स्कटल्याण्डमा मार्च २० मा जनगणना, जातिय प्रश्नमा ‘नेपाली’ लेख्न पाइने

लण्डन । बेलायतको स्कटल्याण्ड राज्यमा यही मार्च २० मा जनगणना हुँदैछ । बेलायतका चार राज्यमा सधैँ एकैपटक जनगणना हुने गरे पनि कोरोना महामारीका कारण स्कटल्याण्डमा यस वर्ष मात्र जनगणना हुन लागेको हो । बाँकी चार राज्यमा गत वर्ष नै जनगणना भइसकेको छ । मार्च २० लाई जनगणना दिन भनिए पनि फेब्रुअरी २८ देखि नै जनगणना गर्न सकिने बताइएको छ ।

स्कटल्याण्डमा पनि बेलायतका अन्य राज्यहरुमा जस्तै अनलाइनबाट वा कागजको फाराम घरमै मगाएर जनगणनामा भाग लिन सकिने छ ।

स्कटल्याण्डको जनगणनामा पनि नेपाली मूलका मानिसहरुलाई विभिन्न प्रश्नमा नेपाली लेख्ने सुविधा दिइएको छ ।

अनलाइनबाट फाराम भर्दा जन्मदेशसम्बन्धी प्रश्नमा ‘इल्सह्वेर’ छानि ड्रपडाउन मेनुबाट ‘नेपाल’ छान्न सकिने छ । यस्तै, मुख्य भाषाको प्रश्नमा पनि ड्रप डाउन मेनुबाट ‘नेपाली’ रोज्न सकिने छ । कहाँको राहदानी बोक्नुहुन्छ भन्ने प्रश्नमा पनि ‘नेपलिज’ छनौट गर्ने अवसर दिइएको छ । त्यस्तै, न्याशनल आइडेण्टिटी सम्बन्धी प्रश्नमा पनि ‘नेपलिज’ छान्न सकिने छ । कसैले ‘गोरखा’ राख्न चाहेमा त्यसलाई पनि रोज्न सकिने छ ।

तिम्रो इथ्निक समूह के हो भन्ने प्रश्नमा एसिएन, स्कटिस एसिएन, ब्रिटिश एसिएन छानेर त्यसभित्र ‘अदर’ छाने पछि ‘नेपलिज’ छान्न पाइन्छ । यस्तै, कसैले ‘गोरखा’ लेख्न चाहेमा त्यो पनि रोज्न सकिन्छ ।

यस्तै, कागजको प्रश्नावलीमा प्रश्न नम्बर ९ मा तिम्रो जन्मदेश कहाँ हो भन्ने प्रश्न छ भने प्रश्न नम्बर १६ मा तिम्रो मुख्य भाषा के हो भन्ने प्रश्न छ । प्रश्न नम्बर २२ मा तिमीलाई आफ्न राष्ट्रिय पहिचान के हो जस्तो लाग्छ भन्ने प्रश्न छ भने प्रश्न नम्बर २३ मा तिम्रो जातीय समूह के हो भन्ने प्रश्न छ ।

कागजको प्रश्नावली भर्नेहरुले नेपाली लेख्न चाहेमा खाली बाकसमा लेख्नुपर्ने हुन्छ ।

आबरडिनमा बसोबास गर्दै आउनुभएका अधिवक्ता विदुर खत्री स्कटल्याण्डको जनगणनामा नेपाल र नेपाली छनौट गर्ने सुविधा दिइएकोमा खुशी व्यक्त गर्छन् । गैरआवासीय नेपाली संघ स्कटल्याण्ड राज्य समितिका पूर्व सदस्यसमेत रहेका खत्री स्कटल्याण्डबासी नेपालीहरुलाई जनगणनामा नछुट्न अपील गर्छन् ।

इङल्याण्डको जनगणनामा गत वर्ष निकै चर्चा परिचर्चा भए पनि स्कटल्याण्डको जनगणनाका बारेमा भने नेपालीमाझ त्यति प्रचार भएको देखिँदैन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री