वार्ताले गति नलिएपछि आन्दोलन घोषणा गर्ने ‘मुड’मा गोरखाहरु

गत वर्षको गोरखाहरुको प्रदर्शन । फाइल फोटो

लण्डन । गोरखा भूतपूर्व सैनिकहरुको समस्या समाधानका लागि नेपाल तथा बेलायत सरकारबीच हुने वार्तामा कुनै प्रगति नभएपछि गोरखाहरु आन्दोलनको मुडमा पुगेका छन् ।

आज लण्डनस्थित नेपाली दुताबासमा बेलायतका लागि नेपाली राजदुतसित भएको बैठकपछि उनीहरु आन्दोलनलाई अगाडी बढाउनेतर्फ अघि बढेका हुन् ।

बैठकमा गोरखाहरुले वार्ताका बारेमा भइरहेका गतिविधिहरुका बारेमा राजदुत ज्ञानचन्द्र आचार्यसित परामर्श गरेका थिए । राजदुतबाट वार्ताको प्रगतिका बारेमा नयाँ कुरा नपाएपछि उनीहरु सोमबार बैठक बसी आन्दोलनका बारेमा छलफल गर्ने निर्णयमा पुगेका छन् ।

बैठकमा सहभागी गोरखा सत्याग्रहका निर्देशक तथा दुईपटक अनसनसमेत बस्नुभएका ज्ञानराज राईले भने, ‘यो सोमबारसम्म वार्ताको मिति र वार्ताका लागि टर्म्स एण्ड रिफरेन्स बनाउने मिति तोकिएन भने हामी आन्दोलनको घोषणा गर्छौँ ।’    

गत वर्ष तीन जना गोरखाहरु अनसन बस्दा उनीहरुलाई अनसन तोडाउन गरिएको लिखित प्रतिवद्धतामा सन् २०२२ को जनवरीमा नै वार्ता सिध्याउने उल्लेख भए पनि त्यसको करिब एक वर्ष बित्न केही दिन बाँकी हुँदासम्म वार्ताको टर्म्स एण्ड रिफरेन्स (टीओआर) समेत बन्न सकेको छैन ।

बैठकमा सहभागी तीन जना गोरखा अनसनकारीहरु, गोरखा संघ संस्थाका प्रमुखहरु प्राय सबैले एकै श्वरमा दुई देशबीच वार्ता गराउनका लागि नेपाल सरकारले पहल गर्न नसकेको हो कि भन्ने आशंका व्यक्त गरे । जवाफमा राजदुत आचार्यले आफूहरुले निरन्तर पहल गरिरहेको उल्लेख गर्दै नेपाल सरकारले पर्याप्त पहल नगरेको मान्न नसकिने जिकिर गरे ।

बैठकमा सहभागी १० जना गोरखा प्रतिनिधिहरुले टीओआर बनाउनका लागि अविलम्ब बैठकको मिति तय गर्न माग गरेको गोरखा भूतपूर्व सैनिक संघ (गेसो)का कार्यबाहक सभापति धर्मबहादुर तामाङले बताए । उनले वार्तालाई टार्दै लाँदा गोरखाहरुको धैर्यताको बाँध फुट्न सक्ने र त्यसले कस्तो दिशा लिने हो आफूहरुले भन्न नसक्ने पनि बताए ।

सेप्टेम्बरको मध्यमा वार्ता शुरु गर्ने भनिए पनि अहिलेसम्म वार्ताको टीओआर बनाउन बैठक समेत बस्न सकेको छैन । जुलाईभित्रमा टीओआर बनाउने भनेर पहिले भनिए पनि जुलाई महिना बित्न तीन दिन बाँकी हुँदा पनि बैठक समेत नबसे पछि गोरखाहरु आक्रोशीत र सशङ्कित भएका हुन् ।

अहिलेसम्म राजदुताबासबाट केही न केही आश्वासनयुक्त वचनहरु पाइरहेका गोरखाहरु आजको बैठक पछि भने निराश बनेका छन् । ‘आज हामी अत्यन्त दुखीत छौँ’ राईले भने । तामाङले पनि आजको बैठकबाट वार्ताप्रति आशंका जगाएको बताए ।

बैठकमा सहभागी अनसनकारी धनबहादुर गुरुङले त नेपाल सरकारले वार्ताका लागि पर्याप्त पहल नगरेकोले दुताबासबाटै आन्दोलन शुरु गर्ने धम्कीसमेत दिएका थिए ।

बैठकमा सहभागी एक गोरखाका अनुसार आजको बैठकमा राजदुत आचार्यले बेलायत सरकारसित वार्ता र टीओआरका लागि मिति तय गर्ने ग्यारेन्टी आफूले गर्न नसक्ने बताएपछि गोरखाहरु निराश बनेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री