किल्ला काँगडामाथि गोर्खा फौजको घेराबन्दी (१८०५-१८०९)
क) काँगडा राज्यका तत्कालीन स्थानीय राजा संसार चन्द अत्यन्त शक्तिशाली राजा थिए । उनी आफ्नो शक्तिशाली तथा विशाल फौजका साथ किल्ला काँगडाभित्र प्रतिरक्षात्मक अवस्थामा थिए । किल्ला काँगडा कुनै साधारण दुर्ग थिएन । अत्यन्त बलियो, अभेद्य, विशाल तथा सुरक्षित दुर्ग एवं किल्ला थियो । सोचे जस्तो सो किल्लामाथि विजय प्राप्त गर्न सजिलो र सम्भव थिएन ।
ख) त्यसै कारणले गर्दा अनुभवी जनरल अमर सिंह थापाले त्यस किल्लामाथि एकैपटक आक्रमण गर्नु भन्दा पनि घेर्ने रणनीति अपनाए । (१८०५–१८०९) किल्लाको कठोर नाकाबन्दी गरेर संसार चन्दलाई आत्मसमर्पण वा स्वेच्छाले किल्ला काँगडा किल्ला छोड्न बाध्य गर्ने प्रयास गरे । छेउ छाउमा साना साना ज्वालामुखी, नुरपूर विसौली, गुलेर, जसवन, दतारपुर, सिवा आदि राज्यहरूले अमर सिंह थापाको आधिपत्य स्वीकार गरिसकेका थिए । तिनीहरू संसार चन्दसँग रुष्ट पनि थिए ।
ग) जनरल अमरसिंह थापा रणनीति सफल हुन थालेको थियो । राजा संसार चन्द आत्मसमर्पणका लागि आफ्नो मनस्थिति बनाउँदै थिए । त्यही बेला राजा संसार चन्द कटोचले पञ्जावका महाराजा रणजीतसँग गुहार गरे । भनिन्छ महाराजा रणजीत सिंहलाई राजा संसार चन्द कटोचसँग कुनै माया थिएन । गोर्खा फौजले काँगडा किल्ला फतह गर्यो भने पञ्जावतिर बढ्न सक्छ भन्ने शंका लाग्यो । साथै काँगडा किल्ला पाउँछ भने लोभ पनि लाग्यो । अतः महाराजा रणजीत सिंह आफ्नो फौजका साथ राजा संसार चन्दलाई सहयोग गर्न तयार भए । सो कुराको जानकारी समयमा अमरसिंह थापालाई भएन ।
घ) भीषण युद्ध शुुरु भयो । एकै पटक, एकै साथ तथा एकै चोटी महाराजा रणजीत सिंहको शक्तिशाली सिखसेना तथा राजा संसार चन्द कटोचको विशाल सेनाको विरुद्ध गोर्खाली फौजलाई युद्ध लड्नु प¥यो । केही इतिहासकारहरूको अनुसार युद्ध निर्णायक भएन । युुद्ध लड्दा लड्दा दुवै पक्षका सैनिकहरू थाकिसकेका थिए । अतः दुवै पक्षका सेनापतिहरूले आ–आपसमा सम्झौता र सहमति गरे ।
ङ) गोर्खाली फौजले किल्ला काँगडाको घेराबन्दी समाप्त गरे । सतलज नदीको किनारमा आएर गोर्खाली फौजले आफ्नो शिविर खडा गरे । केही गोर्खाली सैनिकहरू सिख सेनामा सन्धिको धारा अनुसार स्वेच्छाले भर्ना हुन पुगे । भनिन्छ गोर्खाली सेनाले किल्ला काँगडामाथि यदि विजय प्राप्त गरेको भए गोर्खा राज्यको इतिहास अर्को ढंगले लेखिन्थ्यो ।
मलाऊँको युद्ध (देवथल)
(सन् १८१५ अप्रेल १६ तारिख)
