करिब एक दशकअघि बेलायत आएपछि पत्रकारिताको अभ्यासका क्रममा धेरै गतिविधिहरुमा सहभागी हुने मौका मिल्यो । त्यसमध्येको एक थियो – गोर्खा कप । झट्ट सुन्दा फुटबल प्रतियोगिता जस्तो लागे पनि यो इभेन्ट फुटबल कम सबै उमेरका नेपालीहरु बेलायतमा भेट हुने थलो हो । यसको शुरुवातको कथा जोडिँदै जाँदा क्याप्टेन आशबहादुर गुरुङको नाम कतै पहिलोपटक सुनेको थिएँ । नेपालीहरुको सीमित संख्यामा बेलायतमा बसोबास रहेको त्यसबेला उनी रेस्टुरेन्ट सञ्चालक रहेको बताइएको थियो । समय बित्दै गयो मैले उनका बारेमा धेरै सुनिनँ । उनी कहाँ के गर्दै होलान् भनेर उधिन्न पनि बिर्सेछु । यस्तैमा एक दिन डा. प्रेम आलेले एउटा पुस्तक सम्पादन गर्दै गरेको फेसबुकमा लेखेका थिए । पछि उनले त्यो पुस्तक पठाइदिए । पुस्तक तिनै गोरखा कप शुरुवातकर्ताहरुमध्ये एक आशबहादुर गुरुङका बारेमा रहेछ ।
लमजुङ जिल्ला तान्द्राङ टक्सार पुरानो भिटौला गाविसमा ८३ वर्षअघि जन्मिएका आशबहादुर गुरुङको आत्मकथा हो ‘संघर्षः आशपुरदेखि क्याप्टेन साहेबसम्म’ । पुस्तक लमजुङको ऐतिहासिक र सामाजिक परिचयबाट शुरु हुन्छ । त्यसपछि क्रमश बाजे, बाबुको बारेमा प्रवेश गर्दछ । पिताजीका बारेमा करिब दश उपशीर्षक छिचोलेपछि पुस्तक आशबहादुरको जीवनमा प्रवेश गर्छ । बाबाआमाको निधनपछि टुहुरा बनेका आशबहादुरको पिताले दाजुभाउजुको हेपाइ सहन नसकेपछि छ/सात वर्षको कलिलो उमेरमै दशौँ वर्षसम्म जोगीको सहारामा बिताएको घटनाले पाठकलाई द्रविभूत बनाउँछ । हरेक नराम्रो घटनाले राम्रो बाटो पनि देखाउँछ भने झैँ जोगीको संगतले उनका पिता पढेर त्यतिबेला सरकारी जागिरे बने । त्यसले घरको स्तर उकास्न सघाउँछ । उनी कहिले बेलायती सेनामा कहिले नेपाल सरकारको कर्मचारी बनेर काम गरिरहन्छन् । दुवैबाट आउने पेन्सनले घर चलाउन पुग्दो भए पनि तर अचानक उनले दोस्रो विवाह गरेपछि घरमा आँधीबेहरी आउँछ । आमाले ‘अब यो घरमा पाइला टेकिस् भने खुकरीले छप्काइदिन्छु’ भनेर बाउलाई निकालिदिएपछि उनका पिता सम्पर्कविहीन हुन्छन् ।
आमाले नै बाउको समेत माया दिएर हुर्काएका आशबहादुर बेलायती सेनामा भर्ती भएसँगै उनको दुःखको दिन सुखमा परिवर्तन होला भन्ने अपेक्षा पाठकहरुको रहन्छ । केही हदसम्म सुखद पनि हुन्छ तर त्यो लामो टिक्दैन । उनको आमाको मरण अत्यन्तै दयनीय (करिब करिब बेवारिसे) तरिकाले हुन्छ उपचारको अभावमा । अन्तिम अवस्थामा आफ्नै छोरीबाट मानवीय व्यवहार नगरिएको जस्तो देखिन्छ । तर छोरीको कुनै बाध्यता थियो कि त्यतातिर लेखकले ध्यान दिन खोजेको पाइँदैन ।
