सन् १९९४ तिरको भारतको यात्रा होस् या त सन् २००७ को अफ्रिकी देश इथियोपिया र टोगोको अविस्मरणीय भ्रमण यी यात्राका आ–आफ्नै अनुभव अझै मानसपटलमा ताजै छन् । त्यस्तै सन् २००९ देखि २०१३ सम्मको बेलायतको अध्ययन यात्रा उत्तिकै जीवन्त छ मेरो अविरल यात्राको सम्झनामा । अझ भनौँ सन् २०१५ देखि २०१८ सम्मको न्यूजिल्याण्ड बसाइको अनुभव अत्यन्त जीवनोपयोगी रह्यो । कहिलेकाहीँ छोटो तर क्षणिक स्वर्गीय आनन्द मिल्ने यात्रा सम्झनु पर्दा सन् २०१६ मा आयरल्याण्डको डब्लिन सहरको अन्तर्राष्ट्रिय शैक्षिक महासभाको लागि एक हप्ते भ्रमणको याद आउँछ । त्यस्तै सन् २०१६ मा अष्ट्रेलियाका क्यानबेरा र सिडनीको अन्तर्राष्ट्रिय शैक्षिक महासभाको सिलसिलामा गरेको यात्राको अनुभव उत्तिकै महत्त्वपूर्ण छ । यो कोभिड महामारी सुरु हुनु पहिले जर्मनीको ह्याम्बर्गमा अन्तर्राष्ट्रिय शैक्षिक महासभाको लागि गरेको यात्रा कम्ती महत्त्वको छैन । जीवनमा गरिएका यी केही यात्राका थुप्रै अनुभव अनि मिठास फरक फरक छन् । सबै कुरा एकै झट्कामा मानसपटलबाट लामवद्ध बाहिर निकाल्न र पस्किन गारो छ । यी यात्राका थुप्रै अनुभवमध्ये परदेशीले मलाई अन्जानमै सित्तैमा दिने गरेको एउटा अमूल्य चिज हो ‘मुस्कान’ ।
हुन त विभिन्न देशको परिवेश, संस्कार, धर्म, रीतिरिवाज, मूल्य र मान्यताअनुसार मानिसहरूको फरक फरक सोच विचार हुनु स्वाभाविक हो । एकअर्का आमने सामने हुँदा सामाजिक संस्कार अनुशासन झल्काउने दृश्य भाव सित्तैमा अरुलाई पस्किने भनेकै मुस्कान हो । मेरो यात्रामा भेटिएका थुप्रै अनगिन्ती मित्रहरूले दिएको अमूल्य मुस्कानले मलाई थुप्रै गारो अप्ठेरो अवस्थामा टाइफाइड उपचार गर्दा खाने ठिगुराको जस्तै काम गरेको छ । परिवार अनि देश छोडी बिरानो देशका गल्लीमा पाइला गन्दै बढ्दै गर्दा अन्जान व्यक्तिको मुस्कानले कति महत्त्व राख्यो होला आज बयान गर्न सक्दिनँ । तर कुनै मुस्कान मानवीयता दर्शाउने औपचारिकता मात्रै हुँदैनन् । बरु दाजुभाइ वा आफ्नै आफन्त जस्तै सम्झेर पस्किने मायाको सहृदयी भावना हुने गर्छन् । त्यस्तै एउटा अनुभव यहाँ पस्किन्छु । न्यूजिल्याण्डको मेरो करिब तीन र आधा वर्षको बसाइमा प्राय हरेक दिन कहीँ न कहीँ बाटो, पसल र काममा भेटिने अनि सित्तैमा प्राप्त हुने मुस्कान खास थियो । जसले मलाई सधैँ एकान्तमा पनि एक्लै मुस्कुराउन बाध्य बनाउथ्यो । हुन त न्यूजिल्याण्ड यस्तो देश हो जहाँ संसारका मानिसहरू यात्रा र बसोबास गर्ने गर्छन् । यसर्थ यो बहुराष्ट्रिय संस्कार संस्कृतिले भरिएको देश हो । मेरो लागि फिलिपिन्सका मनुवाहरू औधी आफ्नै लाग्छ । न्यूजिल्याण्डमा आप्रवासी जनसङ्ख्यामध्ये फिलिपिनोकै आधिक्य छ । किन हो किन उनीहरूले मलाई सधैँ भेट्दा देख्दा बाटोमा अचम्मैको मुस्कान दिन्थे । अनि मैले दुई गुणा मुस्कान थपिदिन्थेँ । बाटोको पल्लो किनारबाटै मुस्कान पठाउँथे अनि मैले अरु थपिदिन्थेँ । मलाई यो मुस्कान बुझ्न धेरै समय लाग्यो । सुपरमार्केटको भिड नै किन नहोस् गाडी हाँकिरहेको बेला रातो ट्राफिक बत्तीमा कार रोक्दा नजिकै जुध्ने फिलिपिनो अनुहारले सधैँ तिखो मुस्कान दिने गर्दथ्यो । यो मजा सायदै अरु व्यक्तिले पाए होलान् । यो क्रम महिना अनि वर्ष चलिरह्यो । यही क्रममा मैले अन्य नेपाली मित्रहरूलाई सोध्ने गर्थें तर खाँटी जवाफ प्राप्त गर्न सकेको थिएन । म मुस्कानमा रमिरहेको थिएँ ।
