राजदुत र पूर्व अध्यक्षहरुलाई साक्षी राख्दै प्रेम गाहामगरले लिए सपथ

तस्वीरहरु शिव भण्डारी

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेका नवनिर्वाचित अध्यक्ष प्रेम गाहामगरले बेलायतका लागि नेपाली राजदुत तथा संघका पूर्व अध्यक्षहरुको उपस्थितितमा पद तथा गोपनियताको सपथ लिएका छन् ।

आइतबार साँझ अल्डरसटको एम्पायर हलमा आयोजित विशेष समारोहबीच निर्वाचन समितिका प्रमुख आयुक्त महेन्द्रराज कंडेलले नवनिर्वाचित प्रेम गाहामगर तथा उनको नेतृत्वको कार्यसमितिलाई शपथ गराए ।

बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा एनआरएनए यूकेको राष्ट्रिय समन्वय परिषदका साथै चार वटै राज्य समन्वय परिषदका पदाधिकारीले पनि शपथ लिए । सपथग्रहणपछि नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि राजदूत लोकदर्शन रेग्मीले एनआरएनए यूकेको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै दुतावासले एनआरएनए यूकेसँग विगतका दिनमा गर्दै आएको सहकार्य आगामी दिनमा निरन्तर र थप बलियो बन्ने विश्वास व्यक्त गरे ।

एनआरएनए यूकेकी निवर्तमान अध्यक्ष श्रीमती पुनम गुरुङले नयाँ कार्यसमितिलाई आफ्नो तर्फबाट पूर्ण साथ र सहयोगको प्रतिवद्धता व्यक्त गरिन् । आफ्नो दुई वर्षे कार्यकाललाई सफल पार्न सहयोग गर्ने सिंगो कार्यसमिति, संरक्षक तथा सल्लाहकारहरु, बेलायतस्थित सम्पूर्ण संघसंस्था र समुदायप्रति उनले आभार प्रकट गरिन् ।

समारोहमा एनआरएनए केन्द्रीय सल्लाहकार कुल आचार्य, केन्द्रीय सल्लाहकार एवम् निर्वाचन पर्यवेक्षक विश्वआदर्श पन्डित, पूर्व अध्यक्ष योगेन क्षेत्री, पूर्व अध्यक्ष एवम् निर्वाचन समिति संयोजक महेन्द्रराज कंडेल लगायतले पनि प्रेम गाहामगर नेतृत्वको नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए ।

निवर्तमान कार्यसमितिकी अध्यक्ष पुनम गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्ष पदकी प्रत्यासी रोजिना प्रधान राईले समेत नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिएकी थिइन् । कार्यक्रमको पहिलो चरण निवर्तमान महासचिव फडिन्द्र भट्टराईले संचालन गरेका थिए भने शपथग्रहणको सत्र निर्वाचन समितिका सदस्यसचिव कर्णबहादुर शाहीले संचालन गरेका थिए ।

सपथग्रहणपछि नवनिर्वाचित कार्यसमितिका अध्यक्ष प्रेम गाहामगरको अध्यक्षतामा सम्पन्न शुभकामना सत्रमा विभिन्न संघसंस्थाका प्रतिनिधिले शुभकामना दिएका थिए । किरात राई यायोक्खाकी अध्यक्ष कल्पना राई, नेपाल आदिवासी जनजाति महासंघ यूकेका अध्यक्ष कर्मा पहाडी शेर्पा, नेप्लिज युथ यूकेका अध्यक्ष धिरज राई, एनआरएनए यूके पूर्व महासचिवद्वय डा. कृष्ण उपाध्याय र आरके त्रिपाठी, नवनिर्वाचित आइसिसी सदस्य राजेन्द्र पुडासैनी लगायतले नयाँ कार्यसमितिको कार्य सफलताको कामना गरेका थिए ।

समारोहमा नवनिर्वाचित अध्यक्ष प्रेम गाहामगरले संस्थाको प्रमुख संरक्षकमा शेरबहादुर सुनारलाई मनोनित गरिएको घोषणा गरे । एनआरएनए यूकेका पूर्व उपाध्यक्ष एवम् अघिल्लो निर्वाचनमा अध्यक्षका प्रत्यासी रहेका सुनार यसपटक गाहामगरको चुनावी अभियानका प्रमुख संयोजक पनि थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गाहामगरले एनआरएनए यूकेको नेतृत्व आफ्नो काँधमा सुम्पिने बेलायतवासी नेपालीहरुप्रति आभार प्रकट गरे । उनले एनआरएनए यूके मात्र नभइ बेलायतको सिंगो नेपाली समुदायलाई एकताबद्ध बनाएर लैजाने प्रतिवद्धता व्यक्त गरे । चुनावअघि सार्वजनिक गरेका प्रतिवद्धताहरुलाई व्यवहारमा उतार्नु आफ्नो पहिलो प्राथमिकता रहने भन्दै अध्यक्ष गाहामगरले एनआरएनए यूकेमा बेलायतवासी नेपालीले खोजेको परिवर्तनको चाहनालाई सार्थक पार्ने अठोट व्यक्त गरे । बेलायती राजपरिवारको उदाहरण दिंदै उनले भने, ‘ मैले पनि बेलायतको नेपाली समुदायबाट त्यस्तै भूमिका अपेक्षा गरेको छु । मैले राम्रो गर्दा हौसला, सुधार गर्नुपर्दा सल्लाह र गलत बाटोमा जाँदा खबरदारी गरिदिनुहोस् । तब मात्रै मेरा एजेन्डाहरु पूरा गर्न मलाई सहयोग पुग्नेछ ।’

कार्यक्रमको संचालन नवनिर्वाचित कार्यसमितिका महासचिव खुशी लिम्बूले गरेका थिए ।

कार्यक्रममा गुल्मेली नौमती बाजाका तर्फबाट विशेष प्रस्तुति गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री