बेलायतमा आज स्थानीय चुनाव: को को लड्दैछन् नेपाली समुदायबाट ?

लण्डन । बेलायतमा आज (मे ५ मा) सम्पन्न हुन गइरहेको स्थानीय चुनावको मैदानमा करिब एक दर्जन नेपाली मूलका उम्मेदवारहरु प्रतिस्पर्धा गर्दै छन् ।
आगामी चार वर्षका लागि चुनिने स्थानीय निकायका प्रतिनिधिहरुका लागि उनीहरु विभिन्न काउन्सिलमा मुख्यत सत्तारुढ कञ्जरभेटिभ पार्टी र प्रमुख प्रतिपक्षी लेबोर पार्टीबाट प्रतिस्पर्धामा उत्रिएका छन् ।

विष्णुबहादुर गुरुङ- लेबर


प्रतिस्पर्धामा लण्डन बोरो अफ हाउन्स्लोका वर्तमान मेयर समेत रहेका विष्णुबहादुर गुरुङ पनि काउन्सिलका लागि उत्रिएका छन् । लेबर पार्टीलाई प्रतिनिधित्व गर्दै उनी लण्डनको हाउन्स्लो काउन्सिलको ह्यानवर्थ पार्क वडाबाट उम्मेदवार बनेका हुन् । उनी पूर्व गोरखा सैनिक हुन् ।

लक्ष्यबहादुर गुरुङ-कन्जरभेटिभ

यस्तै, लण्डनभित्रकै अर्को काउन्सिल लण्डन बोरो अफ बार्नेटका पूर्व उपमेयर लक्ष्यबहादुर गुरुङ पनि चुनावमा उठेका छन् । उनी सत्तारुढ कञ्जरभेटिभ पार्टीलाई प्रतिनिधित्व गर्दछन् । उनी एज्वेरबरी वडाबाट उम्मेदवार बनेका छन् । उनी यसअघि पनि काउन्सिलर थिए । उनी पनि पूर्व गोरखा सैनिक हुन् ।
कमल गुरुङ -लेबर

गुरुङ उम्मेदवार रहेको काउन्सिलमै तर विपक्षी लेबर पार्टीका तर्फबाट अर्का पूर्व गोरखा सैनिक कमल गुरुङ उम्मेदवार बनेका छन् । उनी उठेको वडा पनि लक्ष्यबहादुरको भन्दा फरक छ । कमल ब्रन्टोक वडाबाट उठेका छन् ।
श्रीमती सुमन पुन – कन्जरभेटिभ

नेपालीहरुको उल्लेख्य बसोबास रहेको रसमुर काउन्सिलको चेरिउड वडामा श्रीमती सुमन पुन उम्मेदवार बनेकी छिन् । कञ्जरभेटिभ पार्टीकी उम्मेदवार पुन गोरखा भूतपूर्व सैनिककी श्रीमती हुन् । उनी बेलायतमा विभिन्न व्यवसायमा आवद्ध पनि छिन् । यदि निर्वाचनमा विजय हासिल गरेमा उनी बेलायतमा निर्वाचित हुने नेपाली मूलकी दोस्रो महिला काउन्सिलर हुनेछिन् । यसअघि सन् २०१५ मा स्वान्ली टाउन काउन्सिलमा लक्ष्मी गैरे काउन्सिलर भएकी थिइन् ।
जीत रानाभाट-लेबर

दक्षिणपूर्वी लण्डनस्थित ग्रीनीच काउन्सिलमा नेपालीहरुको निकै बाक्लो बस्ती छ । सो क्षेत्रबाट लेबर पार्टीले जीत रानाभाटलाई उम्मेदवार बनाएको छ । स्थानीय नेपाली कम्युनिटी रोयल ग्रीनीच नेपाली कम्युनिटीका अध्यक्ष समेत रहेका उनी प्लमस्टिड एण्ड ग्लेण्डन वडाबाट काउन्सिलरको उम्मेदवार बनेका छन् ।
संजय पन्त-कन्जरभेटिभ

लण्डनभन्दा अलिकति बाहिर रहेको वाटफोर्ड काउन्सिलमा सञ्जय पन्त कञ्जरभेटिभ पार्टीबाट उम्मेदवार बनेका छन् । उनी होलीवेल वडाबाट उठेका छन् ।
मेजर चित्रबहादुर राना-कन्जरभेटिभ

लण्डनबाहिर नेपालीहरुको बाक्लो बस्ती रहेको क्षेत्रमध्ये वोकिङमा पूर्व गोरखा मेजर चित्रबहादुर राना चौथोपटक काउन्सिलरको उम्मेदवार बनेका छन् । राना गोल्डसवर्थ पार्क वडाबाट उठेका छन् । सन् २०१५ मा पहिलोपटक काउन्सिलर बनेका राना सन् २०१६ र २०१८ मा काउन्सिलरमा निर्वाचित भएका थिए । उनी पनि कञ्जरभेटिभ पार्टीबाटै उम्मेदवार छन् ।
ज्ञानप्रसाद गुरुङ – कन्जरभेटिभ

नेपालीहरुको बाक्लो बसोबास रहेको अर्को क्षेत्र स्वीण्डनमा पनि ज्ञानप्रसाद गुरुङ काउन्सिलरको उम्मेदवार बनेका छन् । स्थानीय नेपाली कम्युनिटीका अध्यक्षसमेत रहेका गुरुङ कञ्जरभेटिभ पार्टीका तर्फबाट बनेका उनी पनि पूर्व गोरखा सैनिक हुन् । म्यानिङटन एण्ड वेस्टर्न वडाबाट उनी उठेका छन् ।
भीम सारु-लेबर

मिडल्याण्डमा नेपालीहरुको बाक्लो बसोबास रहेको क्षेत्र ननिटनमा पनि पूर्व गोरखा सैनिक भीम सारु काउन्सिलरको उम्मेदवार बनेका छन् । स्थानीय ब्रिटिश गोरखा भेट्रान्स एसोसिएसनका उपाध्यक्ष रहेका उनी लेबर पार्टीका तर्फबाट वेडवर्थ एण्ड ननिटल काउन्सिलको बारपुल वडाबाट उम्मेदवार बनेका छन् ।
डा जगन्नाथ शर्मा-कन्जरभेटिभ

मिडल्याण्डमै गोरखा सैनिकहरुको बसोबास रहेको क्याट्रिक क्षेत्रको कोलवर्न टाउन काउन्सिलमा डा जगन्नाथ शर्मा पुन काउन्सिलरको उम्मेदवार बनेका छन् । उनी सत्तारुढ कञ्जरभेटिभ पार्टीबाटै हिप्सबेल एण्ड कोल्बर्न वडाबाट काउन्सिलरको उम्मेदवार बनेका छन् । उनी सन् २०१३ देखि काउन्सिलर रहेका छन् भने सन् २०१४ मा उपमेयर र सन् २०१९ मा मेयर पनि भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री