मेरो कार्यथलोमा थुप्रै फिलिपिनो साथी थिए । उनीहरूसँग काम गर्दा अलि अलि तगालोग भाषा सिक्ने अवसर मिलेको थियो । अझै याद छन् केही शब्द जस्तै : पोगी (सुन्दर), मगन्दा (सुन्दरी), पाङ्गेत (कुरुप), माबुहाए (नमस्ते), सलामत (धन्यवाद/राम्रो होस्/फेरि भेटौँला) । उनीहरूसँग जिस्किने रमाउने गर्दा लाग्थ्यो उनीहरू मेरै समाज गाउँ ठाउँका हुन् । यस्तै क्रममा नजिकै आफ्नै लाग्ने फिलिपिनो मित्रसँग कुनै बेला सोधेको थिएँ : “किन फिलिपिनोहरूले मलाई देख्ने बित्तिकै नजिक वा टाढै बाट मुस्कान दिन्छन् ?” यिनले निकै जोडले हाँस्दै रोकिँदै अनि हाँस्दै मलाई अचम्मले हेर्दै केहीबेरमा बढो मीठो जवाफ दिए : “किनकि तिमी फिलिपिनो जस्तै छौ । अनुहार, जिउडाल उस्तै छ । त्यसैले उनीहरूले तिमीलाई आफ्नै देश र समाजको सम्झेर भेट्दा देख्दा अभिवादन गर्छन् । त्यो हाम्रो संस्कार हो ।” अनि मेरो लामो खुल्दुली मेटियो । त्यसपछि झन् उनीहरू प्रति मेरो माया सद्भाव निकै बढ्यो । अनि मैले पनि देख्दा भेट्दा “माबुहाए” भन्ने गर्थें अनि उनीहरू नि खुसी हुन्थे । यो मुस्कान केवल मानवीय नाता जोड्ने भावना मात्रै थिएन । यो मुस्कान हाम्रो समान शारीरिक रूप अनि उस्तै संस्कार दर्शाउने अति अमूल्य चिनारी थियो । हाम्रो नेपाली समाज यस्तै अमूल्य मुस्कानले जोडिएको बनेको समाज हो । विशेषगरी आदिवासी नेपाली विभिन्न नाचगानमा रोइला गर्दै दुःखसुख बराबरी साटासाट गर्दै जिउने समाजको रूपमा चिनिन्छ । सायद मेरो यो संस्कार फिलिपिनो समाजसँग पक्कै मिलेको हुनुपर्छ र अनि हाम्रो हेराइ र मुस्कानमा आफ्नोपन भेटिएको हुनुपर्छ । उनीहरू समूहमा भोज गर्न, यात्रा गर्न, पिउन, नाच्न अनि रमाउन निकै पारखी हुन्छन् । यो विशेषगरी नेपाली आदिवासी सम्माजसँग अत्यन्त मिल्दोजुल्दो देखिन्छ ।
यो मेरो जीवनको कुनै क्षणको अनुभव मात्र नभई जीवनोपयोगी शिक्षा पनि हो । हुन त मेरो यात्रा बसाइ अन्य देश परिवेसमा पनि उत्तिकै महत्वपूर्ण अर्थपूर्ण थियो तर सित्तैको मुस्कान जो कोहिले अरुलाई दिने गरेको पाइँदैन । यो मेरो अनुभव हो । त्यो विशेष मुस्कान “फिलिपिनो मुस्कान” जसले मेरो अनन्य यात्रामा मूल्य थपेको थियो र सधैं मेरो मानसपटलमा ताजै रहनेछ । केहि फिलिपिनोको मुस्कानले मेरो नजरमा पूरै फिलिपिन्स समाज र देश प्रति सकारात्मक र प्रेम भावना जगायो । त्यसैले म एक व्यक्ति मात्र होइन यात्रामा “म” पूरै नेपाल देश हो । मेरो एक मुस्कानले मेरो देश र समाजको झलक दर्शाउने गर्दछ । “मुस्कान दिउँ पहिचान बनाउँ” ।
(उप–प्राध्यापक, नेपाल खुला विश्वविद्यालय, नेपाल)