सगरमाथाको चुचुरोबाट गोरखाहरुलाई समान पेन्सनका लागि नायिका दीया पुनको ऐक्यवद्धता

लण्डन । गोरखा भूतपूर्व सैनिकहरुले समान पेन्सनको माग राख्दै आन्दोलनमा होमिएको दशौँ वर्ष भइसकेको छ । यस आन्दोलनमा नेपाल तथा नेपालबाहिरका धेरै नै सेलिब्रिटीहरुले ऐक्यवद्धता र समर्थन जनाइसकेका छन् । प्रख्यात अभिनेत्री जोअना लम्ले यसको एक उदाहरण हुन् । यसै क्रममा नेपाली चलचित्रकी अभिनेत्री दीया पुनले नौलो किसिमले गोरखाहरुको आन्दोलनमा ऐक्यवद्धता प्रकट गरेकी छिन् ।
पूर्व गोरखा क्याप्टेन उमेशकुमार पुन एमभीओकी छोरी समेत रहेकी पुनले हालै गरेको विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा उनले सगरमाथाको चुचुरोबाटै गोरखाहरुको समानताको अभियानमा समर्थन व्यक्त गरेकी छिन् ।
सोसल मिडियामा व्याप्त करिब २० सेकेण्ड लामो भिडियोमा उनले भनेकी छिन्, “नमस्ते म रिटायर्ड क्याप्टेन उमेशकुमार पुन एमभीओकी छोरी हुँ । म सबै गोरखा सैनिकहरुको तर्फबाट समान पेन्सनको अधिकारका लागि संसारको सबैभन्दा अग्लो भागमा उभिइरहेको छु ।”
अभिनेत्री पुनले आरोहणका क्रममा बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा एनएचएस टुगेदर, कोलचेष्टर एण्ड इप्स्विच अस्पताल च्यारिटी र नेपालमा बालबालिकाका लागि कार्यरत चिल्ड्रेन एण्ड युथ फष्ट नामक संस्थाका लागि सहयोग संकलन गरेकी छिन् ।
बेलायतको कालचेष्टरमा बसोबास गर्ने पुन पेशाले नर्स हुन् । दयारानी, मिष्टर झोले, वीरविक्रम, ह्याप्पी डेज लगायतका चलचित्रमा अभिनय गरिसकेकी अभिनेत्री पुन अभिनित चलचित्र मन्त्र पनि चाँडै प्रदर्शनमा आउने क्रममा छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री