आवद्ध रहने बताइन् । कार्यक्रमको दोस्रो चरणमा रचना वाचन रहेको थियो जसमा निर्मला न्यौपाने, विनोद अधिकारी, कुमार केसी, प्रतिमा केसी, सुमलकुमार गुरुङ, सारादेवी गुरुङ, मञ्जु भण्डारी र माया गुरुङले सिर्जना वाचन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री