काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का उपाध्यक्ष एवम् अध्यक्षका उम्मेदवार डा. बद्री केसीले प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन् । उनले मंगलबार पत्रकार सम्मेलन गरी प्रतिवद्धता घोषणा गरेका हुन् ।
केसीले व्यवस्थित र सुरक्षित वैदेशिक रोजगारी, नेपालमा लगानी तथा एनआरएन नेपाल डेभलपमेन्ट फन्ड, संस्थागत पुर्नसंरचना एवं सुदृढीकरण, गैरआवासीय नेपालीका हक हित अधिकार, ज्ञान, सीप र प्रविधिसहितको एनआरएन, एनआरएनए फाउण्डेशन, नेपाल एवं नेपाली पर्यटन प्रवर्धन, युवा, महिला तथा दोस्रो पुस्ता, अन्तर्राष्ट्रिय संघ—संस्थाहरुसँग सहकार्यलाई उच्च प्राथमिकता दिने प्रतिवद्धता जनाएका छन् ।
वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन नेपाल सरकार, गन्तव्य मुलुकस्थित कूटनीतिक नियोग, दूतावास लगायतसँग सहकार्य गर्ने उनले उद्घोष गरेका छन् । वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई अभिमुखीकरण तालिमको सञ्चालन गरिने, विदेशको श्रम बजारमा रहेका श्रमिकहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोष तथा पेन्शन फण्डमा सहभागी गराउन पहल गर्ने डा. केसीले प्रतिवद्धता जनाएका छन् ।
अन्तर्राष्ट्रिय श्रम बजारमा हासिल गरेको ज्ञान, सीप र पुँजीलाई स्वदेशको विकास र समृद्धिका निम्ति उपयोग गर्न सरकारसँग सहकार्य गरि छुट्टै श्रम तथा सीप बैंक स्थापनाका लागि पहल गर्ने उनको तयारी छ सरकारको वैदेशिक रोजगार कल्याणकारी कोषलाई श्रमिकको समस्या समाधानमा प्रभावकारी ढंगले प्रयोग गर्न पैरवी गर्ने उनले उल्लेख गरेका छन् ।
विदेशमा रोजगारी गुमाई नेपाल फर्किएका नेपालीलाई उनीहरुको सीप र क्षमता अनुसार नेपालमै रोजगारीको अवसर दिलाउन नेपाल सरकारसँग समन्वय गर्ने, कोरोना महामारीका कारणल वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका नेपालीको अभिलेख तयार गरी उनीहरूलाई उत्पादनमूलक क्षेत्रमा सहभागी गराउन नेपाल सरकारको सहकार्यमा ‘आफ्नै माटो, स्वावलम्बी बाटो’ अभियान सञ्चालन गर्ने केसीले प्रतिवद्धता जनाएका छन् ।
रोजगारीका सिलसिलामा मध्यपूर्व, मलेसिया लगायत जुनसुकै क्षेत्रमा रहेका महिला कामदारहरूको सुरक्षित, मर्यादित र सम्मानजनक रोजगारीका निम्ति विशेष कूटनीतिक पहलका लागि नेपाल सरकारसँग सहकार्य गर्ने उल्लेख छ ।
वैैदेशिक रोजगारमा जाने नेपालीहरुको न्यूनतम तलब अन्तर्रष्ट्रिय मापदण्ड अनुसार बनाउन नेपाल सरकार र गन्तव्य मुलुकबीच संवादको लागि पहल गर्ने केसीको प्रतिवद्धता छ ।
