गोर्खा कपको उपाधि एफसी केन्टलाई, भेट्रानतर्फ बीबीसी विजयी

Photo Milan Tamu

लण्डन । बेलायतका नेपाली समुदायमाझ लोकप्रिय फुटबल प्रतियोगिता गोर्खा कप यस वर्ष एफसी केन्टले जितेको छ ।
उसले फाइनलमा राङभाङलाई हराउँदै बीसौँ गोर्खा कपको उपाधि हात पार्न सफल भएको हो । यससँगै उसले २ हजार ५०० पाउण्ड नगद र शिल्ड पाएको छ भने खेलाडीहरुले ट्रफी र प्रमाणपत्र पाएका छन् ।
रनरअप हुन सफल राङभाङले १ हजार ५०० पाउण्ड नगद, ट्रफी र प्रमाणपत्र पाएको छ ।
उता भेट्रानतर्फ ब्रिगेड ब्वाइज क्लव (बीबीसी) ले जितेको छ । उसले नगद पुरस्कार १ हजार ५०० पाउण्ड पाएको छ भने उपविजेता बनेको इलाम एफसीले ८०० पाउण्ड नगद हात पारेको छ ।
प्रतियोगितामा पहिलो पटक महिलाहरुको प्रतिस्पर्धा गराइएको थियो । जसमा मनोक्रान्ति टीमले म खेल्छु टीमलाई हराउँदै विजेता बनेको छ । विजेता मनोक्रान्ति टीमले ५०० पाउण्ड नगद पुरस्कार र उपविजेता म खेल्छु टीमले ३०० पाउण्ड नगद पुरस्कार पाएका छन् ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी मिलन राई भएका छन् भने भेट्रानतर्फ उत्कृष्ट खेलाडी खुम गुरुङ भएका छन् । महिलातर्फ उत्कृष्ट खेलाडी काजा बनेकी छिन् । उत्कृष्ट म्यानेजर प्रेम गुरुङ बनेका छन् ।
यसैगरी यसैवर्षदेखि राखिएको छेलो खेलमा निरज गुरुङ विजेता र मानबहादुर गुरुङ उपविजेता बनेका छन् भने भेट्रानतर्फ श्याम गुरुङ विजेता र आशबहादुर गुरुङ उपविजेता बनेका छन् ।
तमुधिँ युकेले आयोजना गरेको सो प्रतियोगितामा मुख्य विधातर्फ ३२ टीमले, भेट्रानतर्फ ८ टीमले र महिलातर्फ २ टीमले भाग लिएको थियो ।
तमुधिँ युकेका अध्यक्ष हितकाजी गुरुङको अध्यक्षतामा अल्डरसटस्थित क्वीन्स एभेन्यूमा भएको सो कार्यक्रमको संचालन महासचिव परशु गुरुङले गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि रसमुर काउन्सिलका मेयर जोन मार्स रहेका थिए भने नेपाली दुताबास लण्डनकी उपनियोग प्रमुख रोशन खनाल विशेष अतिथि रहेकी थिइन् । कार्यक्रममा बेलायस्थित नेपाली संघसंस्थाका प्रमुखहरुको उपस्थिति रहेको थियो भने व्यापारिक र सेवामूलक स्टलहरु पनि राखिएका थिए ।
तमुधिँ युकेले विगत दुई दशकदेखि गोर्खाकप आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री