एक पाठकको नजरमा ‘लोसोगोठदेखि बकिङ्घम प्यालेससम्म’

किताब परिचय

हरेक साल केही न केही सृजनात्मक कार्य प्रकाशनमा ल्याइरहने दुतबहादुर पुन (साहित्यिक नाम चिम्खोले काइँला) ले आफ्नो ६० औँ जन्मोत्सवका अवसरमा ‘लोसोगोठदेखि बकिङघम प्यालेससम्म’ नामक आत्मवृत्तान्त तथा व्यक्तित्व प्रकाशमा ल्याएका छन् ।
सुरप्रभा गीत संगीत प्रालि काठमाडौँले प्रकाशन गरेको ४२८ पेजको सो पुस्तकमा दुई खण्ड रहेका छन् । खासमा यसलाई तीन खण्ड भने पनि हुन्छ । किनकि शुरुवातमा लेखकको मन्तब्यबाहेक १५ वटा त शुभकामना नै छन् । बाँकी दुई खण्डमा शुरुमा चिम्खोले काइँलाको आत्मकथा र अर्को खण्डमा विभिन्न २५ जना महानुभावहरुद्वारा उनको बारेमा लेखिएका लेखहरु समावेश छन् ।
पुस्तकको शीर्षकबाट नै यसमा उनले तय गरेको एउटा दुर्गम बस्तीदेखि विश्वको शक्ति केन्द्रसम्मको यात्रा गरेको अड्कल लगाउन सकिन्छ । म्याग्दीको चिम्खोलामा एउटा निम्नमध्यम परिवारबाट आफ्नो जीवनयात्रा शुरु गरेको उनले देखाएका छन् । तत्कालिन नेपाली परिवेशमा धेरै सन्तान भए पछि पहिले सम्पन्न परिवार पनि कसरी विपन्नमा परिणत हुन्छ भन्ने सामाजिक आँखीझ्याल हो उनको परिवार । तथापि आफ्ना बाजे हुने खाने नै थिए भन्ने वाक्यांश भने एकभन्दा बढी स्थानमै दोहोर्याएका छन् ।
पारिवारिक समस्या र बाध्यताको प्रतिकूल अवस्थाबाट एउटा किशोर कसरी आफ्नो कठोर प्रतिवद्धतालाई जोगाउँदै अध्ययनको यात्रा अगाडी बढाउँछ भन्ने उनको आत्मवृत्तान्तबाट देखिन्छ । कतैकतै उनी बाउआमाको कुरा नसुन्ने अटेरी, मेरो अंश बेचेर भए पनि पढाउ भन्ने घुर्की दिने असजिलो व्यक्तिका रुपमा पनि भेटिन्छन् । उनमा शिक्षाको दृढसंकल्प कसरी रोपियो भन्ने जवाफ पुस्तकमा छैन तर समग्रमा उनले गरेको हिम्मत तत्कालिन नेपाली समाजमा उनका समवयीले विरलै मात्र गर्न सक्ने थिए ।
उनको आत्मवृत्तान्तमा तात्कालिक नेपाली समाजमा व्याप्त जातीय विभेद, वर्गीय विभेदको अंश पनि पाइन्छ । जस्तो कि उनले राष्ट्रको सेवा गर्छु भनेर जति नै प्रतिवद्धता व्यक्त गरे पनि उनलाई लाहुर गइहाल्छ नि भनेर अस्वीकार गरिन्छ । त्यस्तै, आर्थिक रुपले विपन्न भएपछि गाउँमा थिचोमिचो गर्न पल्केकाहरुले कसरी मौका छोप्छन् भन्ने पनि देखिन्छ । शायद त्यस्तो परिवेशले पनि उनलाई विद्रोही खालको बनाएको हो कि ?
नेपालका केही समुदायमा जति नै शिक्षित भए पनि पारिवारिक समस्यालाई कारण देखाई लाहुर जाने चलन पुरानै हो । उनले पनि त्यो बाटो रोजे । पल्टनभित्र पनि आफूले चाहेजस्तो पाएनन् । उनको वृत्तान्त पढ्दा यस्तै महसुस हुन्छ । तथापि यसभित्र सैन्यजीवनका केही अनौठा अभ्यासहरु (जो मजस्तो गैरसैनिकका लागि रोचक हुन सक्छन्) पनि समेटिएका छन् । जस्तो पृष्ठ ७६ मा ‘राति विस्तारामा अनिवार्य रुपले कट्टु नलगाइकन सुत्नुपर्ने नियम थियो । यदि गुरुजीले चेक गर्दा कट्टु लगाएको भेटेमा सजायँ भोग्नुपथ्र्यो’ लेखिएको छ । धेरै पूर्व गोरखाहरुसित कुरा गर्दा यस्तो प्रसंग मैले भेटेको थिइनँ । आखिर किन गोरखा सैनिकहरुलाई नाङ्गै सुताइन्थ्यो भन्ने कौतुहल यहाँ सिर्जना हुन्छ ।
यस्तै, अर्को प्रसंग कोसोभोको लडाइँमा जानुअघि श्रीमतीसितको वार्तालापको बेला आउँछ । लडाइँमा हिँड्न लागेको श्रीमानले श्रीमतीलाई सम्भावित परिणामका बारेमा तम्तयार रहन गरेको सम्वादले समग्र गोरखा सैनिकहरु जो लडाइँमा खटिए उनीहरुको मनोदशा चित्रण गर्दछ । पाठकहरुलाई भावुक बनाउँदछ ।
