बेलायतमा ग्याँस, बिजुलीको मूल्य ५४ प्रतिशतले बढ्यो

लण्डन । बेलायतमा बिजुली तथा ग्याँसको मूल्य ५४ प्रतिशतले बढ्ने भएको छ ।
बेलायतको उर्जासम्बन्धी नियामक निकाय अफजेमले विहीबार सार्वजनिक गरेको नयाँ मूल्य सीमा अनुसार बेलायतका उर्जा प्रदायक कम्पनीहरुले आगामी अप्रिल १ देखि ५४ प्रतिशतसम्म मूल्य बढाउन पाउने छन् ।

यसबाट करिब २ करोड २० लाख घर परिवारलाई वर्षको ६९३ पाउण्ड अतिरिक्त भार पर्ने अनुमान गरिएको छ । हाल उनीहरुले वार्षिक १ हजार २७७ पाउण्ड तिर्ने गरेकोमा अब १ हजार ९७१ सम्म तिर्नपर्ने हुनसक्ने अफजेमको आँकलन छ । यस्तै, ग्याँस-बिजुली खपत गर्नुअघि नै बिल तिर्ने करिब ४५ लाख ग्राहकहरुले वर्षको ७०८ पाउण्डसम्म बढी तिर्नपर्ने देखिएको छ । ती ग्राहकहरुले अहिले वर्षको सालाखाला १ हजार ३०९ पाउण्ड तिर्ने गरेकोमा अब वार्षिक २ हजार १७ पाउण्डसम्म तिर्नपर्ने हुनसक्छ ।

अफजेमले अहिले तय गरेको उर्जाको मूल्य अप्रिल १ देखि ६ महिनाका लागि हो । त्यसपछि अक्टोबरमा अर्को मूल्य तोकिने बताइएको छ ।

अफजेमले बितेको ३० वर्षमै उर्जाको थोक मूल्यमा सर्वाधिक वृद्धि भएका कारण मूल्य वृद्धि गर्नु परेको स्पष्टीकरण दिएको छ ।

ग्याँस र बिजुलीको बढ्दो मूल्यबाट आहत नागरिकलाई राहत दिनका लागि बेलायत सरकारले राहत प्याकेज घोषणा गरेको छ । बेलायतका अर्थ मन्त्री ऋषि सुनकले विहीबार हरेक परिवारलाई २०० पाउण्ड बराबरको उर्जाको मूल्यमा सहुलियत दिने घोषणा गरेका छन् तर सो प्याकेज नाम मात्रको हुने प्रारम्भिक संकेत देखिएको छ । उनले संसदमा त्यो सहुलियत प्याकेज अर्को वर्ष सन् २०२३ को अप्रिलदेखि पाँच वर्षसम्म वर्षको ४० पाउण्डको दरले चुक्ता गर्नुपर्ने बताएका छन् ।

उता उनले ब्याण्ड ए देखि डी सम्मका घरहरुलाई वर्षको १५० पाउण्ड बराबरको काउन्सिल ट्याक्स मिनाहा दिने बताएका छन् । यो मिनाहा भने फिर्ता गर्नुपर्ने छैन ।

तर बढ्दो उर्जाको मूल्य, बजार भाउ आदिलाई तुलना गर्दा बेलायत सरकारले ल्याएको राहत प्याकेज नगण्य मात्र देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री