गैरआवासीय नेपालीले नेपाली बैँकमा विदेशी मुद्रामा खाता खोली, ब्याज फिर्ता लान सक्ने

लण्डन । नेपाल सरकारले गैरआवासीय नेपालीहरुलाई नेपाली बैँकहरुमा विदेशी मुद्रामा खाता खोल्न पाउने व्यवस्था गरेको छ ।

साथै यसरी खाता खोली गरिएको लगानीबाट प्राप्त व्याज वा नाफा पनि फिर्ता लैजान सक्ने प्रावधान बनाएको छ ।

यस सम्बन्धमा हालै नेपाल राष्ट्र बैँकले आवश्यक व्यवस्था गरेको र सोको कार्यान्वयनका लागि विदेशस्थित नेपाली नियोगहरुमा पत्राचार भएकोमा लण्डनस्थित नेपाली दुताबासले सो बारेमा आज एक सूचना प्रकाशित गरेको छ ।

सूचना अनुसार गैरआवासीय नेपाली वा गैरआवासीय नेपालीहरुबाट प्रबर्द्धित व्यापारिक प्रतिष्ठानहरुले यसबाट लाभ लिन सक्नेछन् ।

सूचनाको पूर्णपाठ यसप्रकार छ :

गैर आवासीय नेपाली र नेपालीहरुबाट प्रवर्द्धित संस्थाहरुले नेपाली बैंकहरुमा तोकिएबमोजिमका विदेशी मुद्रामा मुद्दति वा वचत खाता खोल्न सक्ने सम्बन्धमा नेपाल राष्ट्र बैंक, विदेशी विनिमय व्यवस्थापन विभागबाट देहायबमोजिमको व्यवस्था भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ ।

मुद्दती निक्षेपसम्बन्धी व्यवस्था
नेपाल राष्ट्र बैकबाट इजाजतपत्रप्राप्त ‘क’ वर्गको बैंकले देहायका शर्तहरु पालना हुने गरी परिवर्त्य विदेशी मुद्रामा मुद्दती निक्षेप संकलन गर्न र परिचालन गर्न सक्नेछन् ।

शर्तहरू
१. विदेशी मुद्रा मुद्दती निक्षेपको अविधि कम्तीमा १ वर्ष हुनुपर्नेछ ।
२. यस प्रकारको खातामा विदेशी संस्थाहरु (वित्तीय संस्थाहरु समेत) तथा गैर आवासीय नेपालीहरु सहभागी हुन सक्नेछन् ।
३. दुई वा दुई भन्दा बढी विदेशी संस्थाहरु वा गैर आवासीय नेपालीहरुको नाममा संयुक्त रुपमा समेत यस प्रकारको खाता खोल्न सकिनेछ ।
४. गैर आवासीय नेपालीको नाममा खाता खोल्दा नेपाल सरकारको सम्बन्धित निकायबाट जारी भएको गैर आवासीय परिचयपत्रको प्रतिलिपि समेत लिनुपर्नेछ । खाता सञ्‍चालनको लागि सो परिचयपत्र नवीकरण भएको हुनुपर्नेछ ।
५. संस्थागत विदेशी निक्षेपकर्ताको हकमा यस प्रकारको खाता खोल्दा संस्थाको सञ्‍चालक समितिले खाता खोल्ने सम्बन्धमा गरेको निर्णय समेत संलग्न गर्नुपर्नेछ ।
६. यस प्रकारको खाता अमेरिकी डलर, यूरो, पाउण्ड स्टर्लिङ, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, जापानिज येन र चिनियाँ युआनमा खोल्न सकिनेछ ।
७. विदेशी मुद्रामा संकलन गर्ने मुद्दती निक्षेपको रकम बैंक तथा वित्तीय संस्थाले विदेशी मुद्रामा लिएको ऋणको रकम समेत गरी आफ्नो प्राथमिक पुँजीको शतप्रतिशतसम्म मात्र संकलन गर्न सक्नेछन् ।
८. मुद्दती निक्षेप खाताको ब्याज प्रदान गर्ने प्रयोजनको लागि मात्र सम्बन्धित मुद्दती निक्षेपकर्ताको नाममा सोही मुद्रामा बचत खाता समेत खोल्न सकिनेछ ।
९. साँवा तथा ब्याजको रकम निक्षेपकर्ताले निक्षेप जम्मा गरेकै मुद्रामा जुन देशबाट निक्षेपको रकम प्राप्त भएको हो सोही देशमा निक्षेपकर्ताको नाममा खोलिएको खातामा मात्र फिर्ता भुक्तानी पठाउनु पर्नेछ । तर विदेशी मुद्रामा खाता खर्च गरी नेपाली रुपैयाँमा भुक्तानी वा रकमान्तर गर्न बाधा पर्ने छैन ।
१०. मुद्दती निक्षेपमा पाकेको ब्याज सम्बन्धित वाणिज्य बैंकको नियमानुसार प्रदान गर्नु पर्नेछ। साँवाको हकमा भुक्तानी अवधि समाप्त भएपछि मात्र फिर्ता गर्नुपर्नेछ । तर, एक वर्षभन्दा बढी अवधिको मुद्दती निक्षेप एक वर्ष अवधि व्यतीत भएपछि निक्षेपकर्ताले Premature गर्न चाहेमा Premature गरी फिर्ता गर्न सकिनेछ ।
११. मुद्दती निक्षेप खातामा बैंकिङ्ग प्रणालीबाट मात्र रकम जम्मा गर्नु पर्नेछ । उक्त रकम फिर्ता गर्नु परेको खण्डमा समेत बैंकिङ्ग प्रणालीमार्फत नै फिर्ता गर्नु पर्नेछ ।
१२. संस्थागत विदेशी निक्षेपकर्ता तथा गैर आवासीय नेपालीहरूबाट न्यूनतम अमेरिकी डलर पाँच हजार वा सो बराबरको (शर्त नं. ६ मा उल्लिखित अन्य मुद्राको समेत) निक्षेप संकलन गर्न सकिनेछ ।
१३. यसरी संकलित विदेशी मुद्रा मुद्दती निक्षेपको नेपाली रुपैयाँमा हुने रकमको शत्‌प्रतिशत रकमसम्म स्वदेशी मुद्रामा कर्जा लगानी गर्न सकिनेछ ।
१४. खाता खोल्दा तथा सञ्‍चालन गर्दा प्रचलित कानुनबमोजिम ग्राहक पहिचान हुने व्यवस्था मिलाउनु पर्नेछ । यसरी खाता खोल्दा तथा ग्राहक पहिचान गर्दा विद्युतीय माध्यमबाट समेत गर्न सकिनेछ ।
१५. मुद्दती निक्षेप खाता सञ्‍चालन सम्बन्धी अन्य कुराहरु तोकिएबमोजिम हुनेछ ।

