युकेमा सम्बन्धविच्छेद गर्न झनै सजिलो

लण्डन । बेलायतमा सम्बन्धविच्छेदलाई अझ सरलीकृत बनाइएको छ ।
सम्बन्धविच्छेद गर्न पूरा गर्नपर्ने पूर्ववर्ती प्रावधानलाई हटाउँदै यही अप्रिल ६ देखि सम्बन्धविच्छेद सम्बन्धी ऐन २०२० लागू भएपछि सम्बन्धविच्छेद प्रक्रिया झन् सरल बनेको हो ।
यसअघि सम्बन्धविच्छेदका लागि आवेदन गर्दा त्यस्ता आवेदकले आफ्नो पति वा पत्नीसित सम्बन्धविच्छेद गर्नुपर्ने पाँचवटा आधारभूत कारणहरुमध्ये कुनै एक उल्लेख गर्नुपर्ने हुन्थ्यो । जसमा ब्याभिचार, हदभन्दा बेसी व्यवहार (यसमा शारीरिक दुब्र्यबहार, गाली, यौनहिंसा आदि), परित्याग, पति पत्नि सम्बन्धविच्छेद गर्न सहमत भएमा दुई वर्षभन्दा बढी अलग बसेको वा पति पत्नि सम्बन्धविच्छेदका लागि असहमत भए पनि पाँच वर्ष अलग बसेको हुनुपर्दथ्यो । त्यसरी दिइएको कारणमाथि अदालतमा छलफल हुँदा अदालत विश्वस्त हुनुपथ्र्यो अन्यथा अदालतले सम्बन्धविच्छेदको निवेदन अस्वीकार समेत गर्न सक्थ्यो ।
तर नयाँ ऐनअनुसार भने यी कुनै पनि कारण देखाइरहनुपर्ने छैन । लण्डनको गोर्डन एण्ड थम्पसन सोलिसिटर्सका सोलिसिटर दीपक भट्टराई नयाँ ऐनअनुसार सम्बन्धविच्छेद गर्न चाहनेले आफ्नो पार्टनरको कुनै पनि खोट देखाउनु नपर्ने बताउँछन् । ‘नो फल्ट डिभोर्स’ नाम दिइएको नयाँ ऐन सम्बन्धविच्छेदलाई झन् सहज बनाउन उदारवादी सोचअनुसार ल्याइएको सोलिसिटर भट्टराईको धारणा छ ।
परिवर्तित नियमअनुसार डिक्री निसीलाई कण्डिसनल अर्डर, डिक्री आब्सोल्यूटलाई फाइनर अर्डर र पेटिसनरलाई एप्लिकेन्ट बनाइएको छ । सोलिसिटर भट्टराई यदि श्रीमान श्रीमतीबीच सम्बन्धविच्छेद गर्ने नै टुंगोमा पुगिसकेपछि किन एकले अर्कालाई दोषी देखाउने भन्ने मनसायले ऐन परिमार्जन गरिएको बताउँछन् ।
बेलायतमा सामान्यत विवाह भएको एक वर्षपछि सम्बन्धविच्छेद गर्न पाइन्छ । त्यसका लागि सोलिसिटरमार्फत वा आफैँ पनि निवेदन गर्न सकिन्छ । आवेदन गर्न दस्तुर ५९३ पाउण्ड लाग्छ । यसरी आवेदन गरेपछि करिब २० साताको समय पर्खनपर्ने हुन्छ । सोलिसिटर भट्टराई श्रीमान श्रीमतीबीच पुनर्विचारका लागि यस्तो समय दिइएको बताउँछन् । यो समयमा मेलमिलाप गर्न सकिने सम्भावना पनि हुन्छ ।

सोलिसिटर दीपक भट्टराई


सोलिसिटर भट्टराईका अनुसार सामान्यत सम्बन्धविच्छेद गर्न छ महिना समय लाग्छ तर प्रोपर्टी बाँडफाँड र आश्रित बालबच्चाको पालनपोषण, हेरचाहका कुरामा आपसमा मिलेमतो हुन नसक्दा लामो समय पनि लाग्न सक्छ ।
बेलायतको राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार सन् २०२० मा इङल्याण्ड र वेल्समा १ लाख ३ हजार ५९२ सम्बन्धविच्छेद भएका थिए । जसमा महिलाहरुले आवेदन गरेको सम्बन्धविच्छेदको कारणमा हदभन्दा बेसी व्यवहार सबैभन्दा प्रमुख कारण रहेको थियो भने पुरुषले निवेदन गरेको कारणमा दुई वर्षभन्दा धेरै अलग बसोबास मुख्य कारण रहेको थियो ।
बेलायतमा सन् १८५८ देखि सम्बन्धविच्छेदको रेकर्ड राख्न थालिएको छ । जसमध्ये सबैभन्दा धेरै सन् १९९३ मा १ लाख ६५ हजार १८ वटा सम्बन्धविच्छेद भएका थिए । सन् २०१९ को सम्बन्धविच्छेदको तथ्यांकअनुसार यसरी सम्बन्धविच्छेद गर्ने उमेर समूहमा ४५ देखि ४९ वर्ष उमेर समूहका धेरै छन् । यस उमेर समूूहका महिला र पुरुष दुवैले अरु उमेर समूहभन्दा धेरै सम्बन्धविच्छेद गर्ने गरेको पाइएको छ । सन् २०२० को तथ्यांकअनुसार सबैभन्दा धेरै सम्बन्धविच्छेद गर्नेमा विवाह गरेको ३० वर्षभन्दा धेरै समय बिताइसकेका दम्पत्तिहरु थिए ।
अर्को एक तथ्यांकअनुसार बेलायतमा वार्षिक करिब साढे दुई लाख विवाह हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री