वृद्ध गोरखा सैनिकहरुलाई मद्दत गर्ने तामाङलाई हिलिङडन काउन्सिलको अवार्ड

लण्डन । हिलिङडन काउन्सिलले आफ्नो काउन्सिलभित्र बसोबास गर्ने नागरिकहरुलाई असाधारण सहयोग गर्ने २५ जना ‘स्थानीय नायक’हरुलाई यस वर्षको कम्युनिटी अवार्डले पुरस्कृत गरेको छ र जसमा वयोवृद्ध गोरखाहरुलाई मद्दत गर्ने द गोरखा सेन्टरका भीम तामाङ पनि परेका छन् ।

उनले ‘हेल्पिङ कम्युनिटिज अवार्ड’ विधामा ‘सिल्भर’ अवार्ड जितेका छन् । उनले हिलिङडन र वेष्ट लण्डनमा बसोबास गरिरहेका गोरखा सैनिकहरुलाई विनिफिट दाबी गर्न, पेन्सन पाउन, अंग्रेजी सिक्न र स्वास्थ्य सेवामा पहुँच राख्न सहयोग गरेकोमा सो अवार्ड दिइएको काउन्सिलले उल्लेख गरेको छ ।

सन् २०१९ देखि द गोरखा सेन्टर नामक गैरनाफामूलक संस्था खोलेर वयोवृद्ध गोरखाहरुको जीवनलाई सहज बनाउन सहयोग गरिरहेका तामाङ भने आफूले अवार्ड पाउनका लागि काम नगरेको बताउँछन् । ‘अवार्डको अनादर गरेको आरोप पनि लाग्न सक्ला तर मलाई भने यस्ता अवार्डले होइन गोरखा वृद्धवृद्धाहरुले भोगेको दु:ख, कष्ट देखेर काम गर्ने उत्साह आउँछ’, उनले भने ।

क्वीन्स गोरखा सिग्नलका पूर्व सैनिक तामाङले करिब एक दशक बेलायती सैन्य सेवामा बिताए । त्यसपछि स‌ंयुक्त राष्ट्र संघको मातहतमा अफगानिस्तानमा काम गरे । करिब तीन वर्षपछि बेलायत फर्केर उनले नेपाली भाषाको अनुवादकको काम गरे । त्यसक्रममा बेलायतका विभिन्न भागमा पुगे । केही समय आर्म्ड फोर्सेस च्यारिटी (साफा)मा पनि काम गरे । यसरी काम गर्दा उनले वृद्धवृद्धा गोरखाहरुको अवस्था र समस्या भित्रैदेखि बुझे । यस्तो जटिल समस्या देख्दा उनको मन अमिलो भयो । यी समस्या समाधानका लागि त्यतिबेला सक्रिय गोरखा सैनिकसम्वद्ध र नेपालीका संघ संस्थाहरुसित आग्रह पनि गरे तर उनीहरुबाट समस्या पार लाग्ने देखेनन् । त्यसपछि शुरु गरे आफ्नै संस्था -द गोरखा सेन्टर ।

अहिले हेजमा कार्यालय रहेको गोरखा सेन्टरमा आंशिक र पूर्णकालिन गरी चार जना कर्मचारी छन् । यस सेन्टरबाट उनले पश्चिम लण्डनमा रहेका गोरखाहरुलाई विनिफिट दाबी गरिदिन, पेन्सन क्रेडिट आवेदन गर्न, अंग्रेजी सिकाउन, अस्पताल/जीपीमा अपोइन्टमेण्ट लिन सिकाउन, शारीरिक तन्दुरुस्ती राख्न सघाउँछ । आइतबार साँझ करिब साढे छ बजे उनलाई सम्पर्क गर्दा पनि उनी कार्यालयमै भेटिए । उनी भन्छन्, ‘ गोरखाहरुको समस्या यति धेरै छन् । हरेक दिन नयाँ नयाँ समस्याहरु आउँछन् ।’

अहिले उनले विभिन्न दाताहरुबाट केही कोष जुटाएका छन् । उनको सपना छ गोरखा सेन्टरलाई नमूना संस्था बनाउने । पाँचजना जति पूर्णकालिन कर्मचारीहरुबाट सेवा पुर्याउने ।

पेशाले सोसल वर्कर तामाङ आफैँ भने सेन्टरबाट तलब लिँदैनन् । उनी भन्छन्, ‘पैसा कहिल्यै मेरो प्राथमिकतामा परेन । कहिले महिनाको ६/७ हजार पाउण्ड तलब पनि थापियो । ब्राण्डेड सामान पनि लगाइयो । अहिले पैसा जोगाउन दुई रङ (रङ खुइलिएर सस्तोमा बेचिएको)को जुत्ता, डेढ पाउण्डको प्राइमार्कको टीसर्ट पनि लगाइरहेको छु ।’

वृद्धावस्थाका गोरखाहरुलाई सेवा गर्न शुरु गर्दा कति रात अनिँदाे बस्नु परेको, कति छाक खाना खान नपाएको मात्र होइन ऋण समेत लागेको उनको अनुभव छ । गोरखाहरुको लागि काउन्सिलमा धाउँदाधाउँदा उनलाई लाग्यो आफूलाई अझै तिखार्नुपर्ने रहेछ । त्यसैले आफ्नो रुचि राजनीतिमा हुँदाहुँदै र आफ्नो बैँक खातामा ७ पाउण्ड वचत रहेको अवस्थामा पनि उनले सोसल वर्कमा मास्टर्स गर्न तम्सिए । पनि उनले विश्वविद्यालय वर्सरी पनि पाए तर त्यो वर्सरी उनले आफ्नो लागि होइन गोरखा वृद्धवृद्धाका लागि लगाए ।

अहिले व्यावसायिक सोसल वर्कर भएर काम गरिरहँदा उनी बेलायतमा रहेका नेपाली समुदायमा भविष्यमा विकराल समस्या आउँदै गरेको देख्छन् । के हो त त्यो समस्या ? उनी भन्छन्, ‘नेपाली समाजमा वृद्ध बाउआमालाई छोराछोरीले हेर्नुपर्छ भन्ने मान्यता छ । तर बेलायतमा छोराछोरीले काम पनि गर्ने आमाबाउलाई हेरचाह गर्न सक्छन् त ? अवश्य सक्दैनन् । उता बाउआमालाई वृद्ध भएपछि छोराछोरीले हेरेन भन्ने सोच आउन सक्छ । यसका लागि अहिलेसम्म कोही तयार भएको देखिएन ।’

हुन त बेलायतमा वृद्धवृद्धालाई राम्रो सुविधासहितको केयर होमहरु सरकारी र निजी तवरबाट नै संचालित छन् तर नेपाली समाजभित्र छोराछोरी हुँदाहुँदै आमाबाउलाई केयर होममा पठायो भने छोराछोरीलाई कस्तो दृष्टिकोणले हेरिएला अथवा केयर होममा जाने बाउआमाको मनमा कस्तो भाव उत्पन्न होला ? त्यसका लागि सोच्न पर्ने बेला आइसकेको उनी देख्छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री