युवा पत्रकार, साहित्यकार अमित थेबे विनेसामको सबैभन्दा सक्रिय सदस्य

आठ साहित्यदुत र उत्कृष्ट शाखाको पनि घोषणा

इजरायल । विश्व नेपाली साहित्य महासङ्घ (विनेसाम) विश्व केन्द्रीय समितिले बेलायतमा बसोबासरत सक्रिय पत्रकार तथा साहित्यकार अमित थेबेलाई उत्कृष्ट सदस्य घोषणा गरेको छ ।
महासंघका सदस्यहरुको साहित्यिक सक्रियताको आधारमा उनलाई सक्रिय सदस्य घोषणा गरिएको महासंघले जनाएको छ ।
यस्तै महासंघले साहित्यदूत सम्मान र उत्कृष्ट शाखा पनि घोषणा गरेको छ ।
समितिले हरेक तीन वर्षमा घोषणा गर्दै आएअनुसार सम्मानित हुने स्रष्टाहरूसँगै उत्कृष्ट शाखा र सदस्यको नाम सार्वजनिक गर्ने गरेको छ ।
महासङ्घ विश्व केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीको अध्यक्षतामा हालै बसेको विश्व केन्द्रीय समितिको बैठकले ती निर्णय गरेको हो ।
विश्वका १० उच्च हिमालहरूमध्ये आठ नेपालमा रहेकोले यसैको नामबाट नेपाली भाषा साहित्यको क्षेत्रमा अमूल्य योगदान पु¥याउने आठ जनालाई महासङ्घद्वारा साहित्यदूत सम्मानले विभूषित गर्ने निर्णय भएको लिम्बुले बताए ।
जसअनुसार सन् २०२२ का लागि विनेसाम साहित्यदूत सम्मान सगरमाथा पूर्व राजदूत भीम उदास (काठमाडौँ), विनेसाम साहित्यदूत सम्मान कञ्चनजंघा त्रिपुरा विश्वविद्यालयका कुलपति प्रा. डा. गङ्गाप्रसाद प्रसाईं (भारत), विनेसाम साहित्यदूत सम्मान ल्होत्से काँशी हिन्दू विश्वविद्यालयका प्रा. डा. दिवाकर प्रधान (भारत), विनेसाम साहित्यदूत सम्मान मकालु सहप्राध्यापक डा. ज्ञान अधिकारी (काठमाडौँ), विनेसाम साहित्यदूत सम्मान चोयु दीपा एवाई राई (हङकङ), विनेसाम साहित्यदूत सम्मान धौलागिरी तिलक पोख्रेल (म्यान्मार), विनेसाम साहित्यदूत सम्मान मनास्लु कर्ण गुरुङ (अमेरिका), विनेसाम साहित्यदूत सम्मान अन्नपूर्ण डा. मुलवीर राई (वेलायत) लाई दिइने भएको छ ।
त्यसैगरी, उत्कृष्ट शाखा लागि विश्वको विभिन्न देशमा रहेका शाखाहरूबाट प्राप्त प्रतिवेदन र विवरणका आधारमा सबै शाखाहरूका गतिविधिलाई हेरेर विश्व नेपाली साहित्य महासङ्घ, भारत शाखालाई उत्कृष्ट शाखा घोषणा गरिएको छ ।
उपरोक्त छनौटहरूका लागि महासङ्घका वरिष्ठ उपाध्यक्ष डा. लेखनाथ काफ्लेको संयोजकत्वमा उपाध्यक्ष डेन्जोम साम्पाङ र महासचिव सुनिता राई कन्दङ्वा रहेको तीन सदस्यीय छनौट समिति निर्माण भएको थियो । छनौट समितिले पेश गरेको प्रस्तावमाथि छलफल गरी निर्णयमा पुगिएको थियो । महासङ्घको कार्यकाल सकिन लागेको हुनाले बैठकले अब बन्ने नयाँ समिति कस्तो बनाउने भन्ने सम्बन्धमा गृहकार्य गर्न वरिष्ठ उपाध्यक्ष डा. लेखनाथ काफ्लेको संयोजकत्वमा सल्लाहकार प्रा.डा. भीम खतिवडा, डा. मधु माधुर्य, उपाध्यक्ष डेन्जोम साम्पाङ, महासचिव सुनिता राई कन्दङ्वा र सचिव डा. मनमुर्ती भुर्तेल रहेको छ सदस्यीय परामर्श समिति बनाएको छ । बैठकले केन्द्रीय सदस्य तथा म्यान्मार शाखाका अध्यक्ष मोहनराज खनाल मातृशोकमा परेकोमा शोक प्रस्ताव पनि पारित गरेका थिए ।
बैठकमा सल्लाहकार प्रा. डा. भीम खतिवडा, नेपाल सल्लाहकार प्रा. डा. कविता लामा, सिक्किम सल्लाहकार डा. मधु माधुर्य, अमेरिका अध्यक्ष सुरेन्द्र लिम्बू परदेशी(भारत), वरिष्ठ उपाध्यक्ष डा लेखनाथ काफ्ले (ताइवान), उपाध्यक्ष डेन्जोम साम्पाङ(अमेरिका), महासचिव सुनिता राई कन्दङ्वा (इजरायल), सचिव डा. मनमुर्ती भुर्तेल (रसिया), कोषाध्यक्ष के बी पौडेल (काठमाडौँ), सदस्यहरू गोविन्द गौतम (रसिया), डा. नाज सिंह (दिल््ली), कल्पना पौडेल (नेपाल), मोहनराज खनाल (म्यान्मार), राहुल राई बोगिको (भारत), अमित चाम्लिङ (कुवेत) लगायत उपस्थित थिए ।
महासङ्घको स्थापना सन् २०१० को जुलाई १३ मा भएको थियो । सुरुवातमा १८ मुलुकका ४७ जना लेखक, साहित्यकारहरूले स्थापना गरेको संस्था अहिले २० वटा मुलुकहरूमा पुगेको छ । अहिले २९ शाखाहरू क्रियाशील छन् । महासंघले अहिलेसम्म दुई वटा विश्व साहित्य सम्मेलनहरू आयोजना गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री