किरात राई यायोक्खा बेलायतको स्थापना दिवसमा संस्थापकहरुलाई सम्मान


लण्डन । संयुक्त अधिराज्यमा बसोबास गर्ने किरात राई जातिको साझा प्रतिनिधिमूलक संस्था किरात राई यायोक्खा बेलायतको अठारौं स्थापना दिवस मनाइएको छ ।
संस्थाको आफ्नै भूमि, किरात राई हाउस ग्याम्बल्स लेन वकिङमा मिति ९ अप्रिल २०२२ को दिन स्थापना दिवस आयोजना गरिएको थियो ।
संयुक्त अधिराज्यमा स्थायी तथा अस्थायी रुपमा बसोबास गर्ने नवागन्तुक अगुवा अभियन्ता किरात राईहरुले, आफ्नो समुदायको तत्कालीन आवश्यकतामा आधारित उदेश्यहरु साथै दीर्घकालीन उद्देश्यहरु राख्दै किरात राई यायोक्खा बेलायतको खाका कोर्दै १२ अप्रिल २००४ मा संस्थाको स्थापना गरेका थिए । संयुक्त अधिराज्यको लागि नवागन्तुक किरात राईहरु, बसाईसराईको संक्रमणकालीन अवस्था र ब्यस्तताका कारण संस्थाको स्थापना दिवस मनाउन नसकिरहेको र यस अठारौं स्थापना दिवस, संस्था स्थापना दिवस आयोजनाको हिसाबले ऐतिहासिक र पहिलो स्थापना दिवस भएको अध्यक्ष चन्द्रबहादुर राईको भनाइ थियो ।
अध्यक्ष राईको अध्यक्षता आयोजित स्थापना दिवसको प्रमुख अतिथि नाक्छुङ पूर्खा किताबसेर राई रहनुभएको थियो भने विशेष अतिथिहरुमा क्रमसः किरात राई यायोक्खा केन्द्रीय कार्यसमिति नेपालका उप–महासचिव शुभचन्द्र राई र किरात राई विद्यार्थी संघ केन्द्रीय कार्यसमितिका अध्यक्ष रामचन्द्र राई रहनुभएको थियो । यसैगरी अतिथिहरुमा, किरात राई तायामा खियामा महिला समिति बेलायतका अध्यक्ष रोजी राई, किरात राई यायोक्खा बेलायतको स्थानिय समन्वय परिषद ग्रेटर रस्मोरका अध्यक्ष ध्रुवसरी राई, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युकेको निवर्तमान अध्यक्ष प्रमिला लाबुङ राई, गैरआवासीय नेपाली संघ युकेका पूर्व उपाध्यक्ष हिराधन राई, किरात राई चाम्लिङ खाम्बातिमका संस्थापक अध्यक्ष तथा किराया बेलायतको सल्लाहकार जगतबहादुर राई, बार्ड अफ डाईरेक्टर मेजर रिटायर्ड ईन्द्र राई रहनुभएको थियो भने संस्थाको पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार रामधन राई र संस्थाको पूर्व अध्यक्ष तथा वर्तमान प्रमुख सल्लाहकार पदम राई विइएमको समेत कार्यक्रममा उपस्थिति रहेको थियो ।
उपाध्यक्ष रिटायर्ड क्याप्टेन सुमनचन्द्र राईले कार्यक्रममा उपस्थित सबैलाई स्वास्थ्य र सुरक्षाबारे ब्रिफिङ गर्नुभएको थियो । अठारौं स्थापना दिवस–२०२२ कार्यक्रमको संयोजक उपाध्यक्ष अनिता चाम्लिङ राईले स्वागत मन्तब्य सहित स्थापना दिवस आयोजनाको औचित्य प्रकाश पार्नु भएको थियो । अध्यक्ष राईले संस्थाको संक्षिप्त इतिहास प्रस्तुत गर्नु भएको थियो । यायोख्याका संस्थापक साथै संस्थाका पूर्व अध्यक्ष रामधन राईले संस्था स्थापनाको इतिहासलाई अझ प्रस्ट्याउदै आफ्नो अनुभव शेयर गर्नु भएको थियो । संस्था विकासको खास चरणमा नेतृत्व गर्नु भएका संस्थाको पूर्व अध्यक्ष तथा वर्तमान प्रमुख सल्लाहकार पदम राई विइएमले संस्थापकहरुको योगदानको कदर गर्दै, आफ्नो कार्यकालमा संस्थाले गरेको विकासको साक्षी बस्न पाएकोमा खुशी ब्यक्त गर्दै, संस्थाको भविस्यप्रति चासो र चिन्ता ब्यक्त गर्दै, संस्था तथा समुदायको भलाईको लागि आफ्नो साथ रहिरहने विचार ब्यक्त गर्नु भयो ।
किरात राई यायोक्खा बेलायतको अगुवा अभियन्ता तथा संस्थापकहरुलाई, अठारौं स्थापना दिवस–२०२२ कार्यक्रम आयोजनाको अवसरमा फेटा गुथाउदै सम्मान गर्नुका साथै सम्मान–पत्र प्रदान गरिएको थियो । अठारौं स्थापना दिवसको अवसरमा सम्मानित हुनुहुने संस्थाका अगुवा अभियन्ता तथा संस्थापकहरुमा भीमबहादुर राई, रामधन राई, डम्बर राई, नेपालधन राई, गजेन्द्रकुमार राई, हीराधन राई र चन्द्रबहादुर राई रहनुभएको थियो ।
स्थापना दिवस कार्यक्रमको संचालन संस्थाका उपमहासचिवद्वय विनोद पुमा राई र प्रमिला लाबुङ राई साथै महासचिव चन्द्रवती राईले संचालन गर्नु भएको थियो । आमन्त्रित अतिथिहरुको स्वागत सत्कार उपाध्यक्षहरु क्रमस : मेजर रिटायर्ड दिलकुमार राई र निलम राईले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री