यूकेमा सिसेक्पा तङ्नामको तयारी पूरा, चार हजार बढी दर्शकको अपेक्षा

लन्डन । आदिवासी याक्थुङ लिम्बु समुदायको महान् पर्वमध्येको एक सिसेक्पा तङ्नाम (साउने संंक्रान्ति)लाई बेलायतमा भव्य रूपले मनाउन तयारी पूरा भएको छ ।
जातीय सामाजिक संस्था किरात याक्थुङ चुम्लुङ (कियाचु) यूकेले जुलाई १६ तारिखका दिन आयोजना गरिने सिसेक्पा तङ्नाम साँस्कृतिक कार्यक्रमको तयारी पूरा भएको जानकारी आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
भर्चुअल पत्रकार सम्मेलनमा कियाचु यूकेले ‘अब भेला होइन मेला पनि’ नाराका साथ करिब चार हजार बढीले अवलोकन गर्ने अपेक्षा गरिएको बताए ।
लिम्बु पत्रकार सङ्घ यूकेले सहजीकरण गरेको पत्रकार सेम्मलनमा बोल्दै कियाचु यूके अध्यक्ष नरवीर आङ्वोले कार्यक्रममा लिम्बु र गैरलिम्बु सबै समुदायको समान सहभागिता रहने विश्वास व्यक्त गरे । ‘सिसेक्पा तङ्नाम हामी आदिवासी याक्थुङ लिम्बु समुदायको महान् पर्व हो । तर यस साँस्कृतिक अवसरमा सहभागी भएर खुशी साटासाट गर्दै मनोरञ्जन लिन हुन हामी सबै नेपाली र बेलायतवासी समुदायलाई निमन्त्रणा गर्दर्छौ,’ अध्यक्ष आङ्वोले भने ।
सो कार्यक्रम चुम्लुङको आफ्नै जग्गा मेडस्टोनको याल्डिङमा रहेको चुम्लुङ देनमा हुनेछ ।
सन् २०१९ मा चुम्लुङ देन उद्घाटन भएपश्चात् पहिलोपटक जुलाई १६ तारिखमा तङ्नाम हुँदैछ । कोरोना महामारीका कारण दुई वर्ष स्थगन भएको थियो ।
तङ्नामकै तयारीबारे जानकारी गराउँदै उपाध्यक्ष एवम् कार्यक्रम संयोजक गणेश इजमले बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको प्रमुख आतिथ्यमा तङ्नाम हुने जनाए । कार्यक्रममा बेलायतका विभिन्न संघसंस्था र क्षेत्रबाट ६५ बढी विशिष्ट अतिथिहरूले पनि सहभागिता जनाउनेछन् ।
‘केन्द्रीय समितिका अतिरिक्त १६ शाखा समितिहरूसँगै, थामेन्दिङ्मा महिला समिति, लासोगेन कुसा चुम्लुङ (यूथ फोरम) का सयौँ चुम्लुङकर्मीहरू आउनेछन्,’ संयोजक इजमले भने, ‘केलाङ, या?लाङ, हाक्पारे लगायत साँस्कृतिक नाचगान पनि रहनेछन् ।’ उनले सदाझैँ तङ्नाममा यूकेव्यापी केलाङ(च्याब्रुङ नाच) र या?लाङ(धान नाच)को प्रतियोगिता पनि हुने बताए ।
इभेन्टलाई चुस्त दुरुस्त बनाउन १७ सेक्टर इञ्चार्जहरू पनि खटाइएको छ । २५.३३ एकड क्षेत्रफलमा रहेको चुम्लुङ देनमा खाद्य पेय परिकार, परम्परागत सामग्री र घरेलु उद्योग, व्यापारिक प्रतिष्ठान, सामाजिक संस्थाका स्टलहरू रहनेछन् । नयाँ पुस्ताका लागि भाषा लिपिबारे चेतना जगाउन याक्थुङ यूथ फोरमले छुट्टै स्टल राख्नेछ । त्यस्तै, परम्परागत खानपिन, लत्ताकपडा, घरबुना सामग्री, गरगहनाबारे थामेन्दिङ्मा महिला समिति र याक्थुङ माङ्गेन्ना चुम्लुङले छुट्टाछुट्टै स्टलहरू राख्नेछन् ।
