बीसीसी युकेको साधारणसभा सम्पन्न


लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेको साधारणसभा सम्पन्न भएको छ ।

गत शनिबार २६ फेब्रुअरीका दिन बिसीसी युकेको अल्डरसटस्थित गुम्बामा सम्पन्न भएको हो ।
उक्त कार्यक्रमको शुरुवातमा गुम्बाका धर्म गुरु टुल्कु घ्युरमिद् कुन्जाङ्ग, खेन्पो कुन्ख्याप र खेन्पो थुब्तेनले प्रार्थना गरेका थिए ।
कार्यक्रममा बीसीसी युकेका अध्यक्ष धर्म तामाङ्गले वार्षिक साधारणसभाका बारे संक्षिप्त जानकारी गराउँदै सबै सहभागीहरुलाई स्वागत गरेका थिए । उनले बितेको एक बर्ष कोरोना महामारीकाबीच पनि आ–आफ्नो क्षेत्रबाट गरेको सहयोग, सद्भाव र योगदानका लागि धन्यवाद ज्ञापन गरे ।
त्यस्तै, संस्थाका महासचिव क्याप्टेन देव घलेले कार्यसमितिले एक वर्ष भित्र गरेका विभिन्न कार्यको जानकारीसहित वार्षिक प्रतिवेदन प्रस्तुत् गरेका थिए । त्यस्तै, कोषाध्यक्ष मेजर हितमान गुरुङले विगत एक वर्षमा संस्थाको आम्दानी तथा खर्च बारे जानकारी गराउँदै आर्थिक प्रतिवेदन प्रस्तुत् गरे ।
उक्त साधारणसभाले महासचिव क्याप्टेन घले र कोषाध्यक्ष मेजर गुरुङले प्रस्तुत् गरेको प्रतिवेदनमाथि व्यापकरुपमा छलफल गरेको थियो । सो सभाले बीसीसी युकेका सल्लाहकार मेजर खुसीमान गुरुङलाई बीसीसी युकेको प्रमुख सल्लाहकार तथा बोर्ड अफ ट्रष्टीजको प्रमुखमा चयन गरेको छ ।
सो अवसरमा बीसीसी युकेका संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पाले संस्थाको लक्ष्य तथा उद्देश्यबारे स्मरण गर्दै संस्थाले गर्नुपर्ने प्रमुख कार्यहरुको चर्चा गरेका थिए । त्यस्तै,  प्रमुख सल्लाहकार मेजर खुसीमान गुरुङ, आमा समूहकी प्रमुख उर्मिला गुरुङ, आमा समूहकी संस्थापक अध्यक्ष ज्ञानुमाया गुरुङ लगायतले बीसीसी युकेले गरेका विभिन्न कार्य र गर्नुपर्ने कार्यहरुबारे जानकारी गराएका थिए ।
कार्यक्रममा उपाध्यक्ष रोविन गुरुङले वेभसाईट र सामाजिक संजाल (फेसबुक) बारे अपडेट गराएका थिए भने बीसीसी लण्डन शाखा अध्यक्ष गोपाल तामाङ्गले लण्डन शाखाले गर्दै आएको विभिन्न कार्यहरुबारे जानकारी गराएका थिए । त्यस्तै, बीसीसी आमा समूहकी सचिव शारदा गुरुङले गुम्बाको दैनिक कार्य संचालनबारे जानकारी गराएकी थिईन् ।
बिशेष परिस्थितिका कारण संस्थाका केही सदस्यहरुले जुम प्रविधिमार्फत साधारणसभामा सहभागी भएका थिए । सो साधारणसभाको अन्त्यमा बीसीसी युकेका उपाध्यक्ष हर्क गुरुङले प्रोजेक्ट कोर्डिनेटरको हैसियतले बीसीसी युकेले संचालन गर्दै आएका विभिन्न परियोजना (प्रोजेक्ट) हरुबारे जानकारी गराउँदै सबै सहभागीहरुलाई धन्यवाद ज्ञापन गरे ।
अध्यक्ष धर्म तामाङ्गको अध्यक्षतामा सम्पन्न भएको साधारणसभालाई महासचिव क्याप्टेन देव घलेले कार्यक्रम संचालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री