फोनिज युके पत्रकारिता पुरस्कार प्रधान र सुब्बालाई प्रदान

पत्रकारद्वय सुब्बा र प्रधान

काठमाडौँं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युके शाखाले स्थापना गरेको फोनिज युके पत्रकारिता पुरस्कार पत्रकारहरु टीकाराम प्रधान र निलिफा सुब्बालाई प्रदान गरिएको छ ।
काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच प्रधान र सुब्बालाई आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगरले पुरस्कार प्रदान गरे ।
पुरस्कारको राशी जनही २५ हजार रुपियाँ र ताम्रपत्र रहेको छ ।
फोनिज युकेले सञ्चार क्षेत्रबाट आदिवासी जनजाति समुदायको विकासका लागि कलम चलाउँदै आएका दुई जना पत्रकारलाई हरेक वर्ष पुरस्कार प्रदान गर्दैआएको छ ।
पुरस्कार वितरण समारोहमा बोल्दै आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले आदिवासी जनजातिहरुको हकहित र अधिकार सुनिश्चितताका लागि फोनिजकर्मीहरुको ठूलो भूमिका रहेको बताउनुभयो ।
नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले यस्ता पुरस्कारहरुले आदिवासी जनजातिको मुद्दामा कलम चलाउने पत्रकारहरुलाई प्रोत्साहन मिल्ने र आदिवासी जनजाति आन्दोलनलाई पनि सहयोग पुग्ने बताउनुभयो ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) संघीय समितिको आयोजनामा पुरस्कार वितरण समारोह सम्पन्न भएको हो ।
पुरस्कार स्थापनाको उद्देश्यको बारेमा फोनिज युकेको पूर्व अध्यक्ष विश्वास दीप तिगेलाले समाज बदल्न पत्रकारिताको महत्वपूर्ण भूमिका हुने भएकोले पत्रकारहरुलाई प्रोत्साहन गर्न साथै युकेमा रहदै आएका पत्रकार र नेपालमा रहदै आएका पत्रकारहरु बीच सम्बन्ध स्थापना गर्न पनि यो सम्मान तथा पुरस्कारको स्थापना गरिएको बताए ।
त्यस्तै, फोनिज युकेको सल्लाहकार नगेन्द्रराज नेम्बाङले फोनिज युकेकी अध्यक्ष गोमा रानामगर, संरक्षक तथा पूर्व सौजन्यकर्ता रिटायर्ड मेजर सोनाम छिरिङ शेर्पा लगायत सिंगो समितिको तर्फबाट शन्देश सुनाए ।
पुरस्कार यसअघि गोपाल छाङ्छा राई, रामविकास चौधरी, गणेशमान गुरुङ, मिलन लिम्बु, शान्ति गुरुङ, सन्त गाहामगर, राजेश चाम्लिङ, टेकराज थामीलाई प्रदान गरिसकिएको छ ।
फोनिज केन्द्रीय अध्यक्ष गजुरधन राईको अध्यक्षतामा आयोजित वितरण समारोह फोनिज केन्द्रीय समितिको कार्यालयको सभाकक्ष एवं तमु बौद्ध सेवा समितिको हल अनामनगरमा आयोजित कार्यक्रमलाई महासचिव मिलन लिम्बुले संचालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री