लन्डन। सेकेण्ड थर्ड गोर्खा राइफल्सका कमान्डिङ अफिसर कर्णेल श्रीकान्त यमडोष्करको धर्मपत्नी श्रीमती पूजा चौधरीले फार्नबोरोस्थित ब्रिटिश गोर्खा भवन र अल्डरसटमा भएको पहिलो गोर्खा भिसी कुलवीर थापाको शालिक अवलोकन गरिन्।
ब्रिटिश गोर्खा वेलफेयर सोसाईटी (बिजिडब्लूएस)को निमन्त्रणामा चौधरी पल्टनको ऐतिहासिक स्क्रोल ग्रहण गर्नका लागि शुक्रबार गोर्खा भवनमा आएका थिइन्।
करिब दश वर्षअघि एक ब्रिटिश परिवारले उक्त स्क्रोल घरको आटिकमा फेला परेको र गोर्खाको खुकुरी ब्याज देखेपछि बिजिडब्लूएस गोर्खा भवनमा बुझाएका थिए।
स्क्रोलको अगाडीको भागमा 3rd Queen Alexandra’s Own Gurkha Rifles को ब्याज र Deir EI Shin, Chieti, Veano, Fontanellato र Switzerland ठाउँहरुको नाम लेखिएको छ। पछाडिको भागमा केह सूचना लेखिएको छ। ग्रे र ममफर्ड परिवारले यसको डिजाइन गरेको अनुमान गर्न सकिन्छ।
दोस्रो विश्वयुद्धका बेला ले. कर्णेल ग्रे र क्या. ममफर्डसहित उत्तर अफ्रिकामा जर्मन टैंकहरुले मिच्दै गएपछि २०० जना गोर्खा सैनिकहरु युद्धबन्दी भएको रेजिमेन्टल हिस्ट्रीमा लेखिएको छ। बिजिडब्लुएसको बुझाईमा ३ जीआरका लागि उक्त स्क्रोल महत्वपूर्ण हुन सक्दछ।
त्यसैले अध्यक्ष मे रि टिकेन्द्रदल देवान जेपीले आफ्नो सहपाठी रि कर्णल विक्रम सिङ्ग वर्मा ३ जीआरलाई जानकारी गराए। कोभिडका कारण भेटघाट केही वर्ष हस्तान्तरण सम्भव भएन। सौभाग्यवस २/३ जीआरका कमान्डिङको श्रीमती माष्टर्स गर्नका लागि ससेक्स युनिभर्सिटी, ब्राइटनमा एक वर्षको लागि आएको र झट्टै केही हप्ताका लागि इन्डिया फर्किँदै गरेको खबर पाइयो।
आफ्नो रेजिमेन्टको ऐतिहासिक वस्तु लिनका लागि श्रीमती चौधारी तुरुन्तै फार्नबोरो कार्यालयमा आइपुगिन्।
संस्थाका अध्यक्ष मे रि देवान, श्रीमती मिलन देवन, कोषाध्यक्ष टेकबहादुर थापा, प्रवक्ता प्रकाश गुरुङ, सदस्यहरु रामधन राई, पर्शुराम बदगामी, चिजबहादुर गुरुङ, बीरबहादुर राई र कृष्ण राईको उपस्थितिमा उक्त स्क्रोल श्रीमती चौधरीलाई हस्तारन्तरण गरियो।
केही समयको गफगाफपश्चात अल्डरस्थित भिसीको स्मारकको भ्रमण गरिएको थियो । कमान्डिङको श्रीमतीले अति चासो राखेर शालिकको अवलोकन गरिन्। पल्टन र आफ्नो तर्फबाट भिसीको सालिकमा खादा चढाइन्।
उनले आफ्नै पल्टनको पहिलो भिसीको सालिक देख्न पाउँदा अति गौरवान्वीत भएको र इतिहास जीवित राख्न र सन्ततिहरुलाई जानकारी दिन सालिकले ठूलो भूमिका खेल्ने बताइन् । लडाईमा घाइते साथीलाई बोकिरहेको सालिक अरुभन्दा पृथक भएको र यसबाट मर्म बुझ्न सकिने उनको भनाइ थियो ।