आजदेखि कोभिड टेष्ट नेगेटिभ भएकाले मात्र इङल्याण्ड आउन पाउने

लण्डन । कोभिडको पछिल्लो भेरियन्टको संक्रमणलाई नियन्त्रण गर्न इङल्याण्डमा आजदेखि कोभिड टेष्ट गर्दा नेगेटिभ भेटिएकालाई मात्र प्रवेश गर्न दिन शुरु गरिएको छ ।

आज बिहान ४ बजेदेखि शुरु भएको नयाँ नियमअनुसार इङल्याण्ड आउन चाहने यात्रुले ४८ घण्टाभित्र कोभिड टेष्ट गर्दा कोभिड संक्रमित नभएको प्रमाण पेश गर्नुपर्नेछ ।

यसरी टेष्ट गर्दा पहिले जस्तो पीसीआर मात्र गर्नपर्ने भने छैन । इङल्याण्डले न्यूक्लेइक टेष्ट, एलएएमपी टेष्ट, एन्टीजेन टेष्टलाई पनि मान्यता दिएको छ । जसमा ल्याटरल फ्लो टेष्टसमेत पर्दछ ।

हालसालै कोभिड संक्रमण भएका तर अहिले संक्रामक अवस्थामा नरहेकाहरुलाई ल्याटरल फ्लो टेष्ट गर्न सुझाव दिइएको छ ।

यसरी गरिएको टेष्टको प्रमाण कागज वा डिजिटल दुवै मान्य हुने बताइएको छ तर त्यो अंग्रेजी, फ्रेन्च वा स्पेनिस भाषामा मात्र हुनु पर्नेछ । अनुवादलाई भने मान्यता नदिइने बताइएको छ ।

टेष्ट प्रमाण पत्रमा यात्रुको नाम राहदानीसित मिलेको हुनुपर्नेछ भने जन्म मिति, टेष्टको रिजल्ट, टेष्ट गरेको मिति र टेष्ट गर्ने निकायको नाम, सम्पर्क नम्बर, टेष्ट गर्न अपनाइएको तरिका उल्लेख भएको हुनु पर्नेछ ।

कोभिड नेगेटिभ भएको प्रमाण पेश गर्न नसकेमा त्यस्ता यात्रुलाई ५०० पाउण्ड जरिवाना गर्न हुनसक्नेछ ।

यस्तो टेष्ट ११ वर्ष मुनिकाले भने गर्नु पर्ने छैन । यस्तै जरुरी उपचारका लागि इङल्याण्ड आउनेले पनि यस्तो टेष्ट गर्न पर्ने छैन ।

यस्तै आयरल्याण्ड, उत्तरी आयरल्याण्ड, स्कटल्याण्ड, वेल्स, द आइल अफ म्यान, जर्सी, इथियोपिया, फकल्याण्ड र सेन्ट हेलेनाबाट इङल्याण्ड आउँदा पनि यस्तो टेष्ट गर्न पर्नेछैन ।

यसरी इङल्याण्ड आएका यात्रुले इङल्याण्ड आइपुगेकाे दुई दिन पछि गरिने पीसीआर टेष्ट पनि अग्रीम बुक गर्नुपर्नेछ । रेड लिष्टबाट इङल्याण्ड आइपुगेकाहरुले होटल क्वारेन्टाइनसमेत बुक गर्नुपर्नेछ । इङल्याण्डले ११ वटा मुलुहरुलाई रेड लिष्टमा राखेको छ तर अन्य सूचीमा रहेका मुलुकहरुबाट इङल्याण्ड आउनेले भने आफ्नै घरमा दोस्रो दिनको टेष्ट गराउन सक्नेछन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री