वेल्समा ‘हाईक फर नेपाल’ पदयात्रा

लण्डन । पोखरेली मञ्च युके र वी विल राईज फाउण्डेशनले नेपालको पर्यटन प्रवर्धनका लागि चौंथोपटक “हाईक फर नेपाल” अर्थात् नेपालका लागि पदयात्रा गरेका छन् । गत शनिबार अगष्ट ६ तारिकका दिन वेल्स राज्यको ब्रेकनस्थित ८८६ मिटर उचाईमा अवस्थित “पेन वाई फेन” नामक चुचुरोसम्मको पदयात्रा सफलतापूर्वक पूरा गरेका हुन् । 

पोखरेली मञ्च युके र वी विल राईज फाउण्डेश नामक संस्थाले नेपालको पर्यटन प्रबर्द्धनका लागि स्थानीय बेलायतबासीसँग नजिकको सम्बन्ध विकास गराउन, नेपालप्रतिको दायित्व र सम्बन्ध जोड्न नयाँ पुस्तालाई परिवार तथा स्कुल, कलेज र विश्वविद्यालयमा अध्ययनरत साथीभाइहरुसँग नेपाल भ्रमणका लागि प्रेरित गराउन, नेपाली समुदायमा स्वस्थ्य जीवनशैलीको जानकारी गराउन, नेपाली समुदायको बाहिरी क्रियाकलाप तथा सहासिक कदमको परिचय गराउन, नयाँ पुस्तालाई दैवीप्रकोपका घटनाहरुमा सहयोग जुटाउन, साहसिक यात्राको पूर्व प्रशिक्षण गराउने उद्देश्यका साथ सन् २०१७ सालदेखि प्रत्येक वर्ष उक्त पदयात्रा गर्दै आएका छन् । 

कोभिड–१९ पश्चात पहिलोपटक आयोजना गरिएको उक्त पदयात्राका लागि शुक्रबार ५ अगष्टका साँझ बेलायतका विभिन्न स्थानबाट १५० जना नेपालीहरु पदयात्राको शुरुवात गर्ने स्थान अर्थात् क्याम्पिङ साईट पुगेका थिए । 

त्यस्तै, शनिबार ६ अगष्ट बिहान ९ बजे पदयात्रा अगाडी स्थानीय ब्रेकन काउन्सिलका मेयर डेविड मेरेडिथ, टाउन क्लर्क फीओना विलिम्स, ब्रेकन एण्ड धम्पुस टुईनिङ्ग एशोसिएशन युकेका उपाध्यक्ष कोलिन प्रीस, संयोजक अध्यक्ष मान प्रसाद गुरुङ, नेपाली भिलेज युकेका एमडी मेजर खुशीमान गुरुङलगायत विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा पदाधिकारीहरुको विशेष उपस्थिति रहेको थियो । 

कार्यक्रममा स्थानिय ब्रेकनका काउन्सिलर मेयर डेविडले प्रमुख अतिथिको आशनबाट हाईक फर नेपाल, नेपाली र गोर्खाहरुको योगदान प्रसंशा गर्दै आफू ९ पटक नेपालको भ्रमण गरिसकेको र आउने जनवरीमा १० औं पटक पुन: नेपालको भ्रमण गर्ने बताए । त्यस्तै, वी विल राईज फाउण्डेशनका प्रमुख सल्लाहकार एवं नेपाली भिलेज युकेका मेनेजिङ्ग डाइरेक्टर मेजर खुशीमान गुरुङ एमभिओले कार्यक्रम संचालन गर्दै हेल्थ एण्ड सेप्टी र पदयात्राबारे जानकारी गराएका थिए । 

सो अवसरमा वी विल राईज फाउण्डेशनका युकेका संयोजक एवं पोखरेली मञ्च युकेका निवर्तमान अध्यक्ष मानप्रसाद गुरुङले मञ्च र वी विल राईज फाउण्डेशनबारे जानकारी दिए । त्यस्तै, पोखरेली मञ्च युकेका अध्यक्ष करम गुरुङले प्रमुख अतिथि मेयर, विशेष अतिथि, विभिन्न संघसंस्थाका अध्यक्ष एवं पदाधिकारीलगायत सबै सहभागीहरुमा स्वागत गर्दै यात्राको शुरुवात गरे । 

करीब ५ वर्षका बालबालिकादेखि ७५ वर्षका वृद्धवृद्धाले समेत भाग लिएको उक्त हाईक फर नेपालबाट वचत भएको रकम आयोजक पोखरेली मञ्च युके र वी विल राईज फाउण्डेशनमार्फत च्यारिटीमूलक कार्य गर्ने पोखरेली मञ्च युकेका अध्यक्ष करम गुरुङले बताएका छन् । 

नेपाल, बेलायत, वेल्स, पोखरेली मञ्च, वी विल राईज फाउण्डेशनलगायत झण्डाका साथ करीब २ घण्टाको उकालो यात्रापश्चात सो चुचुरोमा पुगेका सहभागीहरुले नेपाली गीतमा सामूहिक नृत्य गरेका थिए । त्यस्तै, सबैले नेपालको झण्डाका साथ तस्बीर खिचे । केही समयको बसाई पश्चात सो चुचुरोबाट पुन: क्याम्पिङ साईटतर्फ फर्केका थिए । कतिपय सहभागीहरु सोही दिन घर फर्केका थिए भने धेरैजसो नाचगान, गीतसंगीत, ठट्टा, भलाकुसारी नेपाली परिकारका साथ रमाईलो गर्दै आइतबार ७ अगष्टका दिन आ–आफ्नो घर फर्किएको मञ्चका अध्यक्ष करम गुरुङले जानकारी गराए । 

स्मरण रहोस्, पोखरेली मञ्च युके स्वास्थ्यका लागि दौड, पीपल नेपाल कप क्रिकेट प्रतियोगितालगायतका रचनात्मक कार्यक्रमहरुको आयोजना गर्दै आएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री