वैदेशिक रोजगारीका क्रममा रहेका नेपालीले भोग्नुपरेको समस्या समाधान गर्न अन्तर्राष्ट्रिय समन्वय परिषद्ले खडा गरेको कोष थप वृद्धि गरि एनसीसीहरुमार्फत कार्यक्रम सञ्चालन गर्ने केसीको योजना छ । श्रम स्वीकृति नविकरण, बिमा नविकरण तथा श्रम सम्बन्धी अन्य समस्या समाधानका लागि नेपाल आउने बाध्यकारी अवस्थालाई अन्त्य गर्न विदेशमा रहेका नेपाली नियोगमार्फत नै गर्ने प्रबन्ध मिलाउन पहल गरिने प्रतिवद्धता केसीको छ ।
अत्यधिक जोखिमपूर्ण रोजगारीमा जाने व्यक्तिलाई विशेष बिमाको व्यवस्थापन गर्न सरकारसँग नीतिगत रुपमा पहल गर्ने, वैैदेशिक रोजगारीका क्रममा मृत्यु भएका तर कागजी प्रक्रिया नपुगेका नेपालीहरुको अलपत्र शव नेपालमा ल्याउन लाग्ने आर्थिक खर्च नेपाल सरकारले व्यहोर्नुपर्ने नीतिगत व्यवस्था गर्न पहल गरिने, युरोपेली, अमेरिकी ओसेनीया क्षेत्र एवं जापान, हङकङ, दक्षिण कोरिया लगायतका देशसहित नयाँ आकर्षक श्रम गन्तव्यको पहिचान गरी सम्वद्ध देशसँग श्रम सम्झौता गर्न नेपाल सरकारसँग सहकार्य गर्ने केसीले प्रतिवद्धतापत्रम उल्लेख गरेका छन् ।
केसीले नेपालमा लगानी भित्र्याउने उद्देश्यले स्थापना गरिएको एनआरएन नेपाल डेभलपमेन्ट फण्डलाई अघि बढाउने बताएका छन् । हाल १० अर्ब सुरुवाती पूँजी रहेको फण्डलाई आगामी दिनमा थप बृहत बनाइ वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई सो फण्डमा (आइपोओ मार्फत) जोड्ने उनले बताए ।
नेपालमा लगानीको क्षेत्र पहिचान गरि सुरक्षित लगानी प्रवर्धनका लागि नेपाल सरकारको संघदेखि प्रदेश र स्थानीय तहसँग सहकार्य गर्ने, वैदेशिक रोजगारीमा रहेका श्रमिकले पठाएको रेमिट्यान्सलाई उत्पादनमुलक क्षेत्रमा लगानीका लागि प्रोत्साहन गर्नुका साथै लगानीका क्षेत्र पहिचान गर्ने केसीले उल्लेख गरेका छन् ।
गैरआवासीय नेपाली र स्वदेशमा रहेका युवाको नवीन सोच, ज्ञान र उत्साहलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्न एनआरएन नेपाल डेभलपमेन्ट क्षेत्रीय फण्ड र सम्वद्ध वित्तीय निकायबाट लगानीको व्यवस्था गर्ने उनको योजना छ । ‘संयुक्त स्टार्टअप’ कार्यक्रम सञ्चालनका लागि कार्यविधि बनाउने उनले उल्लेख गरेका छन् । गैरआवासीय नेपाली र वैदेशिक लगानी आकर्षित गर्न दोहोरो कर छुट सम्बन्धी सम्झौता गर्न सरकारसँग पहल गर्ने केसीले प्रतिवद्धता जनाएका छन् ।
केसीले संस्थागत पुर्नसंरचना एवं सुदृढीकरण गर्न संशोधित विधानमा ल्याइएका नयाँ प्रस्तावहरु पूर्ण कार्यान्वयनमा ल्याइने जनाएका छन् । हाल ४० प्रतिशतले वृद्धि भएको संघको पञ्जिकृत सदस्यतालाई वृद्धि गर्दै विश्वभर छरिएर रहेका नेपालीलाई एकैसुत्रमा बाँध्ने गरि सदस्यता विस्तार गर्ने उनको लक्ष्य छ ।
सदस्यता, प्रतिनिधि चयनसँग सम्बन्धित तथा निर्वाचनजन्य असहजताहरूलाई सम्बोधन गर्दै स्वतन्त्र, अधिकारसम्पन्न सदस्यता तथा प्रतिनिधि व्यवस्थापन आयोग र न्यायिक आयोग गठन गर्ने आइसीसीको निर्वाचनका प्रतिनिधि छनोटलाई पारदर्शी र थप वैज्ञानिक बनाइनेछ र निर्वाचन पद्दतीलाई पुनरावलोकन गर्ने व्यवस्था मिलाउने जनाइएको छ ।
