काठमाडौँ । नेपाली पत्रकारहरू समाचार, आलेख, अन्तर्वार्ता मात्र तयार गर्दैनन्, साहित्यका साथै संस्मरणात्मक लेखन र आफ्ना अखबारी लेखन सङ्ग्रह गरी पुस्तकको रूप दिँदै लेखकका पनि परिचित हुँदै छन् । पत्रकार तथा साहित्यिक पत्रकारका रूपमा परिचित मदनमणि दीक्षित, वासु रिमाल यात्री, लीलासिंह कर्मा, दुर्लभलाल सिंह, हरि अधिकारी, ध्रुवहरि अधिकारी, किशोर नेपाल, पुरुषोत्तम दाहाल, प्रमोद प्रधान, श्रीरामसिंह बस्नेत, डा देवी दुलाल, नारायण वाग्ले, विष्णु निष्ठुरी, सुधिर शर्मा, बबिता बस्नेत आदि केही साहित्यिक हस्ताक्षर वा लेखक पनि हुनुहुन्छ, हुनुहुन्थ्यो । पन्नालाल गुप्ता चाचाजी, चन्द्रलाल झा, पद्मरत्न तुलाधर, पुष्करलाल श्रेष्ठ आदिको जीवनी, लेखसङ्ग्रह र वृत्तचित्र पनि अन्य व्यक्तिमार्फत प्रकाशनमा आएका छन् । समाचार वा आलेख समाचारमा समेट्न नसकेका विषयलाई निबन्धात्मक वा संस्मरणात्मक रूप दिँदा ती पत्रकारहरूलाई अझै सन्तुष्टि मिल्दो हो वा मिल्थ्यो । भारतमै पत्रकार खुशवन्त सिंह चर्चित लेखकका रूपमा गनिएका थिए ।
पछिल्लो कालमा राज्यको आधिकारिक समाचार समिति ‘राष्ट्रिय समाचार समिति’का पूर्वप्रधानसम्पादक र पछि ‘अन्नपूर्ण’ दैनिकका नायब प्रधानसम्पादक खिलध्वज थापा अहिले ‘एक पत्रकारको बकपत्र’ शीर्षक संस्मरणात्मक पुस्तक प्रकाशन गराई सिङ्गो कृति लेखकका रूपमा देखापर्नुभएको छ । यसअघि साहित्यिक पत्रिका ‘चित्कार’, ‘प्रकम्पन’, ‘सगरमाथा सन्देश’, ‘तलास’ र ‘लाफा’को पनि सम्पादन गर्नुभएका साहित्यिक पत्रकार थापा कुनै बेला सल्मान रुस्दीको चर्चित कृति ‘सटानिक भर्सेस’(सैतानका श्लोकहरू)को अनुवाद गरेर पनि चर्चामा आउनुभएको थियो ।
प्रस्तुत कृतिमा लेखकले आफ्ना पुर्खा, परिवार, नातेदार र ग्रामीण बाल्यकाल, राजनीति, संसद्, गाउँ र राजधानीको जनजीवन तथा कतिपय ‘रासस’मा छँदा आफ्ना देशदेशान्तरका यात्रालगायत समाचार विषयका संस्मरणका साथै शाहवंश, पञ्चायत व्यवस्था र वीरेन्द्र वंशविनाश, आफूले अध्ययन गरेका पुस्तक, आफू कुनै राजनीतिक दलहरूमा आबद्ध हुँदाका अनुभव, यात्रासंस्मरण, केही दैनिकी आदि समाविष्ट गर्नुभएको छ । कृतिका बीचबीचमा रोचक संवाद र संस्मरण राखेर लेखकले यसलाई अझ स्वादिलो बनाउन खोज्नुभएको छ । साहित्यकार थापाको दैनिकीअन्तर्गत लिखित केही कविताको प्रविष्टीले पनि पुस्तकलाई अझ मीठो बनाएको छ । अझ लेखकलाई सुरापान अन्त्य गर्न आह्वान गरी कवि कृष्णभूषण बलले लेखेको ‘आज त बिसाऊँ होला थापाजी’ शीर्षकको कविताले तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापालाई सत्ता छाड्न आग्रह गरिएको अर्थ लगाउँदा कवि अप्ठ्यारामा परेको प्रसङ्ग रोचक छ ।
