युएई । तालिवानले सत्ता कब्जा गरेपछि देश छोडेका अफगानिस्तानका निर्वतमान राष्ट्रपति अशरफ घानीले आफू तालिवानसँग वार्ता गर्न इच्छुक रहेको संकेत गरेका छन् ।
‘अफगानिस्तानमा तीव्र रुपमा घटनाक्रम विकसित भइरहेको छ । समावेशी सरकारबारे म तालिवानसँग वार्ता गर्न चाहन्छु,’ एक भिडियो सन्देशमा घानीले भनेका छन् । आफूले यसअघि पनि तालिवान र आफ्नो प्रशासनका पूर्वअधिकारीहरुबिच भएका वार्ताको स्मरण गरे ।
अफगानिस्तान फर्किन आफू छलफलमा रहेको घानीले बताए । आफूले राष्ट्रपतिको कार्यालयमा खुट्टा राख्ने ठाउँ नपाएपछि सुरक्षाको कारण देश छाडेको उनको प्रष्टीकरण थियो ।
घानीले युएई जाँदा आफूले ठूलो परिणाममा पैसा बोकेर लगेको भन्ने हल्ला ‘पूर्ण रुपमा आधारहीन र झुट’ भएको पनि उल्लेख गरेका छन् । काबुल विमानस्थलबाट फर्किदा घानीले केही थान सुटकेसमा पैसा भरेर लगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुको विवरणमा सार्वजनिक भएको थियो ।
घानीले युनाईटेड अरब इमरेट्स (युएई) मा शरण लिएका छन् । घानी र उनको परिवारलाई मानवीयताको आधारमा स्वागत गरेको युएईको विदेश मन्त्रालयले जनाएको छ । देश छाडेपछि घानीले पहिलोपटक एउटा भिडियो सम्बोधन गरेका छन् । सम्बोधनमा घानीले ठूलो विपदबाट जोगाउन आफूले देश छोड्नु परेको दाबी गरेका छन्
देश छोडेकोमा ७२ वर्षीय घानीको तीब्र आलोचना भइरहेको छ । घानीले हतारमा देश छोडेको भन्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि असन्तुष्टि जनाएका छन् । देश छोडेपछि घानी अब अफगानिस्तानको नेता नभएको अमेरिकी सहायक विदेशमन्त्री विन्डी सेरम्यानले बुधबार बताएका थिए । यद्यपि अहिले पनि अमेरिकाले घानीलाई राष्ट्रपतिकै मान्यता दिएको छ ।