बेलायती प्रधानमन्त्रीको दौडमा सुनक अगाडी, हन्ट र जाहावी बाहिरिए

लण्डन । सत्तारुढ कञ्जरभेटिभ पार्टीको नयाँ नेताका लागि बुधबार भएको पहिलो चरणको मतदानमा पूर्व अर्थ मन्त्री ऋषि सुनकले सबैभन्दा धेरै मत पाएका छन् ।
प्रतिस्पर्धामा रहेका आठ सांसदहरुमध्ये सुनकले सबैभन्दा बढी ८८ मत पाए । त्यसपछि पेन्नी मोर्डन्टले ६७ मत पाइन् भने विदेश मन्त्री लिज ट्रसले ५० मत पाइन् । यसैगरी, केमी ब्राडरचले ४०, टम टुगनढाटले ३७ र सुयला ब्रेभरम्यानले ३२ मत पाए । जेरेमी हन्टले १८, अर्थमन्त्री नदिम जाहावीले २५ मत मात्र पाए ।
कञ्जरभेटिभ पार्टीको ब्याकबेञ्चर कमिटी १९२२ का अध्यक्ष सर ग्राहम ब्रेडीले नतिजा सुनाउँदै हन्ट र जाहावीको चुनावी यात्रा सकिएको बताए । कमिटीले दोस्रो चरणमा जानका लागि ३० मत चाहिने नियम बनाएको थियो ।
विदेश मन्त्री, स्वास्थ्य मन्त्री र सँस्कृति मन्त्री समेत रहिसकेका यसअघि हन्ट बोरिस जोन्सनसित अन्तिम चरणसम्म नेतृत्वको दौडमा थिए । तर यसपटक पहिलो चरणबाट उनी बाहिरिएका छन् ।
त्यस्तै, वर्तमान अर्थ मन्त्री जाहावी पनि विगतमा शिक्षा मन्त्री र कोरोना खोप मन्त्री रहिसकेका छन् । आजै मात्र आफू कञ्जरभेटिभ पार्टीको नेता भएमा वर्तमान प्रधानमन्त्री बोरिस जोन्सनलाई मन्त्रिपरिषदमा जिम्मेवारी दिने भनेर अन्तरवार्ता दिएका जाहावी पनि पहिलो चरणबाटै विश्राम लिन बाध्य भएका छन् ।
अर्को चरणका लागि भोलि मतदान हुने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री