वचत निक्षेपसम्बन्धी व्यवस्था
यस बैंकबाट इजाजतपत्रप्राप्त ‘क’ वर्गको बैंकले देहायका शर्तहरू पालना हुने गरी परिवर्त्य विदेशी मुद्रामा बचत निक्षेप संकलन गर्न र परिचालन गर्न सक्नेछन् ।
शर्तहरु

१. यस्तो निक्षेप खाता गैरआवासीय नेपाली तथा गैर आवासीय नेपालीबाट प्रवर्द्धित विदेशस्थित संस्थाको मात्र खोल्न र सञ्चालन गर्न सकिने छ ।
२. गैर आवासीय नेपालीको नाममा संयुक्त रुपमा समेत यस प्रकारको खाता खोल्न सकिनेछ ।
३. गैर आवासीय नेपालीको नाममा खाता खोल्दा तथा संचालन गर्दा नेपाल सरकारको सम्बन्धित निकायबाट जारी भएको गैर आवासीय नेपालीको अद्यावधिक परिचयपत्रको प्रतिलिपि लिनुपर्नेछ । गैर आवासीय नेपालीबाट प्रवर्द्धित विदेशस्थित संस्थाको खाता खोल्दा तथा सञ्‍चालन गर्दा नेपाल सरकारको सम्बन्धित निकायबाट जारी भएको गैर आवासीय नेपालीको अद्यावधिक परिचयपत्रको प्रतिलिपि समेत लिनुपर्नेछ ।
४. यस प्रकारको खाता दफा ३ को शर्त नं. ६ मा उल्लिखित परिवर्त्य विदेशी मुद्रामा खोल्न सकिनेछ ।
५. यस प्रकारको खातामा अमेरिकी डलर पाँच हजार वा सो बराबरको उपर्युक्त परिवर्त्य विदेशी मुद्रा न्यूनतम मौज्दात कायम हुनुपर्नेछ ।
६. यस्तो खातामा रहेको निक्षेप फिर्ता गर्नु पर्दा निक्षेपकर्ताले जम्मा गरेको मुद्रा र निक्षेप प्राप्त भएको देश फरक नपर्ने गरी निक्षेपकर्ताको नाममा विदेशमा खोलिएको खातामा फिर्ता पठाउनु पर्नेछ । तर, यस्तो खाता खर्च गरी नेपाली रुपैयाँमा भुक्तानी वा ट्रान्सफर गर्न यस व्यवस्थाले बाधा पर्ने छैन ।
७. यस्तो निक्षेप खातामा बैंकिङ्ग प्रणालीबाट मात्र रकम जम्मा गर्नु पर्नेछ । उक्त रकम फिर्ता गर्नु परेको खण्डमा समेत बैंकिङ्ग प्रणालीमार्फत नै फिर्ता गर्नु पर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री