यायोक्खा बेलायतले मनायो यलम्बर दिवस

तस्वीर सिलिचुङ डटकमबाट

लन्डन । प्रथम किराती राजा यलम्बरको सम्झानामा बेलायतमा यलम्बर स्मृति दिवस भब्यताका साथ मनाइएको छ । शनिवार बेलायतको वकिङस्थित ग्याम्वल लेनमा विविध कार्यक्रमका साथ यलम्बर स्मृति दिवस मनाइएको हो ।
किरात राई यायोक्खा बेलायतको आयोजनामा धनुषबाँण प्रतियोगिता, कलाकार, खेलाडी, साहित्यकार र उच्च शिक्षा हासिल गर्ने विद्यार्थीहरुलाई सम्मान गर्नुका साथै सांगीतिक प्रस्तुतिहरु गरेर यलम्बर स्मृति दिवस मनाइएको थियो । कार्यक्रमको पहिलो चरणमा भूमिपूजा र धनुषबाँण प्रतियोगिता, दोस्रो चरणको औपचारिक कार्यक्रममा सम्मान तथा शुभकामना मन्तब्य र तेस्रो चरणमा सांगीतिक कार्यक्रमहरु सम्पन्न गरिएको थियो ।

कार्यक्रममा साहित्यकार गणेश राई, अग्रज खेलाडी मास्टर राष्ट्र राई, संगीतकार तथा गायक विसी राई र गायिका जानुका राईलाई सम्मान गरिएको थियो । त्यसैगरी विभिन्न विषयमा स्नाकोत्तरभन्दा माथिल्लो तहमा शिक्षा हासिल गर्ने अस्मिता राई, तायुङ राई, निलम राई, समिन राई, सन्ध्या राई, अस्मिता राई, भूमिका राई आसाम्छा राई, कामना राई र सन्जया राईलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुलाई प्रमाणपत्र र खादा ओढाएर सम्मान गरिएको थियो ।

धनुषबाँण प्रतियोगितामा समग्र विजेता अम्मर राई, पुरुषतर्फ भूपजीत राई विजेता र दिनेश राई उपविजेता भएका थिए । महिलातर्फ मनिका राई विजेता र गीता राई उपविजेता बनेकी थिइन् । बालबालिका तर्फबाट गौरव राई विजेता बनेका थिए । विजेता र उपविजेता हुनेहरुलाई ट्रफीसहित सम्मान गरिएको थियो । धनुषकाँण कार्यक्रमको सन्चालन उपमहासचिव ईश्वर चाम्लिङ राईले गर्नुभएको थियो ।

कार्यक्रममा किरात राई यायोक्खा बेलायतले वार्षिक रुपमा प्रकाशन गर्दै आएको ‘सुम्निमा–पारुहाङ’ मुखपत्रको विमोचन पनि गरिएको थियो । प्रमुख अतिथि संविधानसभा सदस्य तारा राई लगायत अन्य अतिथिहरुले संयुक्त रुपमा विमोचन गरेका थिए ।

कार्यक्रमको अन्त्यमा सांगीतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो । कार्यक्रममा गायक तथा संगीतकार विसी राई र गायिका जानुका राईले पनि आफ्ना प्रस्तुति दिएका थिए । साथै कार्यक्रममा कलाकारहरुले नृत्यसमेत प्रस्तुत गरेका थिए । किरात राई यायोक्खा बेलायतका अध्यक्ष मेजर योगेश कोयी राईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथिमा संविधानसभाका सदस्य तारा राई रहेकी थिइन् । साँस्कृतिक कार्यक्रमको सन्चालन उपमहासचिव किसन राईले गरेका थिए ।

कार्यक्रममा नेपाल जनजाति महासंघ बेलायतका अध्यक्ष कर्मा पहाडी सेर्पा, निवर्तमान अध्यक्ष कल्पना राई , किरात राई यायोक्खा नेपालको पूर्व अध्यक्षहरु डा सुमाया राई, यशोदा राई पनि अतिथिका रुपमा रहेका थिइन् । कार्यक्रममा पूर्व अध्यक्ष तथा सल्लाहकार तथा संरक्षकहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन महासचिव देवेन्द्र राईले गरेका थिए भने स्वागत मन्तब्य उपाध्यक्ष मानुस राईले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री