बेलायत गोरखा सैनिकहरुको संख्या बढाउन इच्छुक

पत्रकार सम्मेलनमा देउवा

काठमाडौँ । बेलायत गोरखा सैनिकहरुको संख्या बढाउन इच्छुक रहेको पाइएको छ ।

प्रधानमन्त्री देउवाले आफ्नो बेलायत भ्रमणका क्रममा बेलायतका रक्षामन्त्री बेन बालेससँगको छलफलको क्रममा बेलायतले गोरखा फौजको सङ्ख्या बढाउन सकारात्मक रहेको प्रक्रिया दिएको बताएका छन् ।

बेलायतको ग्लास्गोमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा भाग लिएर आज बिहान स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ठ कक्षमा आयोजित पत्रकार सम्मेलनमा उनले सो जानकारी दिएका हुन् ।

उनले गोरखाहरुको पेन्सन वृद्धि तथा समस्याका बारेमा बेलायतका प्रधानमन्त्रीसित पनि कुराकानी भइसकेको बताए ।  “जुन बेलादेखिको गोरखाहरुको तलब बढेको छ, त्यही बेलादेखिको पेन्सन बढ्नुपर्छ भनेर कुराकानी भएको छ । बेलायतका प्रधानमन्त्रीसँगको छलफलमा पनि गोर्खाजको विषयमा सकारात्मक कुराकानी भएको छ”, उनले भने ।

देउवाले बेलायत भ्रमणका क्रममा बेलायती प्रधानमन्त्री बोरिस जोन्सन, रक्षा मन्त्री बेन बालिस लगायत गोरखा भूतपूर्व सैनिक संघका प्रतिनिधिहरुसित पनि भेट गरी गोरखाहरुको समस्याका बारेमा छलफल गरेका थिए ।

भारतसँग कुराकानी ‘राम्रो’ 

पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले कोप सम्मेलनका दौरानमा छिमेकी मुलुक भारतलगायत विभिन्न मुलुकका नेताहरुसँग महत्वपूर्ण विषयमा छलफल भएको जानकारी दिए । उनका अनुसार भारतसँग हवाई रुटका सम्बन्धमा विस्तृत कुराकानी भएको छ । भैरहवाको लुम्बिनीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि ‘एयरस्पेस’ का सम्बन्धमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल भएको छ ।

“गौतमबुद्ध विमानस्थलमा उडान गर्दा भारतको भूमि प्रयोग भएर उडान गर्नुपर्ने भएकाले एयरस्पेसको सम्बन्धमा कुराकानी भएको छ, यो लगायत अन्य विषयमा पनि राम्रो छलफल भएको र नेपालका निम्ति भारतको राम्रो सद्भाव देखिएको छ”, प्रधानमन्त्री देउवाले भने ।

गौतमबुद्ध विमानस्थल शीघ्र सञ्चालनको तयारीमा छ । यो विमानस्थलमा एक महिनाभित्र क्लालिब्रेसन फ्लाइट गरेर त्यसको तीन महिनाभित्रै परीक्षण उडान हुने नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
सम्मेलनकै क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग पनि नेपालको सम्बन्धका बारेमा संक्षिप्त कुराकानी भएको जानकारी प्रधानमन्त्री देउवाले दिए ।

मोदीले छिट्टै नेपाल भ्रमण गर्ने, एमसिसी चाँडै टुङ्ग्याइने 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै नेपालको भ्रमण गर्नुहुने आशा प्रधानमन्त्री देउवाले व्यक्त गरे । उनले भने, “मैले भारतीय प्रधानमन्त्रीलाई तपाईँ नेपाल आउनुस् हामी स्वागत गर्छौँ भनेँ । नेपालका पशुपतिनाथ, मुक्तिनाथ घुम्न मैले आग्रह गरेँ, धार्मिक क्षेत्रहरुको भ्रमण पनि हुन्छ, आउनुस् भनेर मैले भनेको छु र उहाँले आफू नेपाल आउन तयार रहेको बताउनुभयो, मलाई पनि भारत भ्रमणमा आउनुस् भन्नुभएको छ ।”
प्रधानमन्त्री देउवाले अमेरिकी सहयोग परियोजना (एमसिसी)का उपकार्यकारी प्रमुखसँग भएको भेटघाटका क्रममा नेपाल एमसिसीको पक्षमा रहेको र आवश्यक प्रक्रिया पूरा गरेर यसलाई चाँडै टुङगो लगाउने भन्ने विषयमा कुराकानी भएको जानकारी पनि दिए । “उहाँले एमसिसी कहिले पास हुन्छ भन्नुभएको थियो, मैले भने गठबन्धनसमक्ष छलफल गरेर हामी छिट्टै प्रक्रिया पुर्याएर निष्कर्षमा पुग्छौँ भनेको छु । हामीले हस्ताक्षर गरेरै पठाएको भनेको छु यसमा प्रचण्डजीले पनि हस्ताक्षर गर्नुभएको छ, संसद् स्थगन भएको यही कारण होइन अन्य कारणले हो, कतिपय विषयलाई अध्यादेशमार्फत सम्बोधन गर्नुपर्ने भएकाले स्थगन भएको हो”, उनले भने ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री