‘भिक्टोरिया डे’ मा नौमती बाजासहित सयौं नेपाली सहभागी

Photos Milan Tamu Gurung

लन्डन । बेलायतमा नेपालीहरुको सबैभन्दा बाक्लो बसोबास रहेको रसमोर बरो काउन्सिलले रानी भिक्टोरियाको सम्झनामा मनाउने ‘भिक्टोरिया डे’ यो पटक पनि बेलायतवासी नेपालीहरुले नेपालीपन झल्कने पोशाकसहित सहभागिता जनाएका छन् ।
शनिबार अल्डरसटको प्रिन्सेस हलबाट सुरु भएर नगर परिक्रमा गरिएको परेडमा ग्रेटर रसमोर नेप्लिज कम्युनिटीले रसमोरका विभिन्न नेपाली समुदायका संघ सस्थाहरूसित संयोजन गरेको थियो ।

स्थानीय रसमुर काउन्सिल भिक्टोरिया डेको आयोजक रहेको थियो । कार्यक्रममा करिब २५० नेपालीहरु सहभागी थिए ।
यसरी भाग लिनेमा मद्दत समूह, लम्जुड समाज युके, एनआरएनए युके, बुद्धिष्ट कम्युनिटी सेन्टर यूके, शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर, फार्नब्रो साइ सेन्टरल, तमुधिं यूके साखा रशमोर शाखा, किरात राई यायोख्या रशमोर शाखा, किरात याक्थुङ चुम्लुङ रशमोरा, मगर एसोसिएसन यूके युएचएसबी शाखा, अल्डरसट आमा समूह, गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) लगायत करिब १५ भन्दा बढी नेपाली संस्थाले आ–आफ्नो ब्यानर बोकेर मार्चपास गरेका थिए ।
अल्डरसट टाउन सेन्टरमा बिहान १० देखि अपराह्न ४ बजेसम्म भएको समारोहमा विभिन्न जातजातिका नेपालीहरु आफ्नो मौलिक भेषभूषा र गरगहनाले सजिएर नेपाली नौमती बाजा, कौरा, सोरठी,च्याब्रुङ बाजा गाजाको साथ उपस्थित भएका थिए भने यसबर्ष बेलायतकी महारानीको प्लाटिनम जुब्ली परेको हँुदा नेपालीहरूको अति ऐतिहासिक नौमती बाजा (जो विशेष शुभकार्य र शुभसाईतमा बजाइन्छ) ले परेडको शुभसाईत र परेडलाई लिड गरेको थियो । प्रथम नौमती बाजा गुल्मी युके समूहले मंगल धुनको साथ परेडको शुभाराम्भ गरेको थियो । परेडलाई भूतपूर्व गोर्खा परिवार र अन्य समुदायले पनि सडक किनारमा बसेर हौसला प्रदान गरेका थिए ।
प्रंथम नौमती बाजा गुल्मी युके र ग्रेटर रशमोर नेपाली कम्युनिटीले सन् २०१० देखि निरन्तर हरेक वर्ष भिक्टोरिया डेमा सहंभागिता जनाउँदै आएको छ ।
ग्रेटर रशमोर नेपाली कम्युनिटीका पूर्व अध्यक्ष साथै प्रथम नौमती बाजा गुल्मी युकेका प्रमुख सयोजक ओम थापा काउचाले यस परेडको मुख्य उद्देश्य भनेको बेलायतमा नेपाली कम्युनिटीको राजधानी रशमोरमा स्थानिय अन्य कम्युनिटीसंग समायोजन हुने र आफ्नो नेपाली सँस्कृतिलाई संरक्षण गर्दै केही भए पनि नेपालको पर्यटन प्रवर्धनमा टेवा पर्याउने रहेको बताए ।
बेलायतका भेट्रान मन्त्री तथा सो क्षेत्रका सांसद लियो डकर्टीसहित उक्त र्यालीमा पुराना मोटरहरु, मोटर साइकलमा पनि बेलायतीहरु सहभागी भएका थिए । रानी भिक्टोरियाको रुपमा सिंगारिएकी एक महिलालाई खुल्ला गाडीमा परिक्रमा गराइएको सो समारोहमा दशौं हजार सहभागी भएका थिए । ‘भिक्टोरिया डे’ मनोरन्जनपूर्ण एउटा जमघट हो जहाँ पारिवारिक गतिविधि, लाइभ म्यूजिक, नृत्य र स्टलहरु राखिन्छ । यो हरेक वर्ष आयोजना हुने गर्दछ ।
रानी भिक्टोरियासँग अल्डरसटको निकट सम्बन्ध स्मरण गर्न सो दिनलाई विशेष रुपमा मनाइन्छ । यसपटक अल्डरसट, फार्नबोरो आसपास र बर्कसायर क्षेत्रका नेपाली तथा बेलायती गरी करिब १२ हजार भन्दा बढी दर्शक सहभागी थिए । प्रिन्सेस हल अगाडी भिसी कुलवीर थापाको सालिक छेउमा अंग्रेजी कन्सर्ट र विभिन्न सांस्कृतिक प्रदर्शन गरिएको थियो । चिनियाँ समुदायले ड्रागन डान्स र स्कुलका स्काउट, आर्मी क्याडेट र बिट्रिस लिजनका भुपू आर्मीहरूले परेड मार्च, पञ्जावी समुदायको भांग्रा नाचले मानिसहरुको ध्यान आकृष्ट गरेको थियो । नेपाली समुदायका तर्फबाट डीएमटी ब्याण्डले नेपाली धुन प्रस्तुत गरेका थिए भने चाहना गुरुङ र प्रबल गुरुङले नृत्य देखाएका थिए ।
यस वर्षको अवधारणा फूल र माहुरी थियो ।

रशमोर बोरो काउसिलका मेयर लगायत आर्मी गेरिजनका प्रमुख, राजनीतिक, धार्मिक, नेपाली संघ सस्थाका छाता संगठन एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगरलगायत बिभिन्न नेपाली संघ संस्थाका प्रमुखहरू र पत्रकारहरूको कार्यक्रममा बाक्लो उपस्थिति थियो भने अल्डरसटको मेला र विभिन्न कम्युनिटी आफ्नो आफ्नो परम्परागत ब्याण्डहरूले पालोपालो मनोरन्जन दिलाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री