युकेमा मौलिक नेपाली सँस्कृतिको न्यास्रो मेटाउने नेपाली मेला

लण्डन । आइतबार मध्याह्न १२ बजेतिर । लण्डनस्थित केम्टन पार्कमा नौमती बाजा घन्कियो । बाजाको धुनले ६५ वर्षीया सन्ता रानालाई एकछिन् त नेपालको लमजुङमै छु कि जस्तो अनुभव भयो । गाउँमा छँदा बिहेको भोजभतेरमा गएको, कयौं रातको निन्द्रा मारेर सेल पकाउन बसेको, रत्यौली नाँचेको सम्झिएर उनलाई एकछिन भक्कानिएर रोउँ जस्तो लाग्यो । ‘नेपाल छोडेको दश गोडा वर्ष भए, फर्किएर जान पाएको छैन,’ उनले भनिन्, ‘गाउँको न्यास्रो लागिरन्छ ।’
गुरुङ, मगर, किराती, नेवार लगायत विभिन्न जातिय भेषमा सजिएका मानिसहरु, लस्कर पारेर सजाइएका ढाकाटोपी र गहना । कतै दही, मोहीका ठेकी, कतै भर्खरै पकाएको सेलरोटीको वास्ना । यस्ता दृश्यले सन्ता रानालाई गाउँको झल्को मेटिए झैं भयो ।
तमुधिँ युकेले आयोजना गरेको १२ औं नेपाली मेला हेर्न भेला भएका धेरै नेपालीले ‘वीनेपाली’संंग उस्तै अनुभव व्यक्त गरे । मेलामा प्रस्तुत झाँकीमा प्रदर्शित आँसी, खुकुरी अम्खोरा, पिँढीमा ओछ्याएर बस्ने परालको पिरा, सुकुल देख्दा नारायण गुरुङलाई घान्द्रुकको सम्झनाले खुब सतायो । घान्द्रुक छँदा उनी पनि गुरुङ पहिरन कछाड लगाएर मेलापात गर्थे । ‘यहाँ पनि कहिलेकाँही लगाएर बस्छु, आज चाहिँ सबैले लगाएर नाँचेको देख्दा रमाइलो लागेको छ,’ उनले भने, ‘छोराछोरीले पनि देख्न, बुझ्न पाए यो कुरामा झन् बढी आनन्द आइरहेको छ ।’
वर्षमा एकपटक भएपनि परापूर्वदेखि चल्दै आएको परम्परा झल्किने कार्यक्रममा सहभागी हुन पाउँदा उनी निकै खुशी देखिन्थे ।
जडीबुटी कुटेर औषधि बनाउने, मूलको पानीले बिरामी चोख्याउने, भूतप्रेत तर्साउन धामीले धनु बाँड चलाउने । दुःखबिमार परेकालाई शिर उभ्याउने एक खाले किराँती परम्परा झल्काउने झाँकीले ४० वर्षीय दिलबहादुर राई खोटाङस्थित आफू जन्मेहुर्केको गाउँको सम्झनामा एकछिन टोलाए । ‘गाउँमा सन्चो नहुँदा बाजेबज्यैले हामीेलाई त्यस्तै गरिदिनुहुन्थ्यो’, उनले सम्झिए, ‘गाउँ छाडेदेखि चिन्डो र सोलइमा देख्न पाएको पनि आजै हो । कस्तो गाउँ जाउँजाउँ लाग्यो ।’
एक दशकदेखि बेलायतमा बसोबास गरिरहेका उनले नेपालको भाषा, संस्कृति ताजगी गराउने मेलाको खुलेर प्रशंसा गरे ।
अनुहारमा मुकुण्डो, शरीरमा स्याउला झुण्डयाएर आफै ‘भूत’ बनेका मान्छेहरु देख्दा प्रेमा गुरुङको मन पनि एकछिन गाउँतिर फर्कियो । गाउँघरमा महामारी र रोगव्याधीले छुन नपाओस् भनेर वर्षमा दुईपटक मनाईने ट्होटे अर्थात उधौली र उभौली पर्व मनाउँदा चित्र उनको दिमागमा तरोताजा भएर आयो । ‘गाउँमा धूपबत्ती बालेर हामी परम्पारगत कपडाहरु लगाएर हामी हिंड्थ्यौं’, उनले भनिन्,‘टाढा–टाढाबाट दिदी, फूपूहरु आउनुहुन्थ्यो । आज यहाँ आफ्नै जातजाति उही पहिरनमा देख्दा तिनै आफन्तहरु भेटेँझैं लाग्यो ।’
कोरोना महामारी र लकडाउनका कारण एक वर्षसम्म आफन्त र साथीभाई भेट्न नपाएकी उनलाई नेपाली मेलामा आउँदा नेपालमै छु जस्तै लागेको रहेछ ।
बेलायतमै जन्मिएकी, हुर्किएकी १६ वर्षिया अनुषा शाही पनि मेलामा रमिरहेकी थिइन् । नेवार समुदायकी भएपनि अहिलेसम्म नेवारी परम्परागत जात्रा, भोज या कुनै जमघटमा गएको उनको अनुभव छैन । ‘नेपाल गएको छु तर म गएको बेलामा कहिल्यै कुनै जात्रा या पर्व परेन’, उनले भनिन्, ‘गाउँघर देखेँ तर जात्रा, गुफाहरुमा गएको छैन ।’
नेपालमा हरेक वर्ष मनाइने गाइजात्रा कस्तो हुन्छ भनेर पनि उनले बेलायतमै देखेको बताइन् । झाँकीमा देखाइएको गाइजात्रा देख्दा उनलाई नेपालमै गएर यो जात्रा हेरिहालौं जस्तो लाग्यो । ‘आफ्नो संस्कृति, भेषभूषाबारे मलाई धेरै जान्न र बुझ्न मन लागेर आयो’, उनले भनिन्, ‘लण्डनमा जन्मिए पनि मेरो आफ्नो मातृभूमि र पहिचान नेपालमा छ । नेपाल भोग्न त पाएको छैन तर बुझ्नुपर्छ जस्तो लागेर आयो ।’
तमुधिँ युकेले विगत १२ वर्षदेखि बेलायतमा मौलिक नेपाली सँस्कृति झल्काउन हरेक वर्ष नेपाली मेला आयोजना गर्दै आइरहेको छ । सो मेलालाई नेपाली राजदुताबास लण्डन, गैरआवासीय नेपाली संघ युकेलगायत धेरै संघसंस्थाहरुले सहयोग गर्ने गरेका छन् । मेलामा हरेक वर्ष झाँकीतर्फ र नाच तर्फ उत्कृष्ट प्रस्तुति देखाउने टीमलाई नगद पुरस्कार तथा एम्बेसेडर कप प्रदान गरिन्छ ।

सब

प्रतिक्रिया

सम्बन्धित सामाग्री