क) बुढा पाकाहरूको भनाइअनुसार बडाकाजी जनरल अमरसिंह थापाको अझ पनि प्रसिद्ध किल्ला काँगडामाथि विजय हासिल गर्ने रहर र चाहना मेटिएको थिएन । उनी सैन्य शक्ति सञ्चय तथा सामरिक तयारीका साथ किल्ला काँगडा माथि पुनः आक्रमण गर्न रणनीति बनाउँदै थिए । त्यसै समयमा ईष्ट इन्डिया कम्पनी सरकारले हिमवत खण्डमा जसरी भएपनि गोर्खाल िसेनाको बढ्दो विस्तारलाई रोक्ने तथा अवरुद्ध गर्ने सामरिक नीति अपनाएका थिए । यसै नीति अन्र्तगत अंग्रेजी फौज पूर्ण तयारीका साथ अघि बढ्दै थियो ।
ख) त्यसबेला गोर्खाली फौजको सबभन्दा बढी शक्तिशाली तथा सुरक्षित गढ.मलाऊँको प्रसिद्ध किल्ला थियो । हालको हिमाञ्चल प्रदेशको सोलन जिल्लामा समुन्द्री तहबाट झण्डै तीन हजार मिटरको उचाँईमा स्थित मलाऊँमा सो शक्तिशाली किल्ला गोर्खाली फौजले निर्माण गरेका थिए । सो किल्लाको गर्बुजाबाट चारैतिर दृष्टि पु¥याउन सकिन्थ्यो । सामरिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण मलाउँ किल्लाको परिसरमा दुईवटा विशाल तोपहरू राखिएको थियो । भनिन्छ ती तोपहरू सन् १८१५ ई.को हाराहारीमा पञ्जाब प्रदेशको जालन्धर शहरबाट हात्तीमा राखेर किल्लाको परिसरमा पु¥याइएको थियो ।
ग) सो किल्लाको चारैतिर शक्तिशाली तथा विशाल पर्खालको निर्माण गोर्खाली फौजले गरेका थिए । आज पनि तत्कालीन गोर्खा राज्यको विशाल तथा शक्तिशाली तोपहरू भारतीय गोर्खा सैनिक म्यूजियममा सुरक्षित राखिएको छ । मलाउँको प्रसिद्ध ब्रिटिश–गोर्खा युद्ध वास्तवमा देउस्थलको रणभूमिमा भएको हो ।
घ) सन् १८१५ ई. अप्रेल १४ तारिखमा अंग्रेज सेनाले देउस्थलमा आफ्नो आधिपत्य स्थापित गरे । त्यसपछि उनीहरू मलाऊँ किल्लामाथि हमला गर्ने तयारी गर्दै थिए । त्यसैबेला गोर्खाली सेनाका सेनानायक ७३ वर्षीय सरदार भक्ति थापाले गोर्खालकिो प्रसिद्ध गढ मलाउँ किल्लालाई जसरी भए पनि सुरक्षित राख्न अठोट गरे । सन् १८१५ ई. १६ अप्रेलमा केही गोर्खालीहरू साथ देउथलमा रहेका अंग्रेजी सेना माथि जाई लागे । स्थानीयहरूको भनाई अनुसार अंग्रेज सरकारको शक्तिशाली एंव विशाल सेनाका हजारौ सैनिकहरूको युद्ध स्थलमा मृत्यु भयो । मुठ्ठीभर गोर्खाली सैनिकहरूले अंग्रेजहरूको विशाल सेनालाई धेरै क्षति पुर्याए । फलस्वरुप विश्वभरी गोर्खाली सैनिकहरूको वीरता एंव शौर्यताको त्यसबेला व्यापक चर्चा परिचर्चा हुन थाल्यो ।
ङ) भनिन्छ, सन् १९१५ ई. १६ अप्रिलमा साँझपख ब्रिटिश सेनाको १६ पोण्डको गोलाको वर्षा गर्ने तोपलाई ध्वस्त तथा नष्ट गर्ने सरदार भक्ति थापा आफैँ अगाडि बढे । त्यही समयमा उनको छातीमा शत्रुको गोली लाग्यो । तैपनि उनले आफ्नो टाउको पगरी फुकालेर छातीमा कसेर बाँधे । बग्दो रगतलाई रोके । अन्तिम समयसम्म शत्रुमाथि प्रहार गर्दै रणस्थलमा वीरगति प्राप्त गरे । उनकै उक्ति हो “कायर हुनु भन्दा मर्नु वेश” ।
