चितवनमा एमाले महाधिवेशन सुरु, प्रमुख दलका नेताहरुद्वारा शुभकामना 

चितवन । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन चितवनमा सुरु भएको छ ।

नारायणगढस्थित नारायणी नदी किनारमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्नुभएको हो । महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि र विदेशका विभिन्न पार्टीका प्रतिनिधिको समेत उपस्थिति रहेको छ ।

नारायणी नदीको किनारलाई आकर्षक डोभ आकारको स्टेजमा कार्यक्रम सुरु भएको हो । महाधिवेशन उद्घाटनपूर्व स्टेजमा सांस्कृतिक कार्यक्रम र सडकमा झाँकीसहितका र्याली निकालिएको थियो । नदी किनारमा नअटेपछि ठाउँठाउँमा राखिएका डिस्प्ले बोर्ड हेरेर प्रतिनिधि र परिवेक्षकसहित एमालेका नेता कार्यकर्ताले महाधिवेशन हेरी रहेका छन् । महाधिवेशनको सञ्चार माध्यम र सामाजिक सञ्जालबाट प्रत्यक्ष प्रसारणसमेत गरिएका छन् ।

उद्घाटन सत्र हुने स्थल नारायणगढ र भरतपुर क्षेत्रमा एमालेको चुनाव चिह्न सूर्य र कम्युनिष्ट पार्टीको हसिया हथौडा अङ्कित झण्डा र ब्यानर सझाएर बजारलाई झकिझकाउ र सुन्दर बनाइएको छ । यससँगै ५० ठाउँमा आकर्षक स्वागतद्वार बनाइएको छ । उद्घाटन सत्रलाई व्यवस्थित गर्न कार्यक्रमस्थल र बाहिर पाँच हजार स्वयंसेवक परिचालन गरिएको छ ।

पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले उद्घाटन सभामा देशभरबाट पाँच लाखभन्दा बढी एमाले नेता कार्यकर्ता सहभागी हुने बताउनुभएको थियो । ठूलो सङ्ख्यामा मानिसको उपस्थिति हुने भएकाले १३ स्थानमा गाडी पार्किङस्थल बनाइएको छ । मालबाहक सवारी साधनलाई रोकेर अत्यावश्यक र यात्रुबाहक सवारी साधनलाई भने गन्तव्यतर्फ पठाउन वैकल्पिक मार्गसहितको व्यवस्थापन गरिएको छ ।

महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि र १०३ जना परिवेक्षक सहभागी हुने छन् । प्रतिनिधि भूगोल, जनसङ्गठन, विभाग र सम्पर्क कमिटी र प्रवासबाट सहभागी हुँदै छन् । उहाँका अनुसार प्रतिनिधिमध्ये पाँच प्रतिशत अर्थात् १०६ जना मनोनीत गरिएका हुन् । प्रतिनिधिमा २०९ दलित, उत्पीडित र ६२७ महिला रहेको उहाँले जानकारी दिनुभयो । कूल प्रतिनिधि सङ्ख्याको ३० प्रतिशत महिला, १० प्रतिशत हाराहारी दलित, उत्पीडित रहेको उहाँको भनाइ छ । महाधिवेशनमा सल्लाहाकार १५ जनासहित पाका–पुराना १०३ जना पर्यवेक्षक रहनुहुनेछ ।

महाधिवेशनको बन्दसत्र सौराहामा हुँदैछ । मङ्सिर १३ गते पार्टीका प्रतिनिधि र सञ्चारकर्मीको उपस्थितिमा चितवन घोषणापत्र जारी गरेर महाधिवेशन सम्पन्न हुँदैछ । महाधिवेशन सम्पन्न गर्न रु सात करोड ५० लाख खर्च हुने र सो रकम एमालेकै नेता कार्यकर्ताबाट सङ्कलन भएको भट्टराईले जानकारी दिनुभयो ।

देश बनाउन एमालेको एकल बहुमत आवश्यकः अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध मुलुक निर्माणका लागि एमालेले बहुमत ल्याउने गरी जनताका बीचमा जाने बताउनुभएको छ ।

नारायणी नदी किनारमा आयोजित एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा उहाँले आफ्नो नेतृत्वको सरकारले ताजा निर्वाचनमा जान गरेको प्रस्तावलाई त्यसबेला अन्य दलले स्वीकार नगरे पनि अब चाँडै मुलुक निर्वाचनमा जाने भएकाले त्यसको तयारी गर्दै एमालेले बहुमत ल्याउने गरी जनताका बीचमा जाने बताउनुभएको हो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले देशमा समृद्धि, सार्वभौमिकता, लोकतन्त्र र संविधानको रक्षाका लागि एमालेको एकल बहुमत आवश्यक रहेको जिकिर गर्दै देशलाई मिलेर अघि बढाउन एमालेमा सामेल भएर आउन अन्य दलमा रहेका नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । “एमालेले आउँदो फागुनसम्म देशभर पार्टी प्रवेशका व्यापक कार्यक्रम आयोजना गर्नेछ”, उहाँले भन्नुभयो, “एमाले गफ गर्ने पार्टी होइन, देश र जनताका लागि काम गर्ने पार्टी हो ।”

