पूर्व गोरखा सैनिक भीम सारु ननिटनमा काउन्सिलरको उम्मेदवार

लण्डन । पूर्व गोरखा सैनिक भीम सारुमगर यही मे ५ मा बेलायतमा हुँदै गरेको स्थानीय निर्वाचनमा ननिटन तथा वेडवर्थ काउन्सिलमा काउन्सिलरको उम्मेदवार बनेका छन् ।
उनी बेलायतको वर्तमान प्रमुख प्रतिपक्षी दल लेबोर पार्टीका तर्फबाट बारपुल वडाबाट काउन्सिलको उम्मेदवार बनेका हुन् ।
ननिटनमा गोरखा सैनिकहरुको क्याम्प रहनुका साथै नेपालीहरुको बाक्लो बसोबास भए पनि स्थानीय सरकारमा हालसम्म प्रतिनिधित्व हुन सकेको थिएन । त्यसैले सारु भन्छन्, ‘मेरो उम्मेदवारी नेपालीको भावी पुस्तालाई प्रोत्साहन गराउनका लागि हो ।’
करिब ७/८ सय नेपालीको घरधुरी रहेको ननिटन क्षेत्रमा गोरखा तथा नेपालीहरुलाई हेर्ने अन्य समुदायको दृष्टिकोण सकारात्मक छ । नेपाली समुदायले स्थानीयबासीको मन जित्ने विभिन्न कार्य पनि गरेका छन् । स्थानीय पार्कमा गोरखा स्मारक पनि खडा भएको छ भने पूर्व गोरखा ओम गुरुङले काउन्सिलबाट फ्रिम्यानको सम्मान पनि पाएका छन् ।
सारु स्थानीयबासीले परिवर्तनको महसुस गर्ने गरी आफूले काम गर्ने बताउँछन् । आफूले जितेको खण्डमा काउन्सिलमा आफ्नो वडाको हरेक क्षेत्रको समस्या उठाउने प्रतिवद्धता पनि उनले व्यक्त गरे ।
उनी अहिले चुनावी अभियानमा ब्यस्त छन् । अब घरदैलो अभियान अगाडी बढाउने उनले जानकारी दिए ।
सारुले करिब तीन दशक बेलायती सेनामा बिताए । रोयल गोरखा इन्जिनियरबाट उनले सेवा शुरु गरेका थिए । सेवाकै क्रममा उनले ग्रीनवीच विश्वविद्यालयबाट हाइवे इन्जिनियरिङको अध्ययन गरे । त्यसपछि बेलायती सेनाका विभिन्न युनिटमा रहेर उनले २४ वर्ष सेवा गरे । त्यसपछि करिब पाँच वर्ष रिजर्भ युनिटमा कार्यररत रहेका उनी गत सेप्टेम्बरमा क्याप्टेन पदबाट सेवाबाट अवकास लिए । अहिले उनी ननिटन टाउनमा सारु इमेजेजमार्फत व्यवसायमा सक्रिय छन् ।
सारु बेलायतको नेपाली समुदायमा पनि उत्तिकै सक्रिय छन् । उनी ननिटनमा रहेको ब्रिटिश गोरखा नेपाली भेटेरानको पहिले महासचिव र अहिले उपाध्यक्ष छन् । गैरआवासीय नेपाली संघ इंग्ल्याण्डको पहिलो कार्यसमितिका लागि भएको निर्वाचनमा उनी झीनो मतले अध्यक्ष पदमा निर्वाचित हुन सकेनन् ।
बेलायतको नेपाली समुदाय आफैँभित्र मात्र सीमित भइरहेकोमा आफूलाई त्यसबाहिरको स्थानीय समुदायमा हामीले हिस्सा खोज्नुपर्छ भन्ने लागेकाले राजनीतिमा होमिएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री