सेवाबाट अवकास आएपछि उनी सामाजिक कार्यहरुमा सक्रिय भएको पाइन्छ । जसमा गोरखा आन्दोेलन, मगर संघ युकेलगायत विभिन्न सामाजिक संस्थामार्फत सक्रियता, साहित्य र पत्रकारिता क्षेत्रमा संलग्नता देखिन्छ । समग्रमा उनी पारिवारिक मानिसका रुपमा देखिन्छन् जसले परिवारका आमाबाबु मात्र होइन भाइबहिनीहरुलाई पनि उच्च शिक्षाका लागि प्रेरित गरेका छन् ।
पुस्तकमा छोटो छोटो आलेख छन् । यसो गर्नुभन्दा बरुअलि लामो लामो आलेखभित्र त्यससँग सम्बन्धित प्रसंगहरुलाई बाकसमा वा उपशीर्षकभित्र राखिएको भए राम्रो देखिने थियो ।
पुस्तकमा पाइने अर्को विशेष पक्ष भनेको धेरै पात्रहरुको नाम र आर्मी नम्बरहरु दुरुस्तै उतारिएका छन् । घटनाको समय लामो हुँदै जाँदा धेरै कुराहरु मानिसहरुले बिर्सदै जाने हुन्छ तर उनले भने विद्यालय बेलाका सहपाठीहरुदेखि भर्ती हुँदाका साथीहरुको नाम, नम्बरसमेत सम्झेर लेखेका छन् । यो प्रसंशनीय पक्ष हो ।
आत्मकथामा कतिले नढाँटीकन आफूलाई पाठकसामू उतारेका हुन्छन् त कतिले आफ्ना सबल र असल पक्ष मात्र पाठकसामू राख्छन् । दुतबहादुरले भने यस मामिलामा कुटनीतिक बाटो अथवा कुनै कुरा खुलस्त, कुनै कुरा गोप्य राखेको भान हुन्छ । उदाहरणका लागि उनले हङकङका फिलिपिनी सुन्दरीहरुका बारेमा टन्नै लेखेका छन् तर उनी आफँै चाहिँ ती सुन्दरीहरुसित प्रेममा परे कि परेनन्, सम्बन्ध बनाए कि बनाएनन् भन्ने खुलाएका छैनन् । त्यस्तै, पुस्तक पढ्दा उनको विवाह दुईपटक भयो कि एकपटक भन्ने अन्यौल हुन्छ । पृष्ठ १०३ मा ‘भर्खर अर्काको छोरीलाई घरमा ल्याएको थिएँ’ लेखेका छन् जुन पहिलो छुट्टीपछि हङकङ फर्कँदाताकाको सन्दर्भमा छ । फेरि पृष्ठ १२४ ‘छुट्टीबाट हाजिर हुँदा फ्यामिली पनि ल्याउनुपर्ने भएको हुँदा हुनेवाला श्रीमतीलाई सपिङ गर्न बजारतिर जान्थेँ । जुन समयमा मैले श्रीमती विवाह गरेको थिइनँ’ लेखेका छन् । यो तेस्रो छुट्टी जाने बेलाको सन्दर्भ हो । यहाँनिर पहिल्यै ‘घरमा ल्याइराखेकी अर्काको छोरी’ सित विवाह चाहिँ नभएको भनिएको हो कि के हो प्रष्ट छैन ।
तर कतिपय ठाउँमा भने शिक्षकबाट रामधुलाई खाएको, घरबाट कोदोको पीठो किन्न दिएको पैसा खर्च गरी विद्यालय भर्ना भएको, अंग्रेजी बोल्न नजान्दा लागेको लाज र भोगेको दुव्र्यबहार आदिका बारेमा भने उनले खुलेरै लेखेका छन् ।
पुस्तकले केही अनौठा परम्पराका बारेमा पनि जानकारी दिन्छ । जस्तो पृष्ठ २०२ मा ‘आमाका लागि किरिया पुत्र कान्छा छोरा बस्नुपर्ने रहेछ’ तथा ‘मृतात्मा गाईको बाच्छीमा आउँछन् रे’ ले म सुदूर पूर्वको मगरलाई म्याग्दीका मगरहरुको नौलो सँस्कृतिको जानकारी दिन्छ ।
पुस्तकमा गम्भीर असावधानी पनि भेटिन्छ । जस्तो सन् २०१९ को गैरआवासीय नेपाली संघ युकेको चुनावको सन्दर्भमा पृष्ठ १६८–१६९ मा ‘स्वर्गीय मेजर डमर घले’ लेखिएको छ । जबकि डमर घले त अझै जीवितै हुनुहुन्छ ।
सारांशमा पुस्तकबाट पाठकले लिने महत्त्वपूर्ण पक्ष भनेको जीवनमा जतिसुकै प्रतिकूल अवस्था आए पनि हिम्मत हार्नु हुँदैन । प्रतिवद्धता र कटिवद्धताका अघि एक दिन सफलताले निम्तिनै कर लाग्छ भन्ने नै हो ।


खपाङ्गी

प्रतिक्रिया

सम्बन्धित सामाग्री