च) भनिन्छ सेनानायक वीर सरदार भक्ति थापाले देउस्थलको युद्धमा वीरगति प्राप्त गरे पछि गोर्खाली सैनिकहरू विचलनमा परे । सक्षम नेतृत्वको अभावमा गोर्खाली फौजले अंग्रेज सेनालाई देउथलबाट धपाउन सकेनन् । उता गोर्खाली सेनालाई थप हात हतियार खाद्यान्न एंव सैनिकहरूको आपूर्ति पनि समयमा पुग्न सकेन । भनिन्छ काठमान्डौबाट आउँदै गरेको थप सहायता बाटोमा शत्रु पक्षले रोकी दियो । स्थानीय राजाहरूले पनि अंग्रेज सरकार रिसाउँछ भनेर अमर सिंह थापाको सहयोग गर्न अघि बढ्न रुचाएनन् ।
छ) उता अलमोडाको पतन र गोर्खा सेना नायक बम शाहको आत्मसमर्पणको खबर (१५ मई १८१५) प्राप्त भयो । काठमान्डौले पनि अंग्रेजसँग सन्धि गर भनी सन्देश पठायो । गोली गठ्ठा, हात हतियार तथा सैनिकहरू सख्या पनि गोर्खाली फौजसँग कम थियो । कम्पनी सरकारको अनुभवी तथा चलाख जनरल आक्टरलोनी पनि सकेसम्म गोर्खाली फौजसँग युद्ध गर्नुभन्दा पनि मैत्री सन्धि गर्न लागि परेका थिए ।
ज) भनिन्छ यता जनरल ओक्टर लोनीको सेनाले मलाऊँ किल्लातर्फ तोप गोला हान्ने उता जनरल अमर सिंह थापा समक्ष सन्धि प्रस्ताव पनि पठाउने । अन्त्यमा बाध्यतावश बडाकाजीलाई प्रस्तावित सन्धिमा सन् १८१५ मे महिनामा हस्ताक्षर गर्न प¥यो । स–सम्मान बडाकाजी अमर सिंह थापा तथा उनका सुरक्षा सैनिक नेपाल फर्किए तर केही गोर्खालीहरू मलाऊँन सन्धिको धारा अनुसार ब्रिटिश सरकारले खडा गरेको गोर्खा पल्टनमा स्वेच्छाले भर्ना हुन थाले ।
झ) सन् १८१५ ई. १५ मेदेखि केही गोर्खाली परिवार मलाऊँ, सुपाथु तथा सिमला शहरको छेउछाउमा सपरिवार बसोबास गर्न थाले । आज पनि मलाउँ क्षेत्रमा गोर्खाली बस्ती छ । गोर्खाली भाषा बोल्दछन् । गोर्खा सँस्कृति र परम्पराको पालन गर्दछन् ।
ञ) गोर्खा सैनिकहरूले प्रयोग गरेका हात हतियार अझसम्म स्थानीयहरूको घर परिवारमा देख्न पाइन्छ । त्यहाँको प्रसिद्ध शहर सुपाथु हो । अर्थात गोर्खाली सुब्बाको थुम । गोर्खाली बसाएको सानो शहर थियो । यसरी हिमवत खण्डमा गोर्खालीहरूको बसाई सराईको कथा (बुढापाकाहरूको वार्तामा आधारित) हो ।
ट) सन् १८१५को मलाउँ सन्धि पछि वलदेव विष्टका परिवार देउपल (मलाउँ) बसोबास गर्दै आएका छन् । उनको परिवारका सदस्य श्री अर्जुन सिंह विष्ट हिमाञ्चल राज्यको विधान सभाका सदस्यमा केही वर्ष अघि निर्वाचित पनि भएका थिए । उनी हिमाञ्चल प्रदेशका पहिलो गोर्खाली विधायक भनिन्छ ।
नेपाल सरकारका पूर्व उपसचिव त्रिलोकसिंह थापामगर इतिहास र संस्कृतिका विषयमा लेख्न रुचाउँछन् ।