हाइक फर नेपाल पदयात्राको तयारी पूरा

लण्डन । पोखरेली मञ्च युकेले नेपालको पर्यटन प्रवर्धनका लागि “हाईक फर नेपाल” अर्थात् नेपालका लागि पदयात्रा गर्दैछ ।

आउँदो शनिबार अगष्ट ६ तारिकका दिन वेल्स राज्यको ब्रेकनस्थित “पेन वाई फेन” डाँडामा करीब ८ किमि पदयात्रा गर्न लागेको हो । मञ्चले सन् २०१७ सालदेखि प्रत्येक वर्ष आयोजना गर्दै आएको पदयात्रा कोभिड–१९ का कारण गत दुई वर्ष रोकिएको भएता पनि यस वर्षदेखि पुन: शुरुवात गर्न लागेको हो । 

नेपाल पर्यटन विकासको प्रचुर संभावना बोकेको देश हो, जहाँ विश्वको सर्वौच्च शिखर सगरमाथालगायत ८ हजार मिटरभन्दा बढी अग्ला ८ वटा हिमश्रृखंलाहरु पर्दछन् । शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल, हिन्दूहरुको पवित्र स्थल पशुपतिनाथ मन्दिर, जानकी मन्दिर लगायत थुप्रै गुम्बा, चैत्य, मठ तथा मन्दिरहरु संगसंगै थुप्रै नदीनाला, तालतलैया, निकुञ्ज र मनोरम दृश्यले सिंगारिएको देश नेपालमा पर्यटन प्रवर्धन गर्ने उद्देश्यानुसार पोखरेली मञ्च युके र वि विल राइज नेपाल फाउण्डेशनले “हाईक फर नेपाल” को अवधारणा ल्याएको हो ।

बेलायतमा भूतपूर्व ब्रिटिश गोर्खाजहरु स्थायी रुपमा बस्न थालेपछि बेलायतमा नेपालीहरुको संख्यामा वृद्धि हुन गयो । साथसाथै, नेपाली भाषा, कला तथा संस्कृति संरक्षण एवं सम्वर्धन गर्ने उद्देश्यले थुप्रै जातिय, वर्गीय र क्षेत्रीय संघसंस्थाहरुको स्थापना हुन पुग्यो । सोही क्रममा क्याप्टेन चन्द्र बहादुर पुनको अध्यक्षतामा पोखरेली मञ्च युकेको स्थापना भयो । 

शुरुमा पोखरेली मञ्च युकेले अरु संघसंस्थाहरुले जस्तै भेटघाट कार्यक्रमको आयोजना गर्ने गर्दथ्यो । तर सन् २०१७ सालमा नेपालको पर्यटन प्रवर्द्धनका लागि “हाईक फर नेपाल” अर्थात् नेपालका लागि पदयात्राको शुरुवात गर्दै मातृभूमि नेपालको विकासमा हातेमालो गर्न थाल्यो । विशेषगरी पोखराबाट बेलायत आई बसेका नेपालीहरुले वेल्स राज्यको ब्रेकनस्थित “पेन वाई फेन” डाँडाबाट पदयात्राको थालनी गरिएको स्मरण गर्दै मञ्चका अध्यक्ष करम गुरुङले भने– ‘सन् २०१८ मा सोही वेल्सस्थित ब्ल्याक माउन्टेन र २०१९ मा सो ब्ल्याक माउण्टेनको अर्को पाटोबाट चढेका थियौं । यसवर्ष भने शुरुको वर्षमा चढिएको “पेन वाई फेन” डाँडामा पुन: चढ्ने कार्यक्रम रहेको छ, । ’ 

पद यात्राको उद्देश्य: 

पोखरेली मञ्च युकेका निवर्तमान अध्यक्ष मानप्रसाद गुरुङले सन् २०१५ सालमा नेपालमा गएको महाभूकम्पले ठूलो जनधनको क्षति गर्‍यो । मातृभूमिका लागि हामीले पनि केही गर्नुपर्दछ भन्ने लागेर नेपालको पर्यटन प्रर्वद्धनका लागि पदयात्रा शुरु गरिएको स्मरण गर्दै निम्न उद्देश्यहरु प्राप्त गर्न हाईक फर नेपाल आयोजना गरिएको जानकारी दिए ।  

१. नेपालको पर्यटन प्रवर्द्धनका लागि स्थानीय बेलायतबासीसंग नजिकको सम्बन्ध विकास गराउन ।

२. नेपाल प्रतिको दायित्व र सम्बन्ध जोड्न नयाँ पुस्तालाई परिवार तथा स्कुल, कलेज र विश्वविद्यालयमा अध्ययनरत साथीभाइहरुसंग नेपाल भ्रमणका लागि प्रेरित गराउन ।