सावित्रा श्रीश, ललितपुरबाट प्रकाशित पुस्तकमा ‘रासस’बाट फ्रान्सको राजधानी पेरिसमा एसोसिएटेड फ्रेन्च प्रेसको पत्रकारितासम्बन्धी प्रशिक्षण लिने सिलसिलामा भाषाले पारेको समस्या, इन्डियन इन्स्टिच्युट अफ मास कम्युनिकेशनको पत्रकारिता प्रशिक्षणका सिलसिलामा काश्मिरदेखि कन्याकुमारीसँग गरिएको यात्राका क्रममा आफूले देखाएको देशभक्ति, तत्कालीन राजारानीको पूर्वाञ्चल भ्रमणमा रानी ऐश्वर्यले गरेको नाच र आफ्नो मदिरापान तथा चीन भ्रमणका क्रममा राजाले मदिरापानका लागि गरेको आग्रह, नेपालको लाङ्टाङमा गरिएको पर्वतीय बसाइ, भारत तथा युरोपेली मुलुकमा गरिएको रमाइलो रेलयात्रा, आफ्नो पत्रकारिता यात्रा, पत्रकार मित्रहरुसँगको हिमचिमपूर्ण जीवनको वर्णन गरिएको छ । कुनै बेला आफूलाई ‘सोसियल डंकर्ड’ ठान्ने लेखकको आफ्नो मदिराप्रेम र त्यससँगको सम्बन्धको बखान पनि ठाउँठाउँमा आएको छ ।
कृतिको शीर्ष रचना ‘एक पत्रकारको बकपत्र’ मा पढैया लेखकले आफ्नो पत्रकार व्यक्तित्वको विशेषता झल्काउँदै पत्रकारिताकर्मका क्रममा आफूले लेखेका केही गल्ती समाचार र तारिफयोग्य समाचार सोदाहरण दिई केही समाचारमा भएको त्रुटिका कारण भने आफूसँग स्पष्टीकरण माग गरिनाका साथै जागिरबाट निकाला गरियोस् भन्नेसम्मको आदेश पाएको चर्चा रोचक ढङ्गले गर्नुभएको छ । आफ्नो गल्ती इमान्दारीपूर्वक स्विकार्ने कमै लेखकमध्ये केही समयको सैनिक जीवनबाट भागेर पत्रकार बन्नुभएका थापा पनि पर्नुभएको छ । युनाइटेड न्युज अफ इन्डिया(युएनआई)ले एक पटक नेपालसम्बन्धी सबै समाचार आफूले सङ्कलन र वितरण गर्ने प्रस्ताव नेपालसमक्ष राखेको र पछि राससलाई युएनआईको शाखाका रुपमा लैजाने त्यस्तो अनौठो र राष्ट्रियताविरुद्धको त्यस्तो प्रस्तावको आफूहरुले प्रतिकार गरेपछि सामसुम भएको नयाँ सूचना थापाले राख्नुभएको छ । राससको इतिहासका केही पक्ष पनि समेटिएको कृति राससकर्मीले अध्ययन गर्दा लाभ नै हुन्छ ।
कुनै समय लाङ्घाली परिवार, नेपाल आदिवासी जनजाति अधिकार मञ्च, नेपाल श्रमजीवी पत्रकार सङ्घ, इडिटर्स गिल्ड, नेपाल मगर अध्ययन केन्द्र आदि संस्थामा आबद्ध लेखकका गाउँ, बाल्यकाल र ग्रामीण जीवन पनि समेटिएकाले छोटकरीमा मगर जातिको रहनसहन बुझ्न पनि कृति उपयोगी देखिन्छ । भूमिका लेखक तथा रचनाकारका मित्र शैलेन्द्र साकारका शब्दमा भन्नुपर्दा, लेखक थापाले “…पाठकहरूलाई आफ्ना बारे सम्पूर्ण कुरा बताउने इमान्दार प्रयत्न गरेका छन् ।”
ठाउँठाउँमा पुनरुक्ति दोष देखिन्छ । ऐतिहासिक तथ्य तथ्याङ्कको प्रस्तुतिमा धेरै गल्ती छन्, अझ गम्भीर भुल पनि भएका छन् । विसं २०६७ साउनमा १७ पटकसम्म भएको प्रधानमन्त्री निर्वाचन रामचन्द्र पौडेल र माधवकुमार नेपालबीच भएको (पृ१२८) भनेर लेखकले अक्षम्य भुल गरेका छन् जसमा नेपालका ठाउँमा झलनाथ खनाल हुनुपर्थ्यो । यस्ता व्यक्तिका नाम, पद, मिति र स्थानलगायत करिब दुई दर्जन तथ्यगत त्रुटि छन् र वर्णविन्यासमा पनि प्रशस्त अशुद्धि छन् जसलाई आगामी संस्करणमा सच्याउनैपर्छ । आफ्नो मौलिक कृतिमा लेखकले आफूबारे रेवतीरमण सुवेदीबाट लिखित एक लेख नघुसाएको भए पनि हुन्थ्यो । स्केचका रूपमा आएको आवरण पृष्ठ भने आकर्षक नै छ । सञ्चारकर्मीहरूले यस्ता कृति खोजीखोजी नै अध्ययन गर्दा कर्मक्षेत्रमा लाभान्वित हुने विश्वास लिन सकिन्छ । वरिष्ठ पत्रकारका संस्मरणले आगामी पुस्तालाई पनि पुस्तक लेखनमा प्रेरणा दिने निश्चित छ ।