स्वीण्डनमा हिन्दु मन्दिर तोडफोडको विरुद्धमा प्रदर्शन

लण्डन । बेलायतको स्वीण्डनस्थित चेन्नी मानोरमा रहेको हिन्दु मन्दिरमा अज्ञात व्यक्तिहरुले पटकपटक तोडफोड गरिएपछि सो मन्दिरको सुरक्षाको माग गर्दै सडकमा प्रदर्शन गरिएको छ ।
मन्दिरका संरक्षक प्रदीप भारद्वाजका अनुसार सो मन्दिर अहिलेसम्म पाँच पटक तोडफोड गरी मन्दिरमा रहेका विभिन्न सामानहरुको साथमा नगद समेत चोरिएको छ । स्थानीय सरकारले मन्दिर सुरक्षाका लागि चासो नदेखाएपछि उनीहरुले आइतबार स्वीण्डनमा सडकमा प्रदर्शन गरेका हुन् ।
सो मन्दिरमा प्राय भारतीय मूलका हिन्दु धर्मावलम्बीहरुले पूजाआजा गर्ने भए पनि नेपालीहरु पनि त्यहाँ गएर पूजाआजा गर्ने गर्दछन्। स्वीण्डनको टाउन सेन्टरबाट शुरु भएको जुलुस काउन्सिलको भवन अगाडी गएर कोण सभामा परिणत भएको थियो। सभामा बोल्ने बक्ताहरुले हिन्दु, मुस्लिम, बुद्धिस्ट, ख्रिस्टियन जुनसुकै धर्ममा आस्था राख्ने भए पनि कसैले पनि अरुको आस्था प्रति घात हुने काम गर्नु नहुने बताएका थिए ।
सो जुलुसमा नेपाली एसोसिएसन विल्साएरका अध्यक्ष ज्ञानप्रसाद गुरुङको साथमा केही नेपालीहरुले पनि भाग लिएका थिए । ‘उनीहरुलाई परेको बेलामा हामीले साथ दियो भने हामीलाई परेको बेलामा पनि उनीहरुले साथ दिनेछन्’ अध्यक्ष गुरुङले भने ।
हाम्रो मन्दिरमा बिजुलीको लाइनहरु काटिएको छ, हाम्रो सामानहरु चोरी भएको छ, नगद चोरी भएको छ, हामीलाई सुरक्षा चाहिन्छ, सरकारले यसको क्षतिपूर्ति दिलाउनु पर्छ भन्ने उद्देश्यले सरकारलाई झक्झक्याउन जुलुश आयोजना गरिएको संरक्षक प्रदीप भारद्वाजले बताए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री