३. नेपाली समुदायमा स्वस्थ्य जीवनशैलीको जानकारी गराउन ।

४. नेपाली समुदायको बाहिरी क्रियाकलाप तथा साहसिक कदमको परिचय गराउन ।

५. नयाँ पुस्तालाई दैवीप्रकोपका घटनाहरुमा सहयोग जुटाउन साहसिक यात्राको पूर्व प्रशिक्षण गराउन । 

हाईकिङ्गको तयारी : 

आयोजक संस्था पोखरेली मञ्च युकेका अध्यक्ष करम गुरुङले दिएको जानकारीनुसार विशेषगरी ५, ६ र ७ अगष्टका दिन ‘हाईक फर नेपाल’ गर्न लागिएको हो । शुक्रबार ५ अगष्टमा क्याम्पमा भेला हुने, शनिबार ६ तारिकका दिन हाईकिङ्ग गरी क्याम्पमा फर्कने र आइतबार ७ अगष्टका दिन आ–आफ्नो घर फर्कने कार्यक्रम रहेको छ । तर आयोजकहरु करीब ३० जना भने तयारीका लागि बिहीबार ४ अगष्टका दिन ब्रेकन जाने छन् । 

सहभागी संख्या र शुल्क: 

मञ्चका अध्यक्ष गुरुङका अनुसार हाईक फर नेपालमा सहभागी हुनका लागि १५० जनाले नाम दर्ता गराइसकेका छन् भने २५० जनासम्म सो पदयात्रामा सहभागी हुन सक्नेछन् । उक्त पदयात्रामा सहभागी हुनका लागि प्रतिव्यक्ति ३० पाउण्ड प्रवेश शुल्क तोकिएको छ । उक्त प्रवेश शुल्कवापत बीमा सुविधा, नि:शुल्क कार पार्किङ्ग र क्याम्पिङ गर्न पाउने छन् । 

सहकार्य: 

हाईक फर नेपाललाई सफल बनाउनका लागि शुरुदेखि नै मातृभूमिस्थित “वि विल राइज फाउन्डेसन नेपाल” नामक संस्थाले हातेमालो गर्दै आएको छ । पहिलो वर्ष फाउन्डेशनका तुल्सी गुरुङ हङ्गकङ्गबाट सहभागी भएका थिए । त्यस्तै, शुरुको वर्षमा स्थानीय ब्रेकन नेपाली समाज वेल्सले संयोजन गरेको थियो । तर, यसवर्ष भने मञ्च आफैँले संयोजन गर्न लागेको मञ्चका निवर्तमान अध्यक्ष एवं वि विल राइज फाउन्डेसन युके कोर्डिनेटर मानप्रसाद गुरुङले जानकारी दिए । 

अतिथि: 

मञ्चका अध्यक्ष गुरुङका अनुसार, उक्त पदयात्रा शुरु हुनुभन्दा अगाडी औपचारिक कार्यक्रम आयोजना गरिँदै आएको छ । जहाँ बेलायतका लागि नेपाली राजदूत, स्थानीय एमपी, मेयर, काउन्सिलरलगायत स्थानीय अतिथिहरुलाई आमन्त्रण गरिँदै आएको छ । शुरुको वर्षमा बेलायतका लागि तत्कालिन राजदूत डा. दुर्गाबहादुर सुवेदी, स्थानीय सांसद, मेयर, काउन्सिलहरुको विशेष उपस्थिति रहेको थियो । तर, यसपटक भने नेपाली दूतावास लण्डन र स्थानीय एमपीहरुको सहभागिता रहने छैन । तथापि स्थानीय ब्रकेनका मेयर तथा काउन्सिलरलगायत स्थानीयहरुको सहभागिता हुने छ । 

भोजन तथा बास: 

बेलायतका विभिन्न स्थानबाट आएका सहभागीहरुलाई नेपाली खानाको विशेष व्यवस्था गरिएको छ । उक्त खानाको लागि प्रतिव्यक्ति १५ पाउण्ड तोकिएको छ । साथै, आफैँ पनि बनाएर खाना सक्ने मञ्चले जनाएको छ । त्यस्तै, बास बस्नका लागि खुल्ला चौरमा टेन्ट लगाउन सकिने आयोजना पोखरेली मञ्च युकेले जनाएको छ । 

स्मरण रहोस्, पोखरेली मञ्च युकेले स्वास्थ्यका लागि दौड, पीपल नेपाल कप क्रिकेट प्रतियोगितालगायतका रचनात्मक कार्यक्रमहरुको आयोजना गर्दै आएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री