गोरखाबारे बेलायती वार्ता टोलीका संयोजक डोकोर्टीको जिम्मेवारी परिवर्तन

डोकोर्टी बायाँ मर्सर दायाँ

लण्डन । गोरखा भूतपूर्व सैनिकहरुका समस्याका बारेमा नेपाल तथा बेलायत सरकारबीच हुने वार्तामा बेलायती वार्ता टोलीका तर्फबाट संयोजक तोकिएका मन्त्री लियो डोकोर्टीको जिम्मेवारी परिवर्तन भएको छ ।
गोरखाहरुको अधिक बसोबास रहेको अल्डरसट निर्वाचन क्षेत्रका सांसद डोकोर्टी यसअघि ‘मिनिस्टर फर डिफेन्स पिपुल र भेट्रान्स’ को जिम्मेवारीमा रहेका थिए । बेलायतमा मिनिस्टर भनिए पनि यो नेपालको सहायक मन्त्री जस्तै हो ।
यही जुलाई ७ देखि उनलाई ‘मिनिस्टर फर डिफेन्स पिपुल’ को जिम्मेवारी दिइएको छ ।
भेट्रान्स अफेयर्सका लागि भने जोनी मर्सरलाई नियुक्त गरिएको छ । सन् २०१९ देखि २०२१ सम्म ‘मिनिस्टर फर डिफेन्स पिपुल एण्ड भेट्रान्स’ रहेका मर्सरलाई यसपटक भने बढुवा गरी राज्यमन्त्री (स्टेट) मिनिस्टर बनाइएको छ । स्टेट मिनिस्टरहरुले मन्त्रिपरिषदको बैठकमा सहभागी हुन पाउँछन् ।
डोकोर्टी र मर्सर दुवै सैन्य पृष्ठभूमिका हुन् ।
जिम्मेवारी परिवर्तन भए पनि डोकोर्टीले अझै वार्ताको संयोजन गर्छन् कि गर्दैनन् भन्ने बारेमा केही जानकारी प्राप्त भइ नसकेको नेपाली दुताबास लण्डनकी उपनियोग प्रमुख तथा प्रवक्ता रोशन खनालले जानकारी दिनुभयो ।
उता गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिका संयोजक कृष्णबहादुर राईले पनि बेलायतमा पात्र परिवर्तन भए पनि पूर्ववर्ती सरकारको पोलिसी (नीति)ले निरन्तरता पाउने अभ्यास रहेकाले मन्त्री परिवर्तन भए पनि आफूहरु आशावादी नै रहेको बताए । त्यसमाथि व्यक्ति फेरिए पनि पार्टी एउटै भएकाले तात्विक भिन्नता नहुने आफूहरुको बुझाइ रहेको उनको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री