अध्यक्ष ओलीले एमालेले छिमेकी र अन्य मुुलुकसँग पारस्परिक लाभ, आपसी समानता र सार्वभौमिकताका आधारमा सम्बन्ध विकास गर्न चाहेको उल्लेख गर्दै आफू नेतृत्वको सरकारले पृथकतावाद र हिंसात्मक गतिविधिमा संलग्न पक्षहरुलाई शान्तिपूर्ण राजनीतिको मूल प्रवाहमा ल्याएकाले अब कुनै हिंसाको वातावरणको काम नरहेकाले विदेशीहरुले लगानी गर्ने वातावरण रहेको बताउनुभयो ।

 शीर्षनेताको शुभकामना
एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा सहभागी विभिन्न पार्टीका शीर्ष नेताले शुभकामना दिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले देश र जनतासँग जोडिएका मूल मुद्दाहरुमा समान धारणा बनाउन संवाद सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनलाई आज यहाँ सम्बोधन गर्नुहुँदै उहाँले दलहरुबीच नीतिगत विषयमा भएका बिमतिहरुलाई संविधानमार्फत निर्धारण गरेका विधिबाट टुङ्गो लगाउनुपर्ने बताउनुभएको हो । नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले भन्नुभयो, “त्यसलाई हामी सबैले स्वीकार गर्ने पद्धति बसाल्नु पर्दछ । नेपाली कांग्रेस पार्टी यिनै मूल्य मान्यताप्रति प्रतिबद्ध रहेको छ ।”

लोकतान्त्रिक संसदीय शासन, पद्धतिको मर्मअनुसार १०औँ महाधिवेशन आयोजना गर्ने नेकपा एमालेलाई बधाई दिँदै उहाँले महाधिवेशनको पूर्ण सफलताको कामना पनि गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालको लोकतान्त्रिक आन्दोलन विभिन्न उतारचढाव पार गर्दै देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न हामी सफल भएका हौँ ।” सबै मिलेर संविधानसभाबाट नयाँ संविधान बनाएको स्मरण गराउँदै उहाँले यसलाई संस्थागत गर्न जिम्मेवारी सबै दलहरुमा रहेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले नयाँ संविधानमार्फत लोकतन्त्रका मूल्य र मान्यतालाई संस्थागत गर्न यस अभियानमा विभिन्न राजनैतिक दलहरुसँगै नेकपा एमालेले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्नुहुँदै हामीहरुबीच मतभेदहरु रहेको छ र त्यसैका कारण फरक राजनैतिक दलमा आबद्ध भएको बताउनुभयो । उहाँले भन्नुभयो, “लोकतान्त्रिक मूल्यमान्यतालाई जीवन पद्धति बनाउन, कानुनी शासन र जनाधिकार स्थापना गर्न, व्यक्तिगत स्वतन्त्रता र राष्ट्रिय स्वाधीनताको रक्षा गर्न तथा राष्ट्रियतामा जनतालाई सुनिश्चित गर्दै देशलाई समृद्ध बनाउन एवम् समृद्धिको पहुँचमा हरेक नागरिकलाई पु¥याउन हामी सबै पार्टी एक हुनुपर्दछ ।”

एमाले महाधिवेशनलाई सफलताको शुभकामना दिँदै नेकपा (माओवादी केन्द्र) का नेता लीलामणि पोखरेलले नेपालमा कम्युनिष्ट पार्टीको एकता अनिवार्य रहेको बताउनुभयो । उहाँले राष्ट्रिय हित र विकासमा मतभेद हुन नहुने धारणा राख्नुभयो ।

“कम्युनिष्ट आन्दोलनलाई सफलताको शिखरमा पुर्याउन एकता र धु्रवीकरण अपरिहार्य छ”, उहाँले भन्नुभयो, “विचार र कार्यदिशा एकताको आधारशिला हो । एक्लो यात्राले समृद्धि हासिल गर्न कठिन छ ।” राष्ट्रिय हितका विषयमा सबै एकताबद्ध हुनुपर्नेमा उहाँले जोड दिनुभयो । एकता, सङ्घर्ष र सहकार्य निरन्तर चलिरहने प्रक्रिया हो भन्दै नेता पोखरेलले कम्युनिष्ट पार्टीको बीचमा मतभेद र तीक्तता भए पनि सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले संविधानलाई समावेशी र सङ्घीयतालाई अझ प्रभावकारी बनाउनुपर्ने धारणा राख्नुभयो । उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो ।

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेस आन्दोलनसँग जोडिएका माग पूरा गराउन अधिकतम प्रयास गरेकामा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद दिनुभयो । ओलीले मधेस आन्दोलनका दौरान भएका सम्झौता कार्यान्वयन गरेको उहाँको भनाइ थियो ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कम्युनिष्ट पार्टी एकजुटको विकल्प नरहेको बताउनुभयो । उहाँले कम्युनिष्ट एकताले मात्र देश र जनताको हित हुने धरणा राख्नुभयो । देश र जनताका लागि दल एक ढिक्का हुनुको विकल्प नरहेको केसीको भनाइ थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एमालेका अध्यक्ष ओलीले राष्ट्रको हितमा काम गरेर नेपाली जनतालाई गुन लगाएको बताउनुभयो । ओलीले लिपुलेक–लिम्पियाधुरासहितको नयाँ नक्सालाई संस्थागत गरेको उहाँको भनाइ थियो । चीनसँग व्यापार र पारवाहन सम्झौता गर्न सफल भएको अध्यक्ष थापाले बताउनुभयो । उहाँले ओली सरकारले मधेसको पृथकतावादी आन्दोलन र विप्लव समूहलाई शान्तिपूर्ण अभियानमा ल्याएको उल्लेख गर्नुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री