‘नेपाली हवाइ सेवालाई युरोपमा लगाइएको प्रतिवन्ध फुकुवा गराउँछु’

लण्डन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नो कार्यकालमा आठ वर्षदेखि युरोपले नेपाली वायुसेवामाथि लगाएको प्रतिबन्ध फुकुवा गराएरै छाडने प्रतिवद्धता गरेका छन् ।
गैर–आवासीय नेपाली संघ (एनआरएनए) युकेले बिहीबार आफ्नो कार्यालय अल्डरशटमा गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै पर्यटन मन्त्री आलेले उक्त वाचा गरेका हुन् । युरोपेली आकाशमा नेपाली वायुसेवा उडान भर्न सन् २०१३ देखि अन्तर्राष्ट्रिय उड्डयन संगठन (आइकाओ) ले प्रतिबन्ध लगाउँदै आएको छ ।
मन्त्री आलेले बेलायतको हाउस अफ लर्ड्सकी सांसद्‍ ब्यारोनेस वर्मासँग प्रतिबन्ध फुकुवाकै लागि दुईपटक वार्ता गरिसकेको जनाए । मन्त्री आलेले आगामी शनिबार नेपाल पुगेपछि आइकाओलाई पत्राचार गरी हवाई सेवामा नेपाल गरेका सुधारका बारेमा जानकारी गराउने र भ्रमणका लागि आमन्त्रण गर्ने तयारी रहेको जानकारी दिए ।
‘हामी उनीहरुसँगको निरन्तर संवादबाट छिट्टै नेपाली वायुसेवा निगम माथि लगाइएको प्रतिबन्ध फुकुवा गराईने छ’, मन्त्री आलेले भने, ‘म तपाईहरुलाई विश्वास दिलाउन चाहान्छु । छिटै नेपाली ध्वजावाहक विमानले नेपाल -बेलायत उडान भर्नेछ । तपाई हामी चाँडै भेट्ने छौ ।’
उनले नेपाल जस्तो गरिब मुलुकलाई हवाईजहाज उपलव्ध गराउन समेत सांसद बर्मासँग आग्रह गरेको जानकारी गराए । कार्यक्रममा पर्यटन सचिवसहित अन्तरक्रियामा उपस्थित भएका मन्त्री आलेले एनआरएनएहरुलाई नेपालीमा लगानी गर्न आग्रह गरे । ‘पर्यटन मन्त्रालयसँग विभिन्न ठाउँमा खाली जग्गा रहेकाले लगानी गर्न चाहनेहरुका लागि लिजमा जग्गा उपलव्ध गराउनेछु’, उनले भने ।
दुई महिनाभित्र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा ल्याउने तयारीमा सरकार लागेको आलेको भनाइ थियो ।
नेपालमा आपतविपद् पर्दा सहयोग गर्ने एनआरएनएलाई उनले धन्यवाद समेत दिए ।
एनआरएनए युके प्रेम गाहामगरले बेलायत र नेपाल सीधा हवाइसेवाका लागि संस्थाले पहल गरिरहेको जनाए । ‘सिधा हवाई संचालनले नेपाललाई आर्थिक तथा पर्यटकीय फाइदा हुनेछ’, उनले भने । अध्यक्ष गाहामगरले नेपाल र बेलायतबिच सीधा हवाइसेवा संचालनका लागि ज्ञापन पत्र समेत बुझाएका छन् ।  ज्ञापन पत्रमा विशेषगरी सन् २००० सम्म नेपाल–ब्रिटेन प्रत्यक्ष हवाइ उडान सेवा भएको, तर जहाजको संख्यामा कमी भएपछि तत्कालका लागि उडान स्थगित भएको, तर पछि सन् २०१३ मा आएर युरोपली संघले नै नेपाललाई सुरक्षाका कारण युरोपली आकाशमा उडान अनुमति नदिएको भन्दै नेपाल–ब्रिटेन प्रत्यक्ष हवाइ उडान सेवा पुनः सञ्चालन पहलको लागि नेपाल सरकारलाई निवेदन गरिएको छ ।
अन्तरक्रियामा पर्यटन सचिव यादव कोइराला, एनआरएनए युके संरक्षक शेर सुनार, एनआरएनए उपाध्यक्ष पदका प्रत्यासी थर्क सेनलगायतले मन्तव्य राखेका थिए ।

संयुक्त अधिराज्य बेलायतको लण्डनमा जारी वर्ल्ड ट्राभल मार्केट (डब्लूटीएम) भाग लिन आउका मन्त्री आलेले यूरोपेली संघले नेपाली वायुसेवा कम्पनीलाई सन् २०१३ मा लगाएको प्रतिबन्ध फुकुवाका लागि बेलायती सरकारका तर्फबाट पनि पहल गरिदिन अनुरोध गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री