घाँसी जयन्ती कविता प्रतियोगिताका विजेताहरू पुरस्कृत

काठमाडौँ । प्रथम घाँसी खड्ग ठाडा मगर जयन्तीका अवसरमा आयोजित कविता प्रतियोगिताका विजेताहरू पुरस्कृत भएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रमबीच उनीहरू नगद प्रमाणपत्रसहित पुरस्कृत भएका हुन् ।

काठमाडौँको अनामनगरस्थित मण्डला थिएटरमा आयोजित पुरस्कार वितरण समारोह नेपाल आदिवासी जनजाति साहित्यकार/लेखक महासंघका अध्यक्ष एवम् साहित्यकार राजन मुकारुङको प्रमुख आतिथ्यमा सम्पन्न भएको जयन्तीका परिकल्पनाकार आङकाजी शेर्पाले बताए । बुधबार शेर्पाकै सभापतित्वमा भएको कार्यक्रममा विजयी कविहरूले पुरस्कृत कविता समेत वाचन गरेका थिए ।

गत जुलाई १३ तारिखमा नेपाल आदिवासी जनजाति साहित्यकार/लेखक महासंघ, यूके च्याप्टरले प्रतियोगिता आयोजना गरे पनि कोभिड महामारीका कारण पुरस्कार वितरण भने अनुकूल वातावरणको पर्खाइमा केही ढिला गरी भएको कार्यक्रम संयोजक अमित थेवेले बताए ।

यूके र नेपालबाट करिब डेढ दर्जन कविहरू सहभागी भएको प्रतियोगितामा काठमाडौँकी सीता तुम्खेवा प्रथम, धरानकी हेन्सन याक्खा दोस्रो, मोरङका प्रदीप योङहाङ तेस्रो र उदयपुरका टीका टोली मगर सान्तवना भएका थिए । उनीहरूलाई क्रमशः नगद रू १५ हजार, १० हजार, सात हजार र पाँच हजार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । सो अवसरमा प्रतियोगितामा समावेश भएका कविहरूका सिर्जना समेटिएको पुस्तक समेत सार्वजनिक गरिएको परिकल्पनाकार शेर्पाले बताए ।

कविता प्रतियोगिताको निर्णायकहरूमा विश्वासदीप तिगेला, लाहाङ चेम्जोङ र रजनीमाला रजनी रहेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मदन पुरस्कार विजेता समेत रहेका महासंघका अध्यक्ष मुकारुङले घाँसी खड्ग ठाडा मगर समाजको उत्प्रेरक र उत्पीडित दुवैको पात्र भएको बताए । ‘पहिलो कवि भनेर चिनिएका भानुभक्तलाई चिनाउने काम पनि उनले नै गरे । अलिक पछि उनी आदिवासी समुदायकै भएका कारण उत्पीडितको प्रतीक पनि बने,’ उनले भने, ‘भानुभक्तका लागि सिंगो राज्य नै लागेर जयन्ती मनाउँछन् । तर, त्यहीँ छेउमा जन्मिएका घाँसी उपेक्षित छन् ।’ एक फरक प्रसंगमा उनले नेपालमा चाहिनेभन्दा बढी स्रष्टाहरूको शालिक चाहिनेभन्दा बढी संख्यामा जहाँ पायो त्यहीँ साँस्कृतिक अतिक्रमण गरेर बनाइएका कारण आक्रमणको तारो बनेको बताए । ‘बेलायतमा महान् कवि एवम् नाटककार सेक्सपियरको आफ्नो जन्मथलोको घरमा शालिक सीमित छ । जसकारण संसारभरका प्रशंसकहरू आउँछन् र हेर्छन् । हामीकहाँ भने बाक्लो गरी ठाउँका ठाउँ अतिक्रमण गरी शालिक बनाइँदा स्थानीय समुदाय र भूगोल चिढिएका हुन्,’ उनले थपे । मुकारुङले ऐतिहासिक विभेदका विषयमा राज्यविरुद्ध प्रश्न उठाइरहनुपर्ने बताए ।

यसैगरी, परिकल्पनाकार शेर्पाले राज्यले देशको साँस्कृतिक विविधता बुझ्न नसक्दा मातृभाषा साहित्य र साहित्यकारहरू विभेदमा परेको आरोप लगाए । उनले विभिन्न राज्यबाट विभिन्न उपाधि दिइएका कविहरूले राज्यका अन्य भूगोलको साहित्य, सँस्कृति र जनजीवन समेट्न नसकेको समेत बताए ।

कार्यक्रम सञ्चारकर्मी एवम् रेडियोकर्मी मिरान खापुङले सञ्चालन गरेकी थिइन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री