‘बालबालिकाका लागि भनेर यसपटक बन्जी ट्रेम्पोलिन, सबैका लागि रोटेपिङ साथै विभिन्न रमाइला खेलहरू पनि राखेका छौँ,’ संयोजक इजमले थपे, ‘हामीले सुलभ टिकट दरमै प्रवेश शुल्क र खेल शुल्क राखेका छौँ । यहाँहरूले कार्यक्रमस्थलमा नभए अग्रिम रूपमा नजिकको शाखा कार्य समितिमा टिकटका लागि सम्पर्क गर्न सक्नुहुनेछ ।’
यसैगरी, महाासचिव जुरेन्द्र खजुमले वर्षभरिकै सबैभन्दा ठूलो कार्यक्रम भएकोले पनि संयुक्त अधिराज्य(यूके) मा रहेका चारवटै राज्यबाट सहभागिता जनाउन सबैलाई अनुरोध गरे । उनले नयाँ र पुराना पुस्ताको संगम स्थल तङ्नाम हुने भएकोले पनि कार्यक्रमलाई अवसरका हिसाबले सदुपयोग गर्न आग्रह गरे । सो अवसरमा उच्च शिक्षा हासिल गरेका युवाहरूलाई सम्मान र चुम्लुङको खेलकुद कार्यक्रममा योगदान दिने एक जनालाई यलम्बरहाङ अवार्ड, सबैभन्दा सक्रिय चुम्लुङकर्मीलाई चुम्लुङ अवार्ड र कला सँस्कृतिमा महत्वपूर्ण योगदान दिने एक जनालाई आर्टिस्ट अफ दी इयर समेत घोषणा गरेर पुरस्कृत गरिने महासचिव खजुमले जनाए ।
सन् २००३ मा स्थापना भएको कियाचु यूकेले पहिलोपटक आसफोर्डको ग्रेट चार्ट खेल मैदानमा सिसेक्पा तङ्नामका अवसर पारेर यूकेव्यापी याक्थुङहरूको भेला आयोजना गरेको थियो । पछि संख्या वृद्धि हुँदै गएपछि लन्डनको फेल्थाममा आयोजना हुन थालेपनि सन् २०१९ मा पहिलोपटक मेडस्टोनमा आयोजना भएको थियो । सिसेक्पा तङ्नाम प्रत्येक वर्ष साउन १ गते नेपालको लिम्बुवान क्षेत्रसँगै विदेशमा रहेका याक्थुङ बाहुल्य क्षेत्रमा उल्लासपूर्वक मनाउने गर्दछन् । यो पर्वलाई गाउँघरमा अनिकाल भगाउने र सहकाल भित्र्याउने पर्वका रूपमा लिने गरिन्छन् ।
लिम्बु पत्रकार सङ्घ यूकेका अध्यक्ष अमित थेवेले सहजीकरण गरेको पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासङ्घ यूके अध्यक्ष ध्रुव अर्याल, उपाध्यक्ष प्रमिला लाबुङ राई, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ(फोनिज) यूके अध्यक्ष गोमा राना मगर, सचिव लीला सेलिङ माबो, नेफिन यूके महासचिव विमला सेने, नेपाल मामिला डटकमका प्रधान सम्पादक खुसी तावा लिम्बु, याक्थुङ–खस द्वैभाषिक पत्रिका थोदिमका सम्पादक छत्र वनेम थिए । त्यस्तै, चुम्लुङ तर्फबाट उपाध्यक्ष अमृता पालुङ्वा, सहकोषाध्यक्षहरू जीवन प्यारा मादेन, नर सवेन्हिमको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री