एनआरएनए आइसिसीलाई सदस्यता शुल्क बुझाइएकोमा अध्यक्ष गाहाको असन्तुष्टी

अध्यक्ष प्रेम गाहामगर

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेका तर्फबाट केन्द्रलाई बुझाउनु पर्ने सदस्यतावापतको शुल्क लामो समयदेखि थाँती रहेकोमा कोषाध्यक्ष विष्णु खरेलले कार्यसमितिको निर्णयबमोजिम विहीबार बुझाइएको जानकारी दिएका थिए । तर विहीबार साँझ नै अध्यक्ष प्रेम गाहा मगरले फेसबुक लाइभमार्फत सो कार्यमा आफ्नो सहमति नभएको प्रष्ट पारेका छन् ।

एनआरएनए यूकेले सदस्यता शुल्कवापत आइसीसीलाई ३९ हजार २ सय ८५ पाउन्ड ७३ पेन्स बुझाएको बताइएको थियो तर अध्यक्ष गाहामगरले भने सो रकम केन्द्रलाई दिने बारेमा बसेको बैठकको बैधानिकतामाथि प्रश्न गरेका छन् । उनले कार्यसमितिको बहुमतको सहमति बिना र एजेण्डामै नभएको प्रस्तावमा छलफल गरी लेवी पठाइएको दावी गरेका छन् ।

अघिल्लो रातदेखि नै कार्यसमितिलाई अब संस्था खारेज हुन्छ भन्ने मानसिक त्रास देखाएर त्यस्तो निर्णय गरिएको उनको जिकिर छ ।

‘३२ जनाको कार्यसमितिमा आइतबारको बैठकमा १७ जनामध्ये १४ जनाले मात्र सहमति छ भन्नुभएको थियो’, अध्यक्ष गाहामगरले भने, ‘मेरो र कार्यसमितिका कयौं साथीहरुको चाहनाविपरित विवादास्पद एनआरएनए आइसीसीलाई झण्डै ४० हजार पाउण्ड पठाइयो । विगतदेखि नै मैले त्यो पैसा नेपाल पठाउनुको सट्टा बरु बेलायतमै सामुदायिक भवन नेपाल हाउस बनाऊँ । त्यसले नेपालको अपनत्व गराउँछ भन्ने कुरामा जोड दिइरहेको थिएँ । दुष्मन र भाइरसहरुको आँखा लागेर यस्तो काम भयो ।’

एनआरएनए युकेको विधानमा बैँकिङ कारोबारमा अध्यक्ष र कोषाध्यक्षको हस्ताक्षर अनिवार्य रहेकोमा कोषाध्यक्षले मात्र रकम निकासा गरी पठाउनु आफ्नो अपहेलनामात्र होइन्, समस्त पञ्जीकृत सदस्यहरुको भावनामाथि नै कुठाराघात भएको गाहामगरले बताए ।

अध्यक्ष गाहामगरले बेलायतका पञ्जीकृत सदस्यहरुलाई अब अगाडि आएर यस्ता गतिविधिहरुविरुद्ध प्रतिवाद गर्न पनि आग्रह गरेका छन् ।

‘तपाईंहरु अब बोल्ने बेला आएको छ । यदि मेरो कार्यशैली ठीक लागेन भने स्पष्ट भन्नुस्, ६ अगष्टको वार्षिक साधारणसभाबाट मलाई हटाउनुस् । तर अरु कसैले आफ्नो स्वार्थपूर्तिका लागि संस्थालाई दुरुपयोग गर्छ भने नछोड्नुस्’, उनले अनुरोध गरे ।

उनले भविष्यमा फेरि पनि आर्थिक अपचलन नहोस् भनेर बैँङ्क पुगी एनआरएनए युकेको बैँक खातामा अध्यक्षको समेत हस्ताक्षर अनिवार्य चाहिने प्रक्रिया अगाडी बढेको जनाए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री