पुस्तकमा समेटिएको अर्को पाटो हो खेतिकिसानी गरेका पत्निलाई विकसित मुलुकमा पल्टन सँगै लाँदा गोर्खा सैनिकहरुले भोग्नु परेको असजिलो । यसलाई लेखकले अत्यन्तै इमानदार किसिमले प्रस्तुत गरेका छन् । जस्तै श्रीमतीले सारी लगाउन नजानेको, जुत्ता लगाएर हिँड्दा खुट्टाभन्दा पहिला जुत्ता हुत्तिने गरेको, शौचालयमा चुकुल लगाउन नजानेको आदि । पुराना पुस्ताका अधिकांश पूर्व गोरखा सैनिकहरुले भोगेको यथार्थ हो यो ।
आमाको निधनपछि पुन पिताको संक्षिप्त घर आगमन र सम्पत्ति बेचबिखनले पुनः उनको जीवनमा उतारचढाव ल्याउँछ । पल्टनबाट तीन नाबालक बालबच्चासहित फर्कनु छ, कहाँ राख्ने ठेगान छैन । यस्तो तनावबीचमा उनले भेटेका ‘सुनार भाइबहिनी’ को व्यवहारले उनलाई औषधिको काम गर्छ ।
पुस्तकको उत्तरार्धमा उनको जीवन सप्रँदै गएको पाइन्छ । नेपाल, हङकङ, थाल्याण्ड, कतार, युके लगायतका स्थानमा व्यापारको प्रयास तथा नेपाल र बेलायतमा पाएको सफलताले उनको जीवन सहज भएको पाइन्छ । उनले सञ्चालन गरेको रेस्टुरेन्टले बीबीसीको सम्मान पनि पाउन सफल हुन्छ भने उनको रेस्टुरेन्टको साम्राज्य बेलायतका विभिन्न स्थानमा फैलिन्छ । अन्त्यमा समाजसेवामा पुर्याएर उनले पुस्तक बिट मारेका छन् । तथापि अपाङ्ग छोराका कारण उनी र उनको श्रीमतीमा परेको मानसिक तनावलाई उनले सविस्तार व्याख्या गरेका छन् ।
पुस्तकमा पाइने बोनस पक्ष भनेको उनले आफ्नो जीवनी मात्र प्रस्तुत नगरी त्यतिबेलाको नेपालको राजनैतिक, सामाजिक, आर्थिक अवस्थाको पनि विवेचना गरेका छन् । त्यति मात्र होइन अन्तर्राष्ट्रिय घटनाक्रमको पनि केही विश्लेषण गरेका छन् । यसले त्यतिबेलाको अवस्थालाई बुझ्न मद्दत गर्दछ । तर यसले सरासर उनको जीवनयात्रा मात्र पढ्न चाहने पाठकलाई भने पट्यार लगाउन सक्छ ।
पुस्तकमा लमजुङको नामकरणका बारेमा अस्पष्टता पाइन्छ । पृष्ठ १ मा लमजुङ मगर भाषाबाट आएको भनिएको छ भने पृष्ठ ९ मा खेमजङ्ग गुरुङलाई उदधृत गर्दै लम र जोङ्खाबाट लमजुङ भएको बताइएको छ । लम शब्दको गुरुङ सँस्कृतिमा अर्थ लगाइए पनि यहाँनिर लम र जोङ्खा गुरुङ भाषाबाट भएको भनेर दाबी भने गरिएको छैन ।
पुस्तकमा शायद समेट्नु पर्ने धेरै विषयहरु भएर होला गोर्खा कप र तमुधिँ युके (दुवै अहिलेको समकालिन बेलायतको नेपाली समाजमा चर्चामा छन्) स्थापनाका बारेमा भने केही शब्द मात्र उल्लेख छ (पूरै वाक्य पनि छैन) । यसबारेमा अलि विस्तृत भएको भए पाठकहरुको तिर्खा मेट्ने थियो । समग्रमा हरेक व्यक्तिको जीवनमा आरोह अवरोह आउँछन्, जान्छन् । बाँच्नका लागि संघर्ष हरेकले गरेकै हुन्छ । मात्र धेर थोरको कुरा हो । प्रस्तुतिको कुरा हो । क्याप्टेन आशबहादुरले त्यसलाई पुस्तकाकार गरी भावी पिँढीका लागि तत्कालिन समयलाई चिहाउने एउटा आँखिझ्याल छोड्नु भएको छ ।
कृति : ‘संघर्ष’: आशपुरदेखि क्याप्टेन साहेसम्म
लेखक : आशबहादुर गुरुङ
सम्पादक : डा प्रेम आले, चन्दा र उमिता पुन
प्रकाशक : आशबहादुर गुरुङ
पृष्ठ : २७२ (तस्वीरबाहेक)
मूल्य : नतोकिएको
-खपाङ्गी