स्मार्ट एनआरएनए प्रोग्राम सुधार गर्दै पूर्णता दिने, एनसीसीमा देखिएका सदस्यता वितरण र निर्वाचनलाई निष्पक्ष र स्वतन्त्र बनाउन फेस भेरिफिकेसन प्रणालीलाई अनिवार्य बनाइने केसीले उल्लेख गरेका छन् ।
गैरआवासीय नागरिकता लगायतका व्यवस्थालाई कार्यान्वयनमा ल्याउन परिणाममुखी पहल गर्ने, विदेशबाटै मतदान गर्ने व्यवस्था मिलाउनसरकारसँग पहल गर्ने, सम्पत्तिको सुरक्षाका लागि कानूनी व्यवस्था मिलाउन पहल गर्ने उल्लेख गरेका छन् । बेलायत लगायतका विभिन्न देशमा कार्यरत भूपू गोर्खाहरुले उठाउँदै आएको समान पेन्सन र अधिकारको मागलाई पूरा गर्न संस्थागत रुपमा विशेष पहल गर्ने उननले प्रतिवद्धतापत्रमा उल्लेख गरेका छन् ।
एनआरएनए पेशागत तथा प्राज्ञिक इकाइ स्थापना गरी सक्रिय रुपमा सञ्चालन गरिने, ज्ञान तथा विज्ञ सम्मेलनलाई थप प्रभावकारी र सहभागीतामुलक बनाई निरन्तरता दिइने, नेपाल पोलिसी इन्स्टिच्युटलाई दक्षिण एसियाली स्तरको थिंक ट्यांकका रूपमा अघि बढाइनेछ र आगामी वर्ष विशेष सम्मेलनको आयोजना गर्ने उनको योजना छ ।
राष्ट्रिय–अन्तर्राष्ट्रिय दातृ निकाय तथा परोपकारी संस्थाहरूसँग आवधिक कार्ययोजनाका साथ सहकार्य गर्ने उनले जनाएका छन् । सहयोगपूर्ण सहभागिता र योगदान एवं कदर लगायतका विभिन्न स्मिम ल्याउने, फाउन्डेसन सचिवालय सुदृढीकरण तथा अन्तर्राष्ट्रिय कार्यालयको स्थापना गरी एनआरएनए फाउन्डेसन सञ्चालन गर्ने केसीको अठोट छ ।
केसीले नेपाल र नेपालको पर्यटन चिनाउन काम गर्ने बताएका छन् । नेपाललाई अन्तर्राष्ट्रिय समुदायसँग जोड्नका साथै दोस्रो पुस्ताका लागि विशेष प्रोत्साहन प्याकेज ल्याउने उल्लेख गरेका छन् ।
सरकारले पर्यटन गन्तव्यका रुपमा अघि सारेका स्थानमा पर्यटन प्रवर्धनका लागि अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने, कोभिडले थलिएको पर्यटन पुनः स्थापित गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रम गर्ने, विदेशमा नेपाली सामान प्रवद्र्धनका लागि ८५ वटै देशमा गैर–आवासीय नेपालीहरूको सञ्जाललाई प्रयोग गर्ने उल्लेख गरेका छन् । नेपालबाट निर्यात हुने सामानमा विकसित देशहरूले दिने भन्सार छुट सहुलियतलाई अधिकतम सदुपयोग गरी नेपालको निर्यात क्षमता वृद्धि गर्दै व्यापार घाटा न्यूनिकरणमा योगदान पुर्याउने केसीले प्रतिवद्धता जनाएका छन् ।
सो अवसरमा एनआरएनएको आसन्न निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी घोषणा गरेका डा हेमराज शर्मा, यास्मिन बेगम सैयद, डिबी क्षेत्री, धर्मराज अधिकारी, महेश श्रेष्ठ, गौरीराज जोशी, रामशरण सिम्खडा, ओम गुरुङ, टीका गुरुङ, लोक दाहाल, चिरन्जीवी थापा लगायतको परिचय गराइएको थियो ।