राजदुत रिचर्ड मोरिसको मृत्युको कारण के थियो ?

लण्डन । नेपालका लागि बेलायतका पूर्व राजदुत रिचर्ड मोरिसको मृत शरीर सन् २०२० को अगष्ट ३१ मा दक्षिण पश्चिमी बेलायतको ज‌ंगलमा फेला पर्यो । बेलायतको कानुनअनुसार उनको मृत्यु कसरी भएको थियो भन्ने बारेमा अदालतमा ढिलो गरी इन्क्वेष्ट (मृत्यु सम्बन्धी सोधपुछ) शुरु भएको छ ।

कोभिड महामारीका कारण करिब डेढ वर्षपछि विन्चेष्टर अदालतमा भएको सुनुवाईमा उनकी श्रीमती एलिस मोरिसले सोङ्गबार मृत्यु अघि मोरिस असाध्यै कामको तनावमा रहेको बताएकी छिन् ।

नेपालबाट बेलायत फर्केपछि उनलाई एक अमेरिकी कुटनीतिज्ञको कारद्वारा मारिएका बेलायती किशोर ह्यारी डनको मुद्दाको जिम्मा दिइएको थियो । सो मुद्दामा मिडियाको अत्यन्तै चासो थियो साथै परिवारमा पीडा पनि।

कोभिड महामारी शुरु भएपछि उनले कोभिड टास्कफोर्सको जिम्मा पाएका थिए । जसलाई उनकी श्रीमती एलिसले मोरिसले पाएको ‘जीवनभरकै तनावपूर्ण कार्य’ भनेकी छिन्। किनभने अत्यन्तै कम समयमा मन्त्रीहरुलाई रिपोर्ट गरिरहनुपर्दथ्यो । लामो समय काम गर्नु त छँदै थियो ।

मोरिस आफूले पाएका सूचनाहरुलाई प्रमाणित गर्न पर्याप्त समय नहुने र केही गल्ती भइहालेमा प्रेसले सरकारमाथि नै प्रहार गर्नसक्ने प्रति त्रसित भएको पनि एलिसले कोरोनरलाई बताइन् । कामका कारण उनीसित विरलै समय मिल्ने गरेको पनि एलिसले बताइन् ।

मोरिस सधैँ मिडियाबाट टाढै बस्न रुचाउने र मिडियाले पुर्याउन सक्ने क्षतिका बारेमा सदैव त्रसित रहने गरेको पनि एलिसले बताइन् ।

मोरिस सन् २०२० को मे ६ तारिखदेखि सम्पर्कविहीन भएका थिए ।

उनको मृत्युको कारण सम्बन्धी सुनुवाई जारी छ ।

उनको मृत्युको खास कारण पत्ता लगाउन सुनुवाईको अन्तिमसम्म पर्